• १३ साउन २०८१, आइतबार

मानसिक रोग नेपालमा चुनौती बन्दैछ : मन्त्री बस्नेत

blog

ललितपुरमा किशोरकिशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत । तस्बिर : गोरखापत्र

ललितपुर, माघ २५ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मानसिक रोग नेपालमा चुनौती बनिरहेको बताउनुभएको छ ।बिहीबार ललितपुरमा किशोरकिशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।


मन्त्री बस्नेतले नेपालमा बालबालिकादेखि किशोरकिशोरीहरुमा मानसिक रोगको समस्या बढ्दै गइरहेको जिकिर गर्नुभयो । उहाँले मानसिक रोगको उपचार केन्द्र सातै प्रदेशमा विस्तार गर्न जरुरी रहेको बताउनुभयो । उहाँले सेवा विस्तारका लागि मन्त्रालयका तर्फबाट सबै सहयोग गर्न आफू तयार रहेको जानकारी दिनुभयो । मन्त्री बस्नेतले मानसिक रोगी किन बढिरहेका छन् भन्नेबारेमा अध्ययन हुन जरुरी रहेको बताउनुभयो ।


‘‘मानसिक रोगबारे कुरा गर्दा, नेपालमा सय जनामध्ये १० जना मानसिक रोगी फेला पर्न थालेका छन् । यो अवस्थामा सबैलाई चुनौती नै भइसकेको छ, मानसिक रोग । बच्चाहरूमा पनि त्यस्तै अवस्था सुरु भएको छ । यही सन्दर्भमा ३७ वर्ष पहिलादेखि बालबालिकाको हक अधिकारका लागि लड्दै आएको सिभी नेपालले पाटन मानसिक अस्पतालसँग सहकार्य गरेर अरू सहभागीहरूलाई जुटाएर जुन किसिमले किशोरकिशोरीहरुलाई मानसिक रोगको उपचार गर्ने युनिट बनाउनुभएको छ ।,’’ मन्त्री बस्नेतले भन्नुभयो, ‘‘यो प्रशंसा गरेर मात्रै पुग्दैन । यो सेवा बिस्तार साथै प्रदेशमा सम्भव भएसम्म बिस्तार गर्न सरकारले पनि आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । सबैसँग सल्लाह र सहकार्य गरेर सेवा विस्तार गरेर अघि बढ्न मन्त्रालय तयार छ ।’’


मन्त्री बस्नेतले मानसिक रोगको निवारणका लागि आवश्यक परे कानुन समेत बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले ‘‘मानसिक रोग व्यापक रूपमा संसारभर बढेको छ । नेपालमा कुरा गरी साध्य छैन । हामीले रोगीलाई उपचार गर्ने कुरा एउटा पार्ट भयो । मानसिक रोगी किन बढिरहेका छन् ? भन्नेकुरा अध्ययन गर्न जरुरी छ । आवश्यक परे कानुन पनि बनाउन जरुरी छ । अहिले संसदमा कानुन बनाउने पनि बेला भयो । यसमा कानुन नै बनाएर व्यवस्थित गर्नसके लागौँ । सहयोग गर्न तयार छौँ । मानसिक रोगीहरू बढ्नुको कारण पत्ता लगाउन जरुरी छ ।’’ भन्नुभयो ।