• २८ वैशाख २०८१, शुक्रबार

सम्पत्ति नहुने ज्येष्ठ नागरिक अपहेलित

blog

काठमाडौँ, माघ २९ गते । आफ्नो नाममा घरजग्गा नहुने ज्येष्ठ नागरिकले अपहेलित हुनुपरेको देखिएको छ । ज्येष्ठ नागरिकका समस्या पहिचान गर्न थालिएको अध्ययनको क्रममा यस्तो पाइएको हो ।

ज्येष्ठ नागरिकबारे अध्ययन गरिरहेको जेरियाट्रिक सोसाइटी नेपालका कार्यकारी निर्देशक युवराज रोकाका अनुसार देशभर यस्ता समस्या देखिएको छ । “देशैभर पुगेर ज्येष्ठ नागरिक बारेमा अध्ययन गर्दा धेरै खालका समस्या भोगेको पाइयो,” रोकाले भन्नुभयो, “आफ्नो नाममा सम्पत्ति हुँदा ज्येष्ठ नागरिकले सम्मान पाएका छन् तर घरजग्गा र रकम छोराछोरीका नाममा राख्दा अपहेलित भएका र हेपिएका छन् । उजुरी दिँदा पनि सुनुवाइ गर्ने निकाय नभएको पाइयो । उजुरी दिए झन् समस्या हुने गुनासो उनीहरूको छ ।” 

रोकाका अनुसार सिपमूलक तालिम भएका ज्येष्ठ नागरिक अर्थोपार्जनमा लाग्ने गरे पनि सिप नभएका ज्येष्ठ नागरिक निष्क्रिय  भई बसेको अध्ययनले देखाएको छ । यस्तै दुर्गम क्षेत्रका ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा रकम लिन र कार्ड बनाउन जाँदा विभिन्न समस्या भोग्ने गरेको उहाँले बताउनुभयो । सहरी क्षेत्रका ज्येष्ठ नागरिकलाई बढीजसो मधुमेह, उच्च रक्तचापलगायत दीर्घरोग फेला परेको अध्ययनका क्रममा देखिएको छ ।

२०७८ सालको राष्ट्रिय जनगणना अनुसार ६० वर्ष नाघेका ज्येष्ठ नागरिक १०.२१ प्रतिशत अर्थात् २९ लाख ७७ हजार ३१८ जना छन् । तर वृद्धा भत्ता लिने ६८ वर्ष पुगेका १५ लाख ६४ हजार ६६३ जना छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव विनोदकुमार दाहालले देशैभरका ज्येष्ठ नागरिकको समस्या पहिचानपछि नयाँ योजना बनाइने बताउनुभयो । दाहालले भन्नुभयो, “अध्ययनले ज्येष्ठ नागरिकका समस्या पहिचान गर्ने छ । प्राप्त समाधान सुझावका आधारमा अगाडि बढ्ने छौँ ।” रोकाले आगामी फागुन १ गतेभित्र अध्ययन प्रतिवेदन बुझाउने बताउनुभयो ।   

Author
वीरेन्द्र ओली

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।