• १२ साउन २०८१, शनिबार

चार जना स्रष्टा सम्मानित

blog

समथिङ साहित्य पुरस्कार तथा स्रष्टा सम्मानमार्फत् सम्मानित र पुरस्कृत व्यक्तित्वहरु । तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम, माघ २९ गते । समथिङ फाउण्डेसनले चार जना साहित्यकारलाई सम्मान सहित पुरस्कृत गरेको छ । पुरस्कृत हुनुहुनेमा साहित्यकारद्वय मोहन दुवाल र प्राध्यापक डाक्टर गोविन्दराज भट्टराई हुनुहुन्छ । 

यस्तै, समथिङ साहित्य सम्मानबाट मिना राई र शान्ता गौतम सम्मानित हुनुभएको छ । उहाँहरूलाई फाउण्डेसनले सोमबार फिदिममा एक समारोहको आयोजना गर्दै सम्मान र पुरस्कार वितरण गरेको हो ।

डाक्टर भट्टराई र दुवाललाई साहित्य सम्मानको राशि ५५ हजार ५ सय ५५ रुपियाँ सहित कदर पत्र प्रदान गरिएको छ । राई र गौतमलाई उपलब्ध गराइएको समथिङ साहित्य सम्मानको राशि ५ हजार ५ सय ५५ रुपियाँ नगद सहित सम्मान पत्र छ । उहाँहरूलाई कार्यक्रममा प्रमुख अतिथिको आसनबाट पूर्व गृहराज्य मन्त्री दीपक प्रकाश बाँस्कोटा र समथिङ फाउण्डेसनका अध्यक्ष मङ्गल बेघाले पुरस्कार र सम्मान अर्पण गर्नुभयो ।

प्रत्येक दुई वर्षमा प्रदान गरिने समथिङ साहित्य सम्मान तथा पुरस्कार २०७६ सालदेखि वितरण गर्न थालिएको हो । २०७८ सालमा कोरोना महामारीका कारण वितरण गरिएको थिएन । ०७८ र २०८० सालका पुरस्कार र सम्मान यस पटक एकैसाथ अर्पण गरिएको फाउण्डेसनले जनाएको छ । पाँचथरमा रहेर साहित्य साधनामा तल्लीन समथिङका जीवित छँदा ५५ वटा र मरणोप्रान्तर २ पुस्तक प्रकाशित छन् । समथिङको २०७९ भदौ ३० गते ५५ वर्षको उमेरमा निधन भएको थियो । फाउन्डेसन भने उहाँ जीवित छँदै स्थापना गरिएको थियो ।