• १३ साउन २०८१, आइतबार

सात वर्षपछि भेटियो अर्कै ठाउँमा अधुरो पुल

blog

सुनसरीको बर्जु गाउँपालिका वडा नं. ५ र २ लाई जोड्ने निर्माणाधीन पुल ।

नवराज कट्टेल

विराटनगर, माघ २६ गते । सुनसरीको बर्जु गाउँपालिकामा बन्न थालेको सात वर्षपछि योजना अनुसारको आधा मात्र पुल भेटिएको छ, त्यो पनि एक ठाउँमा बन्नुपर्ने अर्कैतिर । योजनामा तोकिए अनुसारको साबिक स्थान परिवर्तन गरेर निर्माण भइरहेको अवस्थामा अधुरो पुल भेटिएको हो । 

सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख राजेन्द्रप्रसाद साहले स्थान परिवर्तन गरेर पुल निर्माणको काम भइरहेको फेला परेको जानकारी दिनुभयो । कागजात अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुनसरी–मोरङ पुल निर्माण आयोजनामार्फत २०७३/७४ मा बजेट विनियोजन गरेर निर्माणको काम सुरु गरिएको थियो । छ करोड १८ लाख रुपियाँको लागतमा शङ्करमाली किरातेश्वर जेभी कोटेश्वर काठमाडौँसँग २०७४ भदौ १९ गते निर्माण सम्झौता भएको थियो । 

मन्त्रालयले सुनसरी–मोरङ पुल निर्र्माण आयोजनामार्फत कम्पनीलाई दिएको कार्यादेशमा सुनसरीको साबिक अमडुवा वडा नम्बर ५ र ८ को टेङ्ग्रा खोलामाथि बनाउन भनेको थियो । यो हालको बर्जु गाउँपालिका–४ मा पर्दछ तर पुल भने सुनसरीको साबिक अमाहिबेल्ला गाविस वडा नम्बर ७ र रामगन्ज बेलगछिया गाविस–५ स्थित सीतागन्जको पासमन टोलमा निर्माणाधीन भेटिएको छ । पुल निर्माण भइरहेको हालको स्थान बर्जु गाउँपालिका वडा नम्बर ५ र २ मा पर्दछ । 

पुल निर्माणको योजना अनुसारको बजेट भने बर्जु गाउँपालिका–४, टेङ्ग्रा खोलाका लागि तोकेर आउने गरेको छ । एक स्थानमा निर्माण हुनुपर्ने पुल भने अर्को स्थानमा निर्माण गरेर बजेट दुरुपयोग गरिएको पाइएको छ । 

बर्जु गाउँपालिका–४, अवडुवास्थित टेङ्ग्रा खोलामाथि पुल निर्माण भइरहेको र क्रमागत योजना अनुसार बजेट विनियोजन र भुक्तानी भएको देखिएपछि स्थानीय तहले चासो दिएको थियो । चासो दिने क्रममा अमडुवामा बन्नुपर्ने पुल सीतागन्जमा बनिरहेको पाइएको हो । चालु आर्थिक वर्ष २०८०/८१ का लागि समेत ८९ लाख ३० हजार रुपियाँ बजेट विनियोजन भएको देखिएपछि स्थानीय तह बर्जु गाउँपालिकाका अध्यक्ष जीवछकुमार रायले जुन स्थानका लागि योजना तथा बजेट तोकेर आएको हो, त्यही स्थानमा निर्माण गर्न मन्त्रालयमा पत्राचार गरिएको जानकारी दिनुभयो । 

पुल निर्माण आयोजना अन्तर्गतका सबै पूर्वाधार आयोजना अहिले सडक डिभिजन कार्यालय विराटनगरमातहत हस्तान्तरण भएर आएका छन् । गाउँपालिका र स्थानीयले समेत योजना तथा बजेट विनियोजनमा तोकिएको स्थानमा अब पुल निर्माण हुनुपर्ने माग गरेपछि सडक डिभिजन कार्यालय विराटनगरले स्थलगत अनुगमन गरेको थियो । “निर्माणस्थलमा त्रुटि भेटियो, हामीले त्यसलाई संशोधन गर्नुपर्ने प्रक्रियामा लैजान्छौँ,” डिभिजन प्रमुख साहले भन्नुभयो, “बजेट निकासा भएर आएको साबिक स्थानभन्दा बाहिर पुल बनेको देखिएपछि अब स्थान संशोधन गरेर सुधार्नुबाहेकको विकल्प छैन ।”

निर्माण कम्पनीले समेत पुलको काममा ढिलाइ गर्दै आएको छ । २०७४ भदौदेखि निर्माण प्रारम्भ गर्ने कार्यादेश पाएको पुलको काम ६५ प्रतिशत सकिएको डिभिजन प्रमुख साहले जानकारी दिनुभयो । हालसम्म निर्माण कम्पनीले ६० प्रतिशत अर्थात् तीन करोड ३२ लाख ६८ हजार ६५४ रुपियाँ भुक्तानी बुझेको देखिन्छ । कम्पोनेन्ट नम्बर ११५ अन्तर्गत ‘एसएमबिसिपी–१६/०७३/०७४ मा शङ्करमाली किरातेश्वर जेभीले ठेक्का सम्झौता गरेर निर्माण गरिरहेको पुलको अन्तिम भुक्तानी २०७८ असार १४ गते लिइएको थियो । त्यसपछि निर्माण गर्ने कम्पनी निर्माण स्थलमा फर्केको छैन । 

डिभिजन प्रमुख साहले चालु आवका लागि विनियोजित ८९ लाख ३० हजार बजेटमार्फत काम लगाउन निर्माण कम्पनीसँग बारम्बार सम्पर्क भइरहेको जानकारी दिनुभयो । उहाँले निर्माण भइरहेको स्थानमा त्यही पुललाई पूरा गरेर योजना मागिएको र जरुरी रहेको स्थानमा नयाँ योजना समावेश गर्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो । 

निर्माण कम्पनीका प्रतिनिधि अनिल मण्डलले पुलको डिजाइन परिवर्तन गर्नुपर्ने कामले गर्दा गत वर्ष निर्माणको काम नभएको जानकारी दिनुभयो । उहाँले डिपिआर अनुसार ३५ मिटर लम्बाइ भनिए पनि फिल्डमा ३६ मिटर हुनुपर्ने देखिएकाले संशोधन गरिएको जानकारी दिनुभयो । पुल निर्माणको काम अब एक हप्ताभित्र सुरु गर्ने बताउँदै मण्डलले त्यसबेला आयोजना कार्यान्वयन गर्ने निकाय र स्थानीय तहले देखाएको स्थानमा बनाएको दाबी गर्नुभयो । 

स्थानीय ओमप्रकाश मेहताले मुख्य सडक छाडेर सहायक सडक जोड्न पुल निर्माण गरिएको दाबी गर्नुभयो । उहाँले साबिक स्थानभन्दा चार किलोमिटर उत्तरमा पुल बनाउन सम्बन्धित वडाको लेटर प्याड दुरुपयोग गरेर अर्को वडाका अध्यक्षले सिफारिस दिएको बताउनुभयो ।