• ५ जेठ २०८१, शनिबार

एक लाख बढी बाख्रालाई खोप

blog

दुल्लु नगरपालिका–१ स्थित बाख्रामोडमा बाख्रालाई खोप लगाइँदै । तस्बिर : विशाल सुनार

विशाल सुनार

दैलेख, माघ २५ गते । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले राष्ट्रिय खोप अभियान थालेको छ । सो अभियान अन्तर्गत एक लाख बढी बाख्रालाई खोप लगाइएको छ ।  

दैलेखको ११ वटै पालिकाहरूमा सञ्चालन हुने खोप अभियानलाई दुल्लु नगरपालिका –१ वडास्थित बाख्रामोड भन्ने स्थानमा एक कार्यक्रमबिच खोप र कार्ड हस्तान्तर गरी अभियानको उद्घाटन गरिएको छ । कार्यक्रम दुल्लु नगरपालिका उपप्रमुख बिना कार्कीले खोप तथा खोपकार्ड हस्तान्तर गरी अभियानको थालनी गर्नुभयो ।  

अभियानको थालनी गर्दै उपप्रमुख कार्कीले भन्नुभयो, “ग्रामीण क्षेत्रमा महिलाको पेवा हुन्छ बाख्रा, कुखुरा, भैँसी, दुःख बिमार परेका बेला सहारा नै यही हो, त्यसैले जोगाउने मात्र हैन व्यवसायीकरणतर्फ पनि लाग्नुपर्छ ।”  

महामारी नहोस् भन्नका लागि रोग तथा सङ्क्रमणबाट पशुधनको क्षतिलाई रोक्न नेपाल सरकारले राष्ट्रिय अभियानकै रूपमा खोप लगाउने कार्यक्रम प्रभावकारी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

दैलेखको ११ वटै पालिकामा अढाई लाख बाख्राहरू रहेको कार्यालयले जनाएको छ । पर्याप्त मात्रामा खोप नभए पनि करिब आधा सङ्ख्या अर्थात् एक लाख २५ हजार पीपीआर खोप (बाख्रा) करिब ४० हजार रानीखेत (कुखुरा), करिब एक हजार स्वाइन फिवर खोप लगाउने लक्ष्य तय गरिएको छ ।


पशु अस्पताल तथा पशु सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख भीमबहादुर विष्टले भन्नुभयो, “आवश्यकताअनुसार खोप नपाएपछि हामीले यो उपाय अपनाएको हौँ, जहाँ बढी जोखिम हुन्छ त्यही पहिलो प्राथमिकतामा राखेका छौँ ।” खोप पर्याप्त भएकाले सडक सञ्जाल जोडिएका र आवत–जावत हुने क्षेत्रका पकेटलाई लक्षित गरिएको विष्टले बताउनुभयो ।   

खोप लगाउन बाख्रा लिएर आउनुभएका दुल्लु नगरपालिका –१ नाउले गाउँका टिकाराम खड्कासँग अहिले ८० भन्दा बढी बाख्रा छन् । खड्का बर्सेनि तीनदेखि पाँच लाखसम्म बाख्रा बिक्री गरी आम्दानी गर्नेगरेको उहाँले बताउनुभयो । 

स्थानीय आइती कामीले गतवर्ष केही बाख्राहरू बिनाकारण मरेपछि खोप लगाउन ल्याएको बताउनुभयो । त्यस्तै, स्थानीय रामकली विकले भन्नुभयो, “समस्या आयो भने हामी तत्काल उपचार गराउन सक्दैनौँ, घरमै आएर खोप लगाइ दिएपछि राम्रो भयो, पैसा र समय बच्यो ।”