अनिल पराजुली
हेटौँडा, चैत १ गते । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौँडामा जारी दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवअन्तर्गत आयोजित मकवानपुर जिल्लास्तरीय खुला डबल ब्याटमिन्टन प्रतियोगिताको उपाधि हेटौँडा–५ का बिरु गुरुङ र चेतन विश्वकर्माको जोडीले जितेको छ ।
हेटौँडा–११ थानाभर्याङस्थित ब्याटमिन्टन एकेडेमीको कभर्ड हलमा शनिबार सम्पन्न प्रतियोगितामा बिरु–चेतनको जोडीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको हो । प्रतियोगितामा हेटौँडा–१० का राम थापा मगर र महेश बोहोराको जोडी उपविजेता बनेको छ ।
त्यसैगरी हेटौँडा–५ का अजय बजगाईं र हेटौँडा–११ का नितिन थापाको जोडी तेस्रो भएको छ भने भीमफेदी गाउँपालिकाका भोजराज जोशी र सुमन अर्यालको जोडी सान्त्वना स्थान हासिल गर्न सफल भएको छ ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका बिरु गुरुङले नगद २ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नुभएको छ । प्रतियोगिताका विजेता, उपविजेता, तेस्रो र सान्त्वना स्थान हासिल गर्ने टोलीले क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
विजेतालाई हेटौँडा–१० स्थित टिसीएन चौरमा आयोजित कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानलगायतले मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । महोत्सवअन्तर्गत कराँते, तेक्वान्दो, भलिबल लगायतका खेल प्रतियोगितासमेत सञ्चालन हुने आयोजकले जनाएको छ ।