• १ जेठ २०८३, शुक्रबार

छत्रकोट प्रशासनिक भवन उद्घाटन, विभिन्न व्यक्ति सम्मानित

blog

गुल्मीको छत्रकोट गाउँपालिकाको प्रशासनिक भवन ‘जनताको घर’ उद्घाटन गरिँदै । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा
गुल्मी, जेठ १ गते।
गुल्मीको छत्रकोट गाउँपालिकाको प्रशासनिक भवन ‘जनताको घर’ उद्घाटन गरिएको छ। यस गाउँपालिकाको वडा नम्बर–३, भेंडुवामा नवनिर्मित अत्याधुनिक प्रशासनिक भवनको उद्घाटन एक विशेष समारोहका बिच गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले गर्नुभयो।

यस गाउँपालिकाको प्रशासनिक भवन सङ्घीय सरकार र छत्रकोट गाउँपालिकाको संयुक्त कुल नौ करोड १० लाख ९९ हजार ४३५ रुपियाँ १२ पैसा लागतमा निर्माण भएको थियो। सभाहलका लागि निर्माण गरिएको भवनबाट सेवा प्रवाह गर्दै आएको यस पालिकाले वैशाख २१ गते सोमबारदेखि अत्याधुनिक प्रशासनिक भवनबाट सेवा प्रवाह गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले जानकारी दिनुभयो।

उहाँका अनुसार भवन निर्माणका लागि गाउँपालिकाले अम्बे माँ बलदेभव जेभि भरतपुर–९, चितवनसँग २०८० मङ्सिर ८ गते सम्झौता गरी २०८० माघ १७ गते शिलान्यास गरिएको थियो। भवनले चर्चेको जग्गाको कुल क्षेत्रफल १९ रोपनी आठ आनामध्ये ५ रोपनी क्षेत्रफलमा भवन निर्माण भएको छ। यस प्रशासनिक भवनमा आवश्यक प्रशासनिक सुविधा, कार्यकक्ष, बैठक कक्ष र नागरिक सहायता सेवा कक्ष समेटिएको छ। भवन आवासबाहेक प्रशासनिक कामका लागि ३२ कोठा, बैठक कक्ष, सङ्ग्राहलयसहित चार तलाको बनाइएको हो।

भवनमा अशक्त र वृद्ध–वृद्धालाई सजिलो होस् भनेर लिफ्टको पनि व्यवस्था गरिएको छ। जग्गा प्राप्तिको कठिन प्रक्रिया पूरा गरी सामुदायिक बनको जग्गामा गाउँपालिकाको अत्याधुनिक प्रशासनिक भवन निर्माण गरिएको हो। लामो मेहनतपछि छत्रकोट गाउँपालिकाको अत्याधुनिक प्रशासनिक भवन बनेको भन्दै गाउँपालिका अध्यक्ष पाण्डेयले अब सेवा प्रवाहमा सहजता र कार्यक्षमतामा सुधार आउने बताउनुभयो।

त्यसैगरी यसअवसरमा तीन जना सम्मानित ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो। जसमा वडा नम्बर–२ का ९९ वर्षीय दमन्ती राना, वडा नम्बर–३ का ९९ वर्षीय अनन्तराम पन्थ र धनकला पन्थलाई सम्मानित हुनुभएको हो। प्रशासनिक भवन निर्माणका लागि सहयोग पुर्‍याउनुभएका विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो। सट्टा जग्गादाता झक बहादुर मिदुनको परिवार र जग्गा प्राप्तिमा महत्त्वपूर्ण सहजीकरण गर्नुभएका नेपाल सरकारका पूर्व सचिव डा. प्रेम नारायण कंडेललाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।

नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय कावा यु–१९ महिला भलिबलमा सहभागी हुनुभएका सम्झना नेपालीलाई पनि गाउँपालिकाले सम्मान गरेको छ। विगत पाँच वर्षदेखि आफुले अध्यापन गराउने विषयमा शतप्रतिशत नतिजा दिन सफल हुनुभएका शिक्षकहरुलाई पनि गाउँपालिकाले सम्मानसहित पुरस्कृत गरेको छ। जनही दश हजार रुपियाँ पुरस्कारसहित उत्कृष्ट शिक्षकका रुपमा माधव प्रसाद पौड्याल, अमृता थापा जिसी, इश्वरी ज्ञवाली, गोविन्द प्रसाद शर्मा, विष्णु भण्डारी र राजेन्द्र ज्ञवालीलाई सम्मान गरिएको हो।

यस गाउँपालिका भित्रका विद्यालयमा शैक्षिक सत्र २०८०, २०८१ र २०८२ अध्ययनरत कक्षा आठ, दश र १२ का २९ जना उत्कृष्ट विद्यार्थीहरुलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ। नवनिर्मित अत्याधुनिक प्रशासनिक भवनको उद्घाटन समारोहमा छिमेकी स्थानीयतहका प्रमुख, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे, यस गाउँपालिकाका पूर्व जनप्रतिनिधि, जिल्लाका विभिन्न कार्यालयका प्रमुख एवम् जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता रहेको थियो।