• १३ साउन २०८१, आइतबार

गङ्गालालमा पहिलो पटक मुटुको ‘डबल स्विच शल्यक्रिया’ सफल

blog

काठमाडौं, माघ २५ गते। काठमाडौँको शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा पहिलो पटक मुटुको ‘डबल स्विच शल्यक्रिया’ सफल भएको छ। 

अस्पतालका डा. रवीन्द्रभक्त तिमलाको नेतृत्वमा माघ १७ गते नवलपरासीको १४ वर्षीया बालिकाको उक्त शल्यक्रिया गरिएको हो।  डा. तिमलाका अनुसार यो अति जटिल र जोखिमयुक्त शल्यक्रिया हो। यो शल्यक्रिया नेपालमा नै पहिलो पटक भएको तिमलाको दाबी छ। 

डा. तिमलाका अनुसार मुटु भित्र र बाहिर गरी दुई ठाउँमा रगत विपरीततर्फ बगिरहेको थियो। शल्यक्रियामा भित्र र बाहिर गरी दुबैतिर रगत बग्ने बाटो मिलाइएको डा. तिमलाको भनाइ छ। 

यो शल्यक्रियालाई ‘डबल स्विच’ नामाकरण गरिएको हो। उहाँ भन्नुहुन्छ, “यो शल्यक्रिया  गर्न सेनिङ र रस्टेली नामक दुई छुट्टै शल्यक्रिया गर्न उक्त नलीका मुटु साढे चार घण्टा बन्द गरिएको थियो। उहाँका अनुसार यो शल्यक्रिया गर्न १० घण्टा लागेको थियो।” 

चिकित्सकका अनुसार बालिकाको स्वास्थ्यमा सुधार आएको र केही दिनमै डिस्चार्ज गरिने भएको छ। बालिकाको उपचार सरकारको कार्यक्रम अन्तर्गत निःशुल्क गरिएको थियो।