• १२ साउन २०८१, शनिबार

गण्डकी मन्त्रिपरिषद्को बैठक पञ्चकोटमा

blog

गण्डकी प्रदेश सकारको मन्त्रिपरिषद् बैठक । तस्बिर– ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

बागलुङ, माघ २९ गते । बागलुङको सर्वसिद्धधाम पञ्चकोटमा गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक आज बसेको छ । प्रदेश राजधानी पोखरादेखि बाहिर बसेको यो गण्डकी सरकारको पहिलो मन्त्रिपरिषद् बैठक हो । 

पर्यटकीयस्थलको प्रचार–प्रसार र प्रवर्धनमा टेवा गर्ने उद्देश्यले  बागलुङ नगरपालिका–६ स्थित ऐतिहासिक, धार्मिकस्थल पञ्चकोटमा गण्डकी सरकारको मन्त्रिपरिषद् बैठक बसेको हो । बैठकमा सहभागी हुन मुख्यमन्त्री सरेन्द्रराज पाण्डेलगायतका अन्य मन्त्रीहरू सोमबार बिहान पञ्चकोट आउनुभएको थियो । 

मन्त्रिपरिषद् बैठकले क्यान्सर र ब्रेन ट्युमरका ७० जना बिरामीलाई आर्थिक सहायता उपलब्ध गराउने लगायतका ८ वटा निर्णयहरू गरेको सरकारका प्रवक्ता तथा ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिनुभयो । 

प्रवक्ता तिवारीले दिएको जानकारीअनुसार बैठकले प्रदेश निजामती सेवा पुरस्कार सिफारिस समितिलाई पूर्णता दिने, गोरखाको नासो गाउँपालिकाको वडा सिमाना संशोधनका लागि नेपाल सरकारलाई सिफारिस गर्ने, सिपमूलक तथा विशेष अनुदान अन्तर्गत आयोजना, कार्यक्रम समावेश गर्न नेपाल सरकारमार्फत राष्ट्रिय योजना आयोगमा अनुरोध गर्ने निर्णय गरेको छ । 

यसैगरी गण्डकी प्रदेश आन्तरिक लेखापरीक्षण निर्देशिका २०८० स्वीकृत गर्ने, गण्डकी प्रदेश साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक तर्जमाका लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय बैठकले गरेको प्रवक्ता तिवारीले जानकारी दिनुभयो । 

यस्तै, बैठकले गण्डकी प्रदेश प्राइभेट फर्म दर्ता ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक, २०८० गण्डकी प्रदेश सभामा पेस गर्न स्वीकृति दिने र गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक २०८० लाई गण्डकी प्रदेश सभामा पेस गर्न स्वीकृत दिनेसम्बन्धी निर्णय भएको उहाँले जानकारी दिनुभयो । बैठकले फागुन ९ गतेदेखि २३ गतेसम्म पञ्चकोटमा आयोजना हुने अनन्तश्री ब्रह्माण्डीय महायज्ञलाई सफल पार्न प्रदेश सरकारले आर्थिक र नैतिक सहयोग गर्ने प्रवक्ता तिवारीले बताउनुभयो । 

पञ्चकोटमा गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले पञ्चकोटवासीहरु उत्साहित भएको वडा ६ का वडाध्यक्ष रुद्रबहादुर केसीले बताउनुभयो । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले हामीलाई उत्साहित बनाएको छ, ब्रह्माण्डीय महायज्ञका सङ्कल्पकर्ता मुक्तिनाथ पिठाधीश्वर स्वामी कमलनयनाचार्यले भन्नुभयो, ‘‘बैठकले महायज्ञको प्रचार–प्रसारलाई थप सहयोग मिल्ने आशा गरेका छौँ ।’’

पञ्चकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरी मुक्तिक्षेत्र र शालिग्रामको महिमालाई विश्वस्तरमा पुगाउन नेपालमै पहिलो पटक ब्रह्माण्डीय महायज्ञको आयोजना गर्न लागिएको कमल नयनाचार्यले बताउनुभयो । महायज्ञको दोस्रो दिन राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउनुहुने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।