• १२ साउन २०८१, शनिबार

घोषणापत्रकै आधारमा काम गरिरहेका छौँ

blog

सङ्खुवासभाका पाँच गाउँपालिका र पाँच नगरपालिकामध्ये सभापोखरी नगरपालिकामा साबिकका धुपु, बाह्रबिसे र सभापोखरी गाउँ विकास समितिलाई समेटिएको छ । छ वटा वडा रहेको पालिकाको केन्द्र बाह्रबिसे बजार जिल्लाकै एक पुरानो बजार भए पनि अन्य वडाको भूभाग दुर्गम पर्छन् । यस पालिकामा २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट भीमबहादुर लिम्बू नगरपालिकाको प्रमुख पदमा निर्वाचित हुनुभयो । पालिकाको समृद्धिका लागि भइरहेका कार्यका बारेमा प्रमुख लिम्बूसँग गोरखापत्रकर्मी ध्यान कुलुङले गर्नुभएको कुराकानीको सारसङ्क्षेप :

निर्वाचनअघिको घोषणापत्र अनुसार काम भइरहेको छ ?

निर्वाचनअगाडि उम्मेदवार भइरहँदा हामीले जे सोचेका हुन्छौँ, ठ्याक्कै त्यस्तै काम गर्न चाहिँ गाह्रो नै हुने रहेछ । सीमित बजेट, भौगोलिक दुर्गमता, समाजको असीमित चाहनालगायतका धेरै कुराले आफूले सोचेको हुबहु काम गर्न गाह्रो हुने रहेछ तर पनि हामीले घोषणापत्रलाई नै आधार मानेर प्राथमिकताको आधारमा विकास निर्माण तथा आर्थिक विकासको काम गरिरहेका छौँ । 

तपाईको पालिकाको समृद्धिका योजना के के छन् ?

विकासको पूर्वाधारमध्ये सडक अग्रपङ्क्तिमा आउने रहेछ । सडक पूर्वाधार बनिसकेपछि मात्र हरेक विकास निर्माण गर्न सकिने भएकाले हामीले सडक पूर्वाधारलाई गौरवको योजनाका रूपमा राखेका छौँ । जिल्ला सदरमुकाम खाँदबारीदेखि गाउँपालिकाको केन्द्रसम्म कालोपत्रे गर्ने प्रव्रिmया यसै वर्षबाट सुरु भइसकेको छ भने सबै वडामा सडकको ‘ट्र्याक’ खुला गरिसकेका छौँ । दुर्गमका केही वडाको टोलमा सडक पुग्न बाँकी छ । अर्को वर्षभित्र सबै टोलमा सडक पुगिसक्छ । खुलिसकेको सडकको स्तरोन्नतिको काम पनि भइरहेको छ ।

शिक्षा, स्वास्थ्य र आर्थिक विकासका कार्यव्रmम कसरी सञ्चालन गरिरहनुभएको छ ?

पालिकामै क्याम्पसको स्थापना गरेका छौँ, त्रिवेणी सामुदायिक क्याम्पस । अब हाम्रा विद्यार्थी उच्च शिक्षाका लागि जिल्ला सदरमुकाम, धरान, विराटनगर, काठमाडौँको कलेजमा जानु पर्दैन । हामीले आवश्यकपर्ने ठाउँमा विद्यालयको तह वृद्धिसमेत गरेका छौँ । स्वास्थ्यको क्षेत्रमा पनि गाउँ तहसम्म स्वास्थ्य एकाइमार्फत सेवा पु¥याएका छौँ भने पालिकास्तरमा चिकित्सकसहितको स्वास्थ्यकर्मीले सेवा दिने गरी प्राथमिक स्वास्थ्य केन्द्रको स्तरवृद्धि गरेका छौँ । त्यहाँ ल्याब, एक्सरेलगायतका सेवा उपलब्ध छन् ।

हाम्रो पालिका फलफूलमध्ये सुन्तलाका लागि उपयुक्त माटो र हावापानी भएको हाम्रो अध्ययनपछि हालै मात्र ५१ हजार बोट सुन्तलाको बिरुवा वितरण गरेका छौँ । केही वर्षपछि नै फल दिन थालेपछि राम्रै आयआर्जन हुने अपेक्षा राखेका छौँ । त्यस्तै सालको पातको टपरी बनाउने, नेपाली कागज उत्पादन गर्ने जस्ता लघु उद्यम गाउँस्तरमा सुरु गर्दै छौँ । विभिन्न तरकारी तथा खाद्यान्न बालीमा आत्मनिर्भर बन्ने उद्देश्यले बिउ वितरण गर्दै आएका छौँ र उत्पादन पनि राम्रै छ । यहाँ उत्पादन भएका कृषिजन्य वस्तु बजारसम्म पु¥याउनका लागि ‘कृषि एम्बुलेन्स’ भनेर एक वटा ट्याक्टर खरिद गरेर प्रयोगमा ल्याएका छौँ । त्यसबाट अति न्यून शुल्कमा किसानले आफ्नो उत्पादनलाई बजारसम्म पु¥याउने कार्य भइरहेको छ ।

सभापोखरी तीर्थधामको प्रवर्धनका लागि के गरिरहनुभएको छ ?

हो, वेद व्यास ऋषिले समेत तपस्या गरेको भनिएको सभापोखरी हाम्रै पालिकामा पर्छ । त्यही पोखरीको नामबाट नै हाम्रो पालिकाको नाम पनि राखेका हौँ । त्यो पोखरी निकै उचाइमा (समुद्र सतहदेखि ४,२०० मि.) पर्छ । पोखरीसँगै रहेको देवीको दर्शन गर्न थुप्रै मानिस जाने गरेका छन् । यो पोखरी उचाइमा भएकाले करिब छ महिनासम्म हिउँले जान सक्ने अवस्था छैन ।

त्यहाँसम्म पुग्ने मुख्य समस्या नै बाटो र खानेपानीको हो । पदमार्ग निर्माणका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारको सामूहिक लगानीमा पदमार्ग निर्माण गरिरहेका छौँ । हामीलाई गत वर्ष कोशी प्रदेश सरकारबाट ५० लाख रुपियाँ प्राप्त भएको थियो । त्यसले पदमार्ग, विश्रामस्थललगायतका काम गरेका छौँ । स्थानीयकै साझेदारी सहयोगमा पाइप खरिद गरी खानेपानीको व्यवस्था गरेका छौँ । त्यस्तै सङ्घीय पर्यटन मन्त्रालयबाट यसै वर्ष एक करोड रुपियाँ प्राप्त भएको छ । उक्त कार्यका लागि ठेक्का लगाउने तयारी भइरहेको छ । हिउँदको समयमा हिउँ पर्दा हेलिकोप्टरबाट दर्शन गर्न जानेका लागि हेलिप्याड निर्माण गरेका छौँ । सभापोखरीसम्म जानका लागि केबुलकारको सम्भाव्यता अध्ययन भइरहेको छ । 

तपाईंको कार्यकाल सकिँदा सभापोखरी गाउँपालिका कस्तो बन्ने छ ?

म पालिकाको नेतृत्वमा आएको डेढ वर्ष भयो । यसबिचमा धेरै जग बसाएको छु । हाम्रो पालिकाको प्रशासनिक भवनसमेत अहिलेसम्म बनेको छैन । अघिल्लो कार्यकालका पदाधिकारीले बनाउन त सुरु गरेका थिए तर मापदण्ड नपुगेको लगायतका विविध कारणले पिल्लर उठाउँदा उठाउँदै मुद्दा मामिलामा फस्यो । यसरी विवादित भएपछि पिल्लर उठाउनुबाहेक केही हुन सकेको छैन । 

अब हामी तत्कालै प्रशासनिक भवन बनाउन सुरु गरेर सम्पन्न पनि गर्नु छ । मेरो कार्यकाल सकिँदा सदरमुकामदेखि पालिकाको केन्द्रसम्मको सडक कालोपत्रे भइसक्ने छ भने प्रत्येक टोलमा बाह्रै महिना चल्ने सडक, पूर्वाधार निर्माण भइसक्ने छ । सभापोखरीलाई नेपालकै एक ठुलो धार्मिक पर्यटन गन्तव्यका रूपमा विकसित भइसकेको हुने छ । स्थानीय नागरिकको आयस्तर वृद्धि भएको हुने अपेक्षा राखिएको छ ।

तपाईंको कामबाट अन्य पालिकाले सिक्नुपर्ने केही छ जस्तो लाग्छ ?

सबै पालिकाले आआफ्नै विवेकले आआफ्नै योजना अनुसार काम गरिरहेकै छन् । हामीले चाहिँ छिमेकी पालिकासँग पर्याप्त सामीप्य बढाएर विकास निर्माण, प्राकृतिक स्रोतसाधनको सदुपयोग जस्ता कार्यमा साझेदारी गर्न सकिन्छ भन्ने लागेको छ । त्यही अनुरूप छिमेकी चिचिला गाउँपालिकासँग यो अभ्यास सुरु गरेका छौँ । हालै मात्रै पनि दुई पालिकाको संयुक्त कार्यपालिका बैठक सम्पन्न गरेर केही महìवपूर्ण निर्णय गरेका छौँ ।