लीलाधर वली
घोराही, चैत १ गते । घोराही उपमहानगरपालिका–१६ स्थित सेवारखोलामा निर्माणाधिन पुलको ५० प्रतिशत भौतिक प्रगति भएको छ ।
घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत पर्ने सेवारखोला पुल निर्माणको म्याद सकिन तीन महिना मात्र बाँकी रहँदा पुल निर्माणको आधा काम सकिएको हो ।
पुल सेक्टर कार्यालय बाँकेका इन्जिनियर सुरेश चौधरीका अनुसार चारलेन पुलको सब–स्ट्रक्चरअन्तर्गत पिलर निर्माणलगायतको पुलको तल्लो संरचना निर्माणको काम सकिएको छ ।
पुलको सब–स्ट्रक्चरको काम सकिएपछि सुपर–स्ट्रक्चरको काम सुरु गर्ने तयारी रहेको इन्जिनियर चौधरीले बताउनुभयो । सुपर–स्ट्रक्चरअन्तर्गत पुलका दुई स्पानमध्ये चैत महिनाभित्र एउटा स्पान ढलान गर्ने तयारी भइरहेको इन्जिनियर चौधरी बताउनुहुन्छ ।
पछिल्लो समय पुल निर्माणको काम धमाधम भइरहेको भन्दै इन्जिनियर चौधरीले भन्नुभयो,“पुलको सब–स्ट्रक्चर निर्माण सकिएको छ । अव चैत महिनाभित्र एउटा स्पान ढलान गर्ने तयारी भइरहेको छ । त्यो काम सकिएपछि अर्काे स्पान ढलान हुनेछ ।’
इन्जिनियर चौधरीले सम्झौता मितिमै पुल निर्माणको काम सम्पन्न गर्नेगरी ताकेता गरिएपनि निर्माणमा केही ढिलाइ भएको बताउनुभयो । चारलेन पुल निर्माणका लागि एमएस रायमाझी कन्स्ट्रक्सन जेभी, काठमाडौंसँग २०८० जेठ ३० गते ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार निर्माण कम्पनीले २०८३ जेठ २८ गतेभित्र पुल निर्माणको काम सक्नुपर्ने भएपनि ढिलाई भएको बताउनुभयो ।
७० मिटर लम्बाइ र २० दशमलव ५ मिटर चौडाइको उक्त पुल निर्माणका लागि २३ करोड २२ लाख ४३ हजार तीन सय रुपियाँमा ठेक्का सम्झौता भएको पुल सेक्टर कार्यालय बाँकेले जनाएको छ ।
हालसम्म निर्माण कम्पनीले करिब ४१ प्रतिशत अर्थात् ९ करोड ५२ लाख १९ हजार रुपियाँ भुक्तानी लगिसकेको छ । सम्झौता मितिमै पुल निर्माणको काम सक्ने गरि तयारी भएपनि बजेट अभावका कारण पुल निर्माणमा ढिलाई हुन गएको निर्माण कम्पनीका प्रतिनिधि प्रकाश रानाले बताउनुभएको छ ।
सेवारखोला पुल निर्माण सम्पन्न भएपछि वर्षायाममा घोराही–तुलसीपुर सडक खण्डमा हुने आवागमन समस्या हट्ने छ । सेवारखोलासँगै घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत हापुरखोला र कालाखोलामा चारलेन तथा ग्वारखोलामा दुईलेन पुल निर्माणको काम भइरहेको छ ।