गुणबहादुर रोका
सुलीकोट, माघ २४ गते । गोरखाको भीमसेन थापा गाउँपालिकाले सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण गरेको छ । अघिल्लो नेतृत्वको कार्यकालभरि नै केन्द्र कहाँ राख्ने भन्ने विषयमा निकै लामो समयसम्म विवाद झेल्दै गरेको गाउँपालिकाले भने अहिले आएर सुविधा सम्पन्न अपाङ्गमैत्री भवन निर्माण गरेको हो ।
गाउँपालिकाको-१ घ्याम्पेशालको खानचोकमा मा रहेको चामुण्ड प्राथमिक विद्यालय मर्च भएर अन्य ठाउँमा गएपछि खाली भएको विद्यालयको अस्थायी भवनबाट गाउँपालिकाको कार्यालय सञ्चालन हुँदै आएको थियो । अहिले बनेको नयाँ भवन सम्पन्न भइसकेको छ । यस साँढे दुई तले सुविधा सम्पन्न भवनमा एक सभाहल सहित २० कोठा निर्माण गरिएको छ ।
प्रशासनिक भवन कुल तीन करोड ४० लाख ५२ हजार ७०६ रुपियाँ ८ पैसा बजेटमा निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारीले जानकारी दिनुभयो । गाउँपालिका र निर्माण कम्पनीबिच २०७८ साल माघ ७ गते सम्झौता भई २०७९ साल माघ ७ सम्पन्न गर्नुपर्ने सम्झौता उल्लेख भएता पनि निर्माण कम्पनीले विविध कारण देखाउँदै काम सम्पन्न नभएपछि गाउँपालिकालाई म्याद थप्न आग्रह गरेको थियो ।
गाउँपालिकाले दुई पटक गरी २०८० साल पौष मसान्तसम्म सम्पन्न हुने गरी म्याद थप गरिएको प्रशासकीय अधिकृत अधिकारीले बताउनुभयो । निर्माण सुरु गरिएता पनि एक वर्ष ढिलो गरी भवन निर्माण सम्पन्न भएको उहाँले बताउनुभयो ।
निर्माण भएको नयाँ प्रशासनिक साँढे दुई तले भवनमा एक बैठक कक्ष, सभा हल, गरी अन्य १८ वटा सहित गरी २० वटा कोठा छ । प्रशासकीय भवन वरिपरि ८० मिटरको मेसिनरी वाल, जेनेटर हाउस पनि बनाइएको छ । भवनको सबै काम सम्पन्न भइसकेकाले आगामी चैत्रबाट सबै सेवा नयाँ भवनबाट दिने गरी तयारी थालिएको छ ।
सुविधा सम्पन्न नयाँ प्रशासकीय भवनसँगै सेवा प्रवाह सहज हुने प्रमुख प्रशासकीय अधिकृत अधिकारीको विश्वास छ । "गाउँपालिकाको पक्की भवन नहुँदा सेवा प्रवाह गर्न असहज भएको थियो", उहाँले भन्नुभयो, "अब विश्वास गरौँ, त्यहाँबाट काम सुरु भएपछि निकै नै सजिलो हुन्छ ।"
अहिले गोरखामा गोरखा नगरपालिका, पालुङटार नगरपालिका, बारपाक सुलीकोट गाउँपालिकाले नयाँ भवनबाट सेवा दिइरहेका छन् भने अन्य ८ वटा पालिकाहरूले प्रशासकीय भवन बनाउने क्रममा छन् ।