• १३ साउन २०८१, आइतबार

समुदायसँग स्वास्थ्य सवाल कार्यक्रम

blog

खार्पुनाथ गाउँपालिका-३ को राया स्वास्थ्य चौकीमा सञ्चालन गरिएको स्वास्थ्य सवाल कार्यक्रमका सहभागीहरू । तस्बिर : राजन रावत

राजन रावत 

हुम्ला, माघ २५ गते । गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा समुदायसँग स्वास्थ्य सवाल कार्यक्रम सञ्चालन गरिएको छ । प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्नका लागि समुदायको भूमिका पनि महत्त्वपूर्ण हुने भएको कारण कार्यक्रम सञ्चालन गरिएको हो ।

खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बलिराज शाहीले समुदाय स्तरमा सेवाग्राहीहरूलाई प्रभावकारी सेवा प्रदान गर्नका लागि स्वास्थ्य सवाल कार्यक्रम प्रत्येक वडा स्तरमा सञ्चालन गरिएको बताउनुभयो । उहाँले यो कार्यक्रम बिना बजेट स्वास्थ्यकर्मीहरूको नियमित बैठकले तय गरेर कार्यान्वयनमा ल्याएको बताउनुभयो । 

स्वास्थ्य सवाल कार्यक्रममा उठाइने विषयमा स्थानीय भाषामा आमा सुरक्षा कार्यक्रम, खोप कार्यक्रम, परिवार नियोजन कार्यक्रम, औषधीको समुचित प्रयोग, खुल्ला दिसामुक्त बस्ती तथा सरसफाइ कार्यक्रमको स्थानीय सेवाग्राहीहरूले बुझ्ने गरी स्वास्थ्य सन्देश वाचन गर्ने गरिन्छ । 

सकारात्मक प्रभाव स्वास्थ्य संस्थाबाट प्रवाह हुने, स्वास्थ्य संस्थाबाट सेवाग्राहीले जानकारी पाउने, आफ्ना स्वास्थ्य संस्थाहरूले प्रगति प्रतिवेदनबारे थाहा हुने, खोप लगाउने सङ्ख्या वृद्धि हुने, संस्थागत सुत्केरीको दर वृद्धि गर्ने, अहिले औषधीको यान्टिबायोटिक रेजिस्टेन्ट र अनावश्यक औषधीको प्रयोगबारे सेवाग्राहीले जानकारी पाउने, नियमित खोप लगाउने चेतना जाग्ने विश्वास सवाल कार्यक्रमबाट लिइएको छ । 

त्यसैगरि सेवाग्राहीबाट धेरै अपेक्षा सङ्कलन हुने गरेका छन् । स्वास्थ्य सवाल कार्यक्रममा सेवाग्राहीबाट आउने जिज्ञासाको जवाफ स्वास्थ्य चौकी प्रमुख, स्वास्थ्य चौकी व्यवस्थापन समिति, स्वास्थ्य शाखा प्रमुखबाट दिने गरिएको छ । उहाँले विशेषगरि कार्यक्रममा स्वास्थ्य संस्थाको प्रगति विवरण प्रस्तुति, स्वास्थ्य सवाल, जवाफ र स्थानीय भाषामा स्वास्थ्य सन्देश प्रवाह गर्ने गरिएको बताउनुभयो ।

यो कार्यक्रमका लागि गर्भवती महिला, खोप लगाउने बालबालिका र अभिभावक, नियमित औषधी सेवन गर्ने सेवाग्राही, पोषण सेवाग्राही, परिवार नियोजन सेवाग्राही, महिला स्वास्थ्य स्वयम सेविका, सामाजिक अगुवा, स्वास्थ्य संस्था व्यवस्थापन समिति, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र भिआईएस सेवाग्राहीहरू छन् ।