• २० वैशाख २०८१, बिहिबार

उपत्यकाका सडकमा एआई जडित क्यामेरा

blog

काठमाडौँ, माघ २९ गते । काठमाडौँका विभिन्न ठाउँमा एआई जटित सिसिटिभी क्यामेरा जडान भएका छन् । उपत्यकाका मुख्य–मुख्य सडकमा जडान गरिएका यी क्यामेराले रातिमा चहकिलो प्रकाशसहित झ्यापझ्याप बत्ती बाल्ने भएकाले चालकलाई सवारी चलाउन नै समस्या हुने गरेको गुनासो आएको छ । 

अहिले उपत्यकाका विभिन्न नौ स्थानमा आर्टिफिसियल इन्टेलिजेन्ट्स (एआई) क्यामेरा जडान भएको छ । तर क्यामेराको फ्ल्यास लाइट चर्को भएका कारण आँखाले हेर्न नै समस्या हुने गरेको गुनासो आएको हाे ।

काठमाडौँ उपत्यका रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार यो क्यामेराको विशेषता नै फ्ल्यास बाल्ने प्रकृतिको भएकाले परिवर्तन गर्न सकिँदैन । उहाँले भन्नुभयो, “एआई जडित सिसिटिभी क्यामेराले रातिको समयमा पनि व्यक्ति तथा सवारीको पहिचान गर्नुपर्ने भएकाले यसले फ्ल्यास लाइट नै यही प्रकृतिको हुने हो, प्राविधिकले सबै अध्ययन गरेर जोड्ने भएकाले यो परिवर्तन हुँदैन ।”

यी क्यामेराले घटनासँग सम्बन्धित व्यक्ति तथा वस्तुको पहिचान र ती कता गए भन्ने दृश्य उपलब्ध गराउने उहाँ बताउनुहुन्छ । मैनालीका अनुसार यस्ता विशेषता भएका क्यामेरा उपत्यकाका विभिन्न नौ स्थानमा जडान गरिएको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वयमा तीन स्थान कोटेश्वर, सानेपा र  महालक्ष्मीस्थानमा जडान गरिएको छ । त्यस्तै, काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका प्रहरी कार्यालयको समन्वयमा तीन स्थान तीनकुने, महाराजगन्ज र बसपार्कमा जडान गरिएको छ । यस्तै चन्द्रागिरि नगरपालिका र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वयमा नैकाप चोक, खरिबोट चोक र हिमाल पेट्रोल पम्पसँगैको हाइ भिजन कम्प्लेक्समा मा तीन गरी नौ वटा नम्बर प्लेट रिकग्निसर क्यामेरा जडान गरिएको मैनाली बताउनुहुन्छ । 

‘सुरक्षित काठमाडौँ उपत्यका, हाम्रो प्रतिबद्धता’ अभियानलाई सार्थकता पार्न र प्रविधिमैत्री प्रहरीको अवधारणा सार्थकता पार्नका लागि यसको आवश्यकता महसुस भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “उपत्यकाको शान्ति सुरक्षालाई मजबुत बनाउन र प्रविधिमैत्री प्रहरीको अवधारणा सार्थकता बनाउन यी क्यामेरा जडान गरिएको हो ।”

हराएका सवारीसाधनको नम्बर प्लेट प्रहरीको कम्प्युटर सर्भरमा राखेपछि उक्त साधन क्यामेरामा पर्ने बित्तिकै नोटिफिकेसन दिनेछ । त्यसपछि उक्त सवारी साधन पत्ता लगाउन सहजता हुने उहाँको भनाइ छ । 

उपत्यकामा शान्ति सुरक्षा कायम गर्नका लागि पनि यी क्यामराले सहजता प्रदान गर्ने उहाँको भनाइ छ । 

साक्षीले अदालतमा साँचो कुरा नबोल्न सक्ने सम्भावना भएकाले प्रविधिको सहयोगमा यथार्थ प्रमाण पेस गर्न यी क्यामेराले सहयोग पुर्‍याउने उहाँको भनाइ छ ।

भिडियो : केशब गुरुङ

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।