• १२ साउन २०८१, शनिबार

विकास निर्माणमा एकजुट हुन जरुरी छ

blog

महोत्तरीको पहिलो तथा पुरानो नगरपालिकाको पहिचान जलेश्वरले बोकेको छ । जलमा विराजमान जलेश्वरनाथ महादेवको नामबाट यस नगरीको  नामकरण गरिएको  हो । जलेश्वर एक समय जनकपुर अञ्चलको सदरमुकाम तथा सर्लाही महोत्तरीको गोश्वाराका रूपमा परिचित थियो । सात वटा ग्रामीण बस्तीलाई समेटेर २०३९ साल वैशाख १५ गते नगर पञ्चायत घोषणा गरिएको थियो । जिल्लाको पुरानो सदरमुकाम भए पनि जलेश्वरको अपेक्षाकृत विकास हुन सकेको छैन । जनता समाजवादी पार्टी नेपालबाट यस नगरपालिकाको प्रमुखमा निर्वाचित सुरेश साह सोनारसँग गोरखापत्रका महोत्तरी समाचारदाता नागेन्द्रकुमार कर्णले गर्नुभएको कुराकानी :

यहाँले नगरपालिकाको नेतृत्व सम्हालेको डेढ वर्षभन्दा बढी भयो । मुख्य काम के के गर्नुभएको छ ?

पहिलो पल्ट निर्वाचित भएर आएका कारण केही दिन नगरपालिकाको वातावरण, काम गर्ने तौरतरिकालगायत बुझ्नमा लाग्यो । मुख्य कामका रूपमा भन्नु पर्दा दुई दशकदेखि त्यसै थन्किएको मणिपाल कलेज सञ्चालनका लागि पहल ग-यौँ । मणिपाल कलेजको जग्गामा घेरबार लगाउने कार्य भइरहेको छ । त्यसपछि भारत–नेपालको सीमानाका भिठामोडमा ड्राइपोर्ट बनाउने काम हुने छ । जग्गा मुआब्जालगायतका विषयमा चरणबद्ध रूपमा छलफल भइरहेको छ । वडा नं. ७ र १२ मा वर्षौंदेखि नचलेको बर्थिङ सेन्टर सुचारु गरेका छौँ । शिक्षा, स्वास्थ्यको क्षेत्रमा समेत काम अगाडि बढाएका छौँ ।

साँच्चिकै गर्व गर्न लायकका के के काम भएका छन् ?

महोत्तरीको पुरानो विद्यालयका रूपमा चिनिएको लक्ष्मी चण्डी मुरारका विद्यालयलाई नमुना विद्यालय बनाउनुका साथै वर्र्षौंदेखि विवादमा रहने विद्यालयलाई अहिले विवादरहित बनाएका छौँ । शिक्षाको क्षेत्रमा समेत अहिले सुधार भएको छ । 

पहिलो र पुरानो नगरपालिकाको पहिचानलाई कायम राख्न के कस्ता पहल भइरहेका छन् ?

सेवा सबैलाई सहज र पहुँचयोग्य हुनु पर्छ । त्यही भएर नै गाउँ गाउँमा सिंहदरबारको अवधारणा आएको हो । जिल्लास्तरीय कार्यालय तथा तत्कालीन अञ्चलस्तरीय कार्यालय जुन विगतदेखि नै सदरमुकाममा छन् त्यसलाई सार्न नदिने पक्षमा छौँ । प्रदेश मुख्यमन्त्री, मन्त्री, सङ्घीयमन्त्री तथा प्रमुख जिल्ला अधिकारीसँग जिल्ला सदरमुकामको पहिचानलाई कायम राख्ने विषयमा छलफल भइरहेका छन् । सदरमुकाम क्षेत्रमा विचार गर्न र सोही अनुसार विकास निर्माणका काम अगाडि बढाउन माग गर्दै आएका छौँ ।

विकास निर्माणसहित जनअपेक्षा पूरा गर्न के कस्ता चुनौती छन् ?

गाउँ गाउँमा सिंहदरबार भनियो । जनअपेक्षा धेरै भयो । कानुन निर्माण गरियो तर पनि सङ्घीय सरकारले धेरै कानुन तथा अधिकार स्थानीय तहलाई उपलब्ध गराएको छैन । त्यसैले हामी चाहे अनुसार सेवा तथा जनताको अपेक्षा पूरा गर्न सकेका छैनौँ । सङ्घीयता कार्यान्वयनका लागि संविधानले दिएको अधिकार प्रदेश र स्थानीय सरकारलाई दिनु पर्छ । अनि मात्रै जनअपेक्षा पूरा हुन सक्छ । जनशक्ति पूरा छैन । आफ्नै आन्तरिक स्रोतसाधनले धान्न नसकिने भएकाले पनि जनअपेक्षा पूरा गर्न समस्या छ । 

जलेश्वरनाथ महादेव क्षेत्रमा पर्यटक भित्र्याउन के कस्ता पहल भए गरेका छन् ?

जलेश्वरनाथ महादेव मन्दिर जलेश्वरकै एउटा ऐतिहासिक धार्मिक धरोहर हो । विगतदेखि नै मन्दिरमा पर्यटक भित्र्याउने कार्य हुँदै आएको छ । त्यसलाई निरन्तरता दिएका छौँ । समय समयमा रङरोगन, मन्दिरमा आउने दर्शनार्थीको आवतजावतमा असुविधा नहोस् भनेर फूलमाला बेच्नेको ठाउँ अलग राखिएको छ । सरसफाइमा ध्यान दिइएको छ । सोमबार मन्दिरमा भव्य आरती आयोजना हुँदै  आएको छ । 

आगामी योजना के कस्ता छन् ?

जनअपेक्षा धेरै छन् । स्वास्थ्य र शिक्षामा काम भइरहेको छ । अब बढी ध्यान कृषि क्षेत्रमा हुने छ । हामी वडा वडा पुगेर कहाँ कहाँ पानीको समस्या छ र समाधान कसरी गर्न सकिन्छ, सिँचाइको प्रबन्ध कसरी गर्न सकिन्छ, पहिलाका नहरलाई कसरी जीर्णोद्धार गर्न सकिन्छ र यसले पानीको माग धान्छ कि धान्दैन आदि कुरा खोतलेर कृषि क्षेत्रमा बढी काम गर्ने योजनामा छौँ ।

तपाईमाथि भाषण बढी र काम कम गर्ने गरेको आरोप छ नि ? 

जनताले भनेकै समयमा तुरुन्त काम होस् भन्ने चाहना राख्छन् । नगरपालिकाले तुरुन्त काम गर्न सक्दैन । यो एउटा संस्था हो । कानुनले बाँधेको हुन्छ । कानुनको अधीनमा रहेर काम गर्नुपर्ने भएको हँुदा तोकिएकै समयमा सबै अपेक्षा पूरा हुन सक्दैन । त्यसैले यस्तो आरोप लाग्नु स्वाभाविक हो । 

नगरपालिकाको आन्तरिक स्रोतसाधन तथा पूर्वाधार के के छन्

नगरपालिकाको आन्तरिक स्रोत न्यून छ । वडा नं. १ देखि १२ सम्म नियमानुसार लाग्ने कर, पोखरीको ठेक्कालगायतका आन्तरिक स्रोत हो । एकातर्फ जनतालाई करमा सहुलियत दिइएको छ भने त्यही करबाट कतिपय विकास निर्माणका काम गर्नुपर्ने बाध्यता छ । 

नगरको फोहोर र छाडा गाईवस्तुको व्यवस्थापन फितलो देखिएको छ नि ? 

विगतमा फोहोरको समस्या विकराल थियो । जहाँतहीँ फोहोरको डुङ्गुर हुन्थ्यो तर अहिलेको अवस्था फरक छ । नगरवासीमा विस्तारै जनचेतना बढ्दै गएको छ । त्यसैले पनि फोहोरको समस्या कम देखिएको छ । छाडा गाईवस्तुको समस्या भने हट्न सकेको छैन । हामीले केही दिन नगर प्रहरीलाई सोही काममा खटाएका छौँ । पशु समात्ने गरे पनि पशुधनी आएर कागज गराएर लिने गरे पनि पुनः सडकमै छाड्ने गरिएको छ । आगामी दिनमा गाईगोरु नियन्त्रण गरेर राख्ने कान्जीहाउस निर्माण गर्ने सोचमा छौँ । 

मणिपाल र बन्दरगाह निर्माण योजनाका सम्बन्धमा के कस्तो पहल भइरहेको छ ?

वास्तवमा मणिपाल र बन्दरगाह यस क्षेत्रको विकासका लागि मेरुदण्ड हो । वर्षौंदेखि मणिपाल कलेज यस क्षेत्रका जनताको सपना हो । हामीले केही महिनाअगाडि मात्रै मणिपालसँग सम्झौता गरेका छौँ । मणिपालको जग्गामा घेरबार भइरहेको छ । मलाई विश्वास छ यस वर्ष मणिपालमा केही न केही देखिने काम हुन्छ । सुक्खा बन्दरगाहको विषयमा पनि प्रमुख जिल्ला अधिकारी, भन्सार प्रमुखसँग कुराकानी निरन्तर भइरहेको छ ।

सङ्घ र प्रदेश सरकारसँग कस्तो अपेक्षा गर्नुभएको छ ?

यस क्षेत्रका एक लाखभन्दा बढी जनता आँखा जाँच गराउन लहान पुग्ने गरेका छन् । लहानकै चौधरी आँखा अस्पतालसँग समन्वय र सहकार्य गरेर जलेश्वरमा आँखा अस्पताल सञ्चालन गर्ने सोचमा छौँ । अरूको कुरा काटेर जलेश्वरको विकास हुँदैन । विकासको क्षेत्रमा सबै राजनीतिक दल एकजुट हुन जरुरी छ । जलेश्वरको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारबिच सहकार्य आवश्यक छ । जग्गा उपलब्ध गराउने विषयमा, विवाद मिलाउने विषयमा नगरपालिका सदैव तयार छ ।