• १२ पुस २०८१, शुक्रबार

नाटक

बाबु धेरै टाढा नजाऊ है

blog

पात्रहरू : सूत्रधार, सूर्य, धनमाया, चन्द्र, सुशीला, प्रकाश, रेना, रे, शर्मिला र नाति ।

सूत्रधारः चन्द्रले बुवा सूर्य र आमा धनमायालाई आफ्नै गाडीमा गाउँ पुर्‍याएर फर्किए । छोरा प्रकाश जन्मिएको बेला स्याहारसुहार गर्न भनेर बुवाआमालाई काठमाडौँ ल्याएका थिए । समय बितेसँगै उता गाउँमा बुवाआमा रोइ रहे, यता सहरमा चन्द्रले बुवाआमालाई बिर्सिए ।

एक दिन कोठानजिकैको पार्कमा आमा सुशीला र बुवा चन्द्र, छोरा प्रकाशलाई साइकल सिकाउन थाले ।

सुशीलाः अब बाबुले सजिलै साइकल चलाउन सक्छ । अस्ति अस्ति मैले सिकाएँ, आज हजुर सिकाइस्यो ।

चन्द्रः ल, ल मज्जाले चलाउ मैले समाइरहेको छु । 

डराउनु पर्दैन । ...गज्जब, गज्जब, गज्जब ! मेरो छोराले चलायो । मज्जाले चलाउन आइसकेछ ! 

प्रकाशः बुवा, साइकल चलाउँदा चलाउँदा कस्तो थकाइ लाग्यो । 

चन्द्रः अलिअलि थकाइ लागिहाल्छ । ल फेरि एक पटक चलाऊ । 

प्रकाशः बुवा, हाम्रो हजुरबुवा हजुरआमा कहाँ जानु भयो ?

सुशीलाः किन चाहियो जहाँ गए पनि ? 

प्रकाशः यो साइकल मेरो जन्मदिनमा हजुरबुवाले किनिदिनु भएको हैन ? मैले बिर्सेको छैन नि ।

चन्द्रः उहाँहरू ? यहाँबाट टाढा जानु भयो । ...ल, ल एक पटक फेरि चलाऊ । सधैँ तिमीलाई साइकल सिकाएर बस्ने फुर्सद हुँदैन के हामीलाई । आयो, आयो तिमीलाई चलाउन आयो । ...बाबु धेरै ढाटा नजाऊ है । 

सुशीलाः तिमीले साइकल चलाउन सिक्यौ । आई लभ यु मेरो छोरा । बाबु धेरै टाढा नजाऊ है ।

चन्द्र, सुशीलाः (खुसी भएर ठुलो स्वरले भन्छन् ।) ...बाबु, धेरै टाढा नजाऊ है ।

सूत्रधारः गाउँमा पुर्‍याएर छोडेका बाउआमाको अवस्था भने यस्तो छ ।

शर्मिलाः यो बुढेसकालमा किन आउनुभएको ? एक्लै बस्न सकिन्छ ? म उता आफ्नो घरमा हेरुँ कि यता तपाईंहरूलाई ? आफ्ना सासूससुरा पनि हिँड्न सक्नु हुन्न ।

सूर्यः रहरले आको होला । हेलाँ खपेर कति बस्नु ?

धनमायाः देखिसहेनन् । कहिले के दोष लगाउँछन् कहिले के दोष लगाउँछन् । 

शर्मिलाः तीन तीन वटा छोरा छन् त काठमाडौँमा, पालैपालो बस्नु । ...यत्रो वर्ष राखेर यस्तो बुढेसकालमा किन गाउँ पठाइदिएको होला ?

सूर्यः पायल्सले बसेर दिसा गर्न सक्दिन, काठमाडौँको चर्पी ठिकै हुन्थ्यो । यहाँ यो एउटा कान्लो ओर्लन सक्दिन ।

शर्मिलाः यस्तो बुढो भएपछि कसरी सकिन्छ भन्या । उकालो ओरालो गर्ने उमेर छ र ? ...हामी मरे पनि बाँचे पनि तिमीहरूसँगै बस्छौँ भनेर किन नभनेको ? 

सूर्यः सुन्छन्, हाम्रो कुरा सुन्छन् ?...ल्याएर यहाँ छोडिदियो । बुढ्यौली सम्पत्ति बाँकी नै छ, छोरी होस् तेरो पनि कर्तव्य बन्ला । अब के गरौँ त हामी ?

शर्मिलाः कस्ता निर्दयी होलान् दाइहरू ।...यस्तो बिजोग बनाउनु थियो भने पहिला के खान लगेका ? ...सम्पत्ति खाएपछि बाउआमा पाल्नु पर्छ भन्ने बुद्धि किन नआएको होला ?

धनमायाः ऐया ! ऐया !

शर्मिलाः हेर, ओर्किन फर्किन सक्नु हुन्न । ...पकाइदिन आउँला । राति यहाँ कान्छो नाति बस्छ ।

सूर्य, धनमायाः किन रुन्छेस् ?

नातिः किन रुन्छेस्, भन्दै आफैँ रुनु हुन्छ । तपाईंहरू नरुनु के । म छु, हजुरबुवा हजुरआमासँग म बसिहाल्छु नि । 

शर्मिलाः औषधी खाइरहनु पर्छ । केही भयो भने अस्पताल लगिहाल्नु पर्छ, यस्ता बाउआमालाई यहाँ गाउँमा कसरी ल्याउन सक्या भन्या ?

सूर्यः भयो भयो, धेरै नरो भन्या । हाम्रै भाग्य यस्तो ।

शर्मिलाः ठुली दिदीले हिजो रुँदै फोन गरेकी थिइन् ।

धनमायाः त्यसलाई पनि नरो भन् । हामीलाई केही हुँदैन । आफू जन्मेको ठाउँ यही हो, यहीँ मरुँला के भयो ?

शर्मिलाः म गएँ । उता सासूससुरा कराउन थाले होलान् । ....बाबु हजुरआमा हजुरबुवालाई छोडेर टाढा नजाऊ है । 

नातिः हुन्छ, म उहाँहरूसँगै बस्छु । तपाईंहरू कोही पनि रुनु पर्दैन, म सबै जनालाई पाल्छु ।

सूत्रधारः एकदिन राति सुतेकै ठाउँमा धनमाया र सूर्य बिते । गाउँमा सबै छोरा जम्मा हुन दुई दिन लाग्यो ।

१५ वर्षपछि प्रकाशलाई विवाह गरेर अस्ट्रेिलया पठाए । तेल भिसामा चन्द्र र सुशीला पनि अस्ट्रेलिया गए । केही वर्षपछि छोरो हुर्कियो । प्रकाशले बुवा चन्द्र र आमा सुशीलालाई काठमाडौँ फर्काए ।

एकदिन अस्ट्रेलियाको पार्कमा बुवाआमा छोरालाई साइकल सिकाउँदै छन् । 

रेनाः गुड, गुड तिमीले चलाउन सिक्यौ ।

प्रकाशः ल, ल, ल हो यसै गरी हो । मज्जाले चलाऊ । गज्जब भयो ! 

रेनाः कस्तो राम्रो, कति छिटो सिकेको, आई लभ यु मेरो छोरा । 

प्रकाशः ल फेरि एक पटक चलाऊ है ।

रेः म थाकेँ ।

प्रकाशः म समाइदिन्छु, ल मज्जाले चलाऊ । 

रेः हजुरबुवा हजुरआमा कहाँ जानु भयो ?

रेनाः किन चाहियो ?

रेः यो साइकल हजुरबुवाले जन्मदिनमा उपहार दिनु भएको हैन ?

प्रकाशः ओके, उहाँहरू आफ्नै घर नेपाल फर्किनु भयो । ...ल, चलाऊ । गज्जब, गज्जब ! ....आई लभ यु छोरा, धेरै टाढा नजाऊ है ।

रेनाः आई लभ यु बाबु, धेरै टाढा नजाऊ है ।

रेना, प्रकाशः (खुसी भएर ठुलो स्वरमा चिच्याउँछन् ।) बाबु धेरै टाढा नजाऊ है ।

सूत्रधारः काठमाडौँको अस्पतालमा चन्द्रको अपरेसनको तयारी गर्दैछन् ।

डाक्टरः अपरेसन गर्नु पर्छ । तपाईंहरूको आफन्त को छन् यहाँ ?

चन्द्रः हामी नै हौँ हाम्रो आफन्त । 

सुशीलाः  म छुनी डाक्टर साप । अरू किन चाहियो ?

डाक्टरः मेरो मतलब, छोराछोरी हेरचाह गर्ने मान्छे चाहियो ।

चन्द्रः उनीहरू टाढा भए धेरै टाढा ।  

Author

टङ्क चौलागाईं