काठमाडौँ, माघ २७ गते । संविधान सभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति सुशील कोइरालाको सातौँ स्मृति दिवसमा शुक्रबार देशभरि श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । कांग्रेसले केन्द्रीय कार्यालय सानेपासहित सातै प्रदेश र ७७ जिल्लामा पूर्वसभापति कोइरालाको स्मरण गर्दै श्रद्धासुमन व्यक्त गरेको हो । 
२०७२ मा संविधान जारी गर्दा प्रधानमन्त्री रहनुभएका स्वर्गीय कोइरालालाई ‘संविधानका पिता’ उपनाम पनि दिइएको छ । राजनीतिक दलका नेताहरूले तत्कालीन प्रधानमन्त्री कोइरालाको शालीन, सरल र सिद्धान्तप्रति निष्ठावान् छवि अनुकरणीय रहेको बताउनुभएको छ । नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुर, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ नेता डा. भीमबहादुर रावल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले गोरखापत्रलाई प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री कोइरालाको राजनीतिक जीवन सरल, शालीन र सदाचारयुक्त रहेको बताउनुभएको छ ।
कांग्रेस सहमहामन्त्री फर्मुल्लाह मन्सुरले नेपाली राजनीतिमा कोइराला जस्तो इमानदार, विचार र सिद्धान्तप्रति निष्ठावान् नेताको खाँचो सधैँ रहिरहने बताउनुभयो । उहाँले भन्नुभयो, “सबैलाई सम्मान गर्ने, सबैलाई मिलाएर जाने, सबैको कुरा सुन्ने र सबैलाई एकै ठाउँमा राखेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गराउनुभयो । उहाँको राजनीतिक जीवनको सबैभन्दा महत्वपूर्ण सफलता त्यही नै हो ।”
एमाले नेता डा. भीमबहादुर रावलले तत्कालीन प्रधानमन्त्री कोइरालाको भूमिका संविधान निर्माणका प्रारम्भिक दिनमा महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले छोटोको सहकार्यमा तत्कालीन समयमा राजनीतिक दलको साझा न्यूनतम कार्यक्रम बनाउँदा सरल स्वभावका कोइराला देशको हितमा प्रतिबद्ध भावना भएको नेताका रूपमा पाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “शान्ति प्रक्रियालाई अघि बढाउने, परिवर्तन संस्थागत गर्ने सन्दर्भमा नेता कोइरालाले भूमिका खेल्नुभयो । त्यति बेला माओवादी जनसेनाका लडाकु समायोजन र व्यवस्थापनका सन्दर्भमा पनि उहाँ र मेरो धेरै कुरा मिल्थे ।”
माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले नेता कोइराला प्रधानमन्त्री भएका बेला दबाबका बिचमा जनताले दिएको जिम्मेवारी सानदार ढङ्गले पूरा गर्नुभएको बताउनुभयो । उहाँले संविधान जारी गर्न नेतृत्वदायी भूमिकामा रहनुभएको पनि स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘नेपालको परिवर्तनमा निर्विवादित, निष्कलङ्क र परिवर्तनप्रति प्रतिबद्ध भएर आफ्नो भूमिका पूरा गरेर उहाँले बिदा हुनुभयो । आदर्शवान् मान्छेको स्मरण गरिरहनु पर्छ ।”
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले तत्कालीन प्रधानमन्त्री कोइरालालाई दुई कोणबाट हेर्ने बताउँदै राजनीतिक जीवनमा सरल शालीन भए पनि संविधानमा सबैलाई अटाउने दायित्वमा कमजोरी गर्नुभएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “सन्त नेता हुनुहुन्थ्यो, घरजाम गर्नु भएन । जीवन नै प्रजातन्त्र र लोकतन्त्रका लागि समर्पित गरेको नेता हो सुशील कोइराला ।”
उहाँले नेता कोइरालाले राज्यको नोक्सानी हुने काम नगरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको भ्रष्ट समयमा सुशील कोइरालाले कुनै भ्रष्टाचार गरे, कुनै काण्ड गरे, मुलुकलाई नोक्सानी हुने काम गरे भनेर औँला ठड्याउने कसैले सक्दैन । उहाँ जनताको नेता हो । देशप्रति समर्पित र त्यागी नेता हो ।”
उहाँले सङ्घीयता र पहिचानको सवालमा समानुपातिक प्रतिनिधित्व, मधेशको मुद्दा हल गर्ने तथा आदिवासी जनजाति र उत्पीडित राष्ट्रियताको मुक्तिको सवालमा उहाँ अनुदार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “तर अनुपातमा हेर्दा गणतन्त्र र जनताप्रति प्रतिबद्ध नेता हुनुहुन्थ्यो ।”
कांग्रेसको १२ औँ महाधिवेशनबाट सभापति र देशको ३७ औँ प्रधानमन्त्री बन्नुभएका कोइरालाको २०७२ माघ २६ गते महाराजगन्जस्थित निवासमा निधन भएको थियो ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                