• १२ साउन २०८१, शनिबार

सुदूरपश्चिम र गण्डकी प्रदेश विजयी

blog

बागमतीका खेलाडीलाई आउट गरेपछि खुसी मनाउँदै सुदूरपश्चिमका खेलाडी । तस्बिर : गोरखापत्र

सिराज खान 

नेपालगन्ज, माघ २९ गते । बाँकेको कोहलपुरमा सञ्चालन भइरहेको सुशील कोइराला मेमोरियल यु-१९ महिला क्रिकेट राष्ट्रिय प्रतियोगिता अन्तर्गत सोमवार सम्पन्न दुई खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश विजयी भएका छन् । 

सुदूरपश्चिमले बागमतीलाई तथा गण्डकीले लुम्बिनी प्रदेशलाई पराजित गरेको हो । पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ८ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा गण्डकीले लुम्बिनी प्रदेशलाई ५० रनले पराजित गरेको छ । 

पहिलो खेलमा बागमतीले दिएको ९० रनको लक्ष्य सुदूरपश्चिमले १५.४ ओभरमा दुई विकेटको क्षतिमा सहज रूपमै हासिल गरेर जित हात पारेको थियो । सो खेलमा सुदूरपश्चिमका लागि ४७ रन बनाउनुभएकी सावित्री धामीलाई प्लेयर अफ दि म्याच घोषित गरिएको थियो । 

अर्को खेलमा गण्डकीले दिएको एक सय १३ रनको लक्ष्य पछ्याएको लुम्बिनी १६.५ ओभरमा सबै विकेटको क्षतिमा ६२ रनमा समेटिएको थियो । गण्डकी प्रदेशका लागि बलिङमा सिमाना केसी एक्लैले ६ विकेट लिएर प्लेयर अफ दि म्याच हुनुभयो ।