काठमाडौँ, वैशाख ३१ गते । नेपाली कबड्डीको इतिहासलाई समेट्दै तयार पारिएको डकुमेन्ट्री ‘माटोदेखि मैदानसम्म’ स्क्रिनिङ गरिएको छ । नेपाल कबड्डी लिग दोस्रो सिजन तयारीको क्रममा एनकेएल एन्थम सङ पनि सार्वजनिक गरेको छ ।
स्क्रिनिङ गरिएको डकुमेन्ट्रीले भगवान् गौतम बुद्धले ‘हूतुतु’ को रुपमा कबड्डी खेलेको इतिहासलाई पनि देखाइएको छ । निशान शाहीद्वारा निर्देशित डकुमेन्ट्रीमा २०३४ सालमा स्थापित अखिल नेपाल कबड्डी सङ्घ, त्यसको दुई वर्षपछि सुरु भएको राष्ट्रिय प्रतियोगिता, माओवादी जनयुद्धताका प्रतियोगिताविहिन ११ वर्षको कठिन अवधिलाई पनि देखाउने प्रयास गरिएको छ ।
यस्तै बङ्गलादेशमा भएको ११औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली कबड्डी टिमले जितेको ऐतिहासिक पदक, नेपालमै आयोजित १३औँ साग २०१९ र ढाकामा भएको चौथो बंगबन्धु कपका उपलब्धि, चीनमा महिला टिमले हात पारेका १९औँ एसियाली खेलकुद २०२२ र छैटौँ एसियन बिच गेम्स २०२६ का ऐतिहासिक कांस्यपदकलाई डकुमेन्ट्रीले सुखद पक्षको रुपमा समेटेको छ ।
अर्थात्, डकुमेन्ट्रीमा माटोदेखि म्याटसम्मको रुपान्तरणलाई संघर्ष र सफलताको कथाको रुपमा चित्रण गरिएको छ । एक घन्टा लामो डकुमेन्ट्रीले गत वर्ष एनकेएलको सुरुआतसँगै पुनरुत्थानको युग प्रारम्भलाई प्रष्ट पारेको छ ।
एनकेएल आयोजक एस्ट्रेनिक्स म्यानेजमेन्टद्वारा प्रस्तुत गरिएको डकुमेन्ट्रीको एक्ज्युकेटिभ प्रोड्युसर अमितकुमार बेगानी, प्रोड्युसर प्रवीन कुमार साह, एडिटर सुमन खड्का र क्रिएटिभ एडिटर असिम श्रेष्ठ ररहनुभएको छ । डकुमेन्ट्री स्क्रिनिङलगत्तै र्यापर भियोमाद्वारा तयार पारिएको एनकेएलको एन्थम सङ पनि सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा ‘एनकेएल, कबड्डी र व्यावसायिकता’ विषयमा प्यानल डिस्कसनसमेत गरिएको थियो, जहाँ पत्रकार राजु घिसिङ मोडोरेटर रहँदा एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयरम्यान अमितकुमार बेगानी, अखिल नेपाल कबड्डी सङ्घका अध्यक्ष तुल्सी थापा र राष्ट्रिय खेलकुद परिषदका चिफ कोच (कबड्डी) पार्वती राई प्यानलिस्ट रहनुभएको थियो ।
नेपाल कबड्डी लिग (एनकेएल) सिजन–२ जेठ २२ गतेदेखि सुरु हुँदैछ । लिगमा ६ सहरका ६ वटा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
दशरथ रङ्गशालास्थित राखेप कभर्डहल, त्रिपुरेश्वरमा हुने एनकेएलमा विराटनगर बाहुबली (कोशी प्रदेश), डिफेन्डिङ च्याम्पियन जनकपुर नाइट्स (मधेश प्रदेश), काठमाडौँ माभरिक्स (बागमती प्रदेश), पोखरा लेकर्स (गण्डकी प्रदेश), बुटवल बुल्स (लुम्बिनी प्रदेश) र धनगढी वाइल्डक्याट्स (सुदूरपश्चिम प्रदेश) ले प्रतिस्पर्धा गर्नेछन् ।