• १२ वैशाख २०८२, शुक्रबार

गाउँको स्कुल सहरियाको रोजाइमा

blog

नवराज श्रेष्ठ 

रामेछाप, माघ २८ गते । गाउँ नै रित्तो बनाएर अधिकांश अभिभावक आफ्ना बालबालिका पढाउन गाउँबाट सदरमुकामलगायतका सहर केन्द्रित भइरहेका छन् तर रामेछापको दुर्गम गाउँको डहु माध्यमिक विद्यालय भने सहरका विद्यार्थी र अभिभावकको रोजाइमा पर्दै आएको छ । 

रामेछापको सुनापति गाउँपालिका–४, बेथानमा रहेको डहु माविमा सहरका अभिभावकले आफ्ना छोराछोरी पढाउन ल्याइरहेका छन् । सामुदायिक विद्यालयमा देशकै नमुना विद्यालयका रूपमा हेरिएको यो माविमा पछिल्लो समय अवलोकननार्थ आउनेको चाप पनि त्यत्तिकै छ । यो विद्यालयका सबै विद्यार्थी एसइई परीक्षामा सर्वोत्कृष्ट नतिजा (न्यूनतम ३.२ जिपिए) सहित उत्तीर्ण हुने गरेका छन् । 

अन्यत्र सामुदायिक विद्यालयलाई विद्यार्थी टिकाउनै समस्या भइरहेका बेला डहु माविलाई देशका विभिन्न जिल्लाबाट आएका विद्यार्थीको चाप कसरी थेग्ने भन्ने समस्या छ । विद्यार्थीको चाप धान्न नसकेपछि त्यसको व्यवस्थापन गर्न आउने शैक्षिक सत्रमा छात्रवासमा बसेर पढ्न चाहने विद्यार्थीको लागि सो विद्यालयले माघमा नै प्रवेश परीक्षा लिएको छ । ३३ जना शिक्षक रहेको यो विद्यालयले अहिले छात्रावासमा बस्ने १७ जिल्लाका १३० विद्यार्थीसहित ४५० विद्यार्थी पढाउँदै आएको छ । आगामी शैक्षिक सत्रबाट ५० जना छात्रावासमा बसेर पढ्ने विद्यार्थी थप्ने योजना अनुसार विद्यालयले आह्वान गरेको अनलाइन आवेदनमा विद्यार्थीको चाप अधिक भएपछि प्रवेश परीक्षा सञ्चालन गरेको छ । 

अनुशासनसहितको गुणस्तरीय पढाइ

रामेछाप सदरमुकाम मन्थलीस्थित बोर्डिङ स्कुलमा पढ्दै गरेका आफ्नो छोरालाई प्रवेश परीक्षा दिनका लागि डहु मावि आउनुभएका तिलक हायू पढाइ राम्रो हुन्छ भन्ने थाहा पाएर छोरा लिएर आएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यहाँका विद्यार्थीको पढाइलगायत अनुशासन पनि राम्रो छ । त्यसैले आफ्नो छोराको भविष्य राम्रो होस् भनेर यहाँ आएका हौँ । बाबुले प्रवेश परीक्षा त दिएको छ, नाम निस्किँदैन कि भन्ने चिन्ता छ ।” 

डहु माविमा सहरदेखि गाउँसम्म, हिमालदेखि पहाड र तराईसम्मका पूर्वदेखि पश्चिमसम्मका विद्यार्थी आएका छन् । अभिभावकले आफ्ना बालबालिकालाई विद्यालयको छात्रवासमा राखेर पढाउने गरेका छन् । अङ्ग्रेजी माध्यमबाट गुणस्तरीय पढाइ हुने थाहा पाएपछि डहु माविमा आफ्नो बच्चा लिएर आएको काभ्रे जिल्लाको खानीखोला गाउँपालिका–४ की मीनमाया मोक्तानले बताउनुभयो । उहाँले भन्नुभयो, “बाबुलाई कक्षा ७ सम्म गाउँकै सरकारी विद्यालयमा पढाइयो । अहिले धेरै राम्रो सेवासुविधासहित यहाँ अङ्ग्रेजी भाषाबाट राम्रो पढाइ हुन्छ भनेर आएका छौँ । बाबुले प्रवेश परीक्षा दिएको छ, अब नाम चाहिँ निस्किँदैन कि भन्ने चिन्ता छ ।” 

तेह्र जिल्लाका विद्यार्थी 

व्यवस्थापनको काममा सहज होस् भनी वैशाखबाट सुरु हुने शैक्षिक सत्रका लागि माघमा नै विद्यार्थीको प्रवेश परीक्षा लिएको विद्यालयका प्रधानाध्यापक दलबहादुर बलले बताउनुभयो । विद्यालयमा पढ्न चाहने विद्यार्थीको चाप थेग्न नसकेका कारण चाँडै प्रवेश परीक्षा लिनु परेको बलले बताउनुभयो । उहाँले भन्नुभयो, “टाढाबाट आएका सबै विद्यार्थीलाई पढाउने मन भए पनि व्यवस्थापन गर्न कठिन छ । त्यसैले प्रवेश परीक्षा लिएर विद्यार्थी छान्नुपर्ने बाध्यता भएको हो ।” छात्रावासमा बसेर पढ्ने ५० जनाको कोटामा १३ जिल्लाका ९० जना विद्यार्थीले फाराम भरेकामा पहिलो चरणमा ५५ जनाले प्रवेश परीक्षा दिएका उहाँले बताउनुभयो । “अहिले १७ वटा जिल्लाका विद्यार्थी होस्टलमा बसेर पढिरहेका छन्, आगामी शैक्षिक सत्रका लागि रौतहट, बारा, ओखलढुङ्गालगायतका १३ जिल्लाका विद्यार्थीले आवेदन भरी प्रवेश परीक्षा दिइरहेका छन्,” उहाँले भन्नुभयो । उहाँका अनुसार धेरै विद्यार्थी विद्यालयको आन्तरिक परीक्षाका कारण प्रवेश परीक्षामा सहभागी हुन नपाएकाले उहाँहरूको लागि दोस्रो चरणको परीक्षा लिई फागुनको पहिला हप्ता नतिजा प्रकाशित गर्ने विद्यालयले तयारी गरेको छ ।