• १३ साउन २०८१, आइतबार

आमाको उमेर नपुग्दै जन्मिँदै छन् सन्तान

blog

फाइल तस्बिर

चितवन, माघ २४ गते । शिक्षित जिल्लाकारुपमा चिनिने चितवनमा उमेर नपुग्दै सन्तान जन्माउनेको सङ्ख्या निकै धेरै छ । कम उमेरमा बच्चा जन्माउँदा आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्छ भन्ने ज्ञानको कमीका कारण महिलाले कलिलो उमेरमै बच्चा जन्माएका हुन् । 

मुख्य गरी पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङलगायतका समुदायमा छिटो बच्चा जन्माउने गरेको पाइन्छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका विभिन्न अस्पतालमा आएर गएको छ महिनामा छ सय ४४ जनाले कम उमेरमा बच्चा जन्माएका छन् । उनीहरूमध्ये दक्ष प्रसूतिकर्मीबाट दुई सय १२ जनाले बच्चा जन्माएको कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिनुभयो । 

उहाँका अनुसार दक्ष स्वास्थ्यकर्मीबाट चार सय २३ र घरमा नौ जनाले बच्चा जन्माएका हुन् । ढकालका अनुसार चालु आर्थिक वर्षमा सात हजार एक सय १९ आमाले बच्चा जन्माएको भएपनि छ सय ४४ जनाले कम उमेरमा बच्चा जन्माएका हुन् । स्वास्थ्यको तालिका (प्रोटोकल) अनुसार आठ पटक स्वास्थ्य परीक्षण गर्न आउने कम उमेरका गर्भवती आमाहरुमा पाँच सय २९ रहेको कार्यालयलको तथ्याङ्कले देखाएको छ । 

पहिलो हप्तामा एक हजार एक सय ७६, १२ हप्तामा आठ सय ११ र २६ हप्तासम्म परीक्षण गर्ने नौ सय ३८ गर्भवती आमा स्वास्थ्य परीक्षणका लागि आएका जनाइएको छ । नेपालको कानुनले वैवाहिक उमेरका लागि केटीका लागि २० वर्ष पूरा हुनुपर्ने भनेको भए पनि सानो उमेरमा बच्चा जन्माउने क्रम भने नरोकिएको कार्यालयले जनाएको छ । ढकालका अनुसार ग्रामीण क्षेत्रमा चेतनाको अभावका कारण सानै उमेरमा विवाह हुने र आमा बन्ने क्रम रोकिएको छैन । 

समाजमा चेतना जगाउन सके सानो उमेरमा विवाह गर्ने र आमा बन्ने क्रम रोक्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विशेष गरी जिल्लाको पहाडी क्षेत्रमा सानै उमेरमा आमा बन्ने गरेका छन् ।” विपन्न र सीमान्तकृत समुदायमा यो समस्या रहेको उहाँले बताउनुभयो । रासस