काठमाडौँ, वैशाख ३१ गते । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमले स्पष्ट मार्गचित्र र दिशा समात्न नसकेको टिप्पणी गर्नुभएको छ ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै सांसद पुनले उक्त कार्यक्रम यथास्थितिवादी भएको र यसले जनअपेक्षा सम्बोधन गर्न नसक्ने आशङ्का व्यक्त गर्नुभयो । सांसद पुनले नीति तथा कार्यक्रममाथि छलफलका लागि पर्याप्त समय उपलब्ध नगराइएको प्रति असन्तुष्टि व्यक्त गर्नुभयो । विगतमा कम्तीमा पाँच दिनसम्म छलफल हुने र त्यसपछि प्रि–बजेट छलफलका आधारमा बजेट निर्माण हुने परम्परा रहेकोमा यस पटक समय असाध्यै न्यून पारिएको उहाँको भनाइ थियो ।
प्रधानमन्त्रीले संसद्मा प्रतिपक्षी दलका नेताहरूको प्रश्नको सामना गर्दै आफ्ना कार्यक्रमको औचित्य पुष्टि गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । दुई तिहाइ नजिकको समर्थन प्राप्त सरकारसँग जनताको उच्च आकाङ्क्षा रहेको स्मरण गराउँदै सांसद पुनले नीति तथा कार्यक्रम र सत्तारूढ दलको चुनावी प्रतिबद्धताबिच तादात्म्य नदेखिएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “प्रधानमन्त्रीकै नीति तथा कार्यक्रम भए पनि उहाँको उपस्थिति र स्वामित्वमा कमी देखियो । राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव आफैँले प्रस्तुत गरेर पुनः आफैँले समर्थन नगर्ने जस्तो नयाँ र अनौठो अभ्यास संसद्मा देखिएको छ । सत्तारूढ दलको सय बुँदे कार्ययोजना र नीति तथा कार्यक्रममा मेल देखिँदैन । सरकारको प्राथमिकता के हो भन्ने कुरा यसमा स्पष्ट छैन ।”
नेपालको राजनीतिक उपलब्धिका बारेमा चर्चा गर्दै उहाँले छ दशक लामो सङ्घर्षबाट सामन्तवादको अन्त्य भई सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताउनुभयो ।