यदुप्रसाद भट्ट
मनाङ, माघ २४ गते । अत्यधिक चिसोले पर्यटक आगमनमा कमी हुँदा होटल व्यवसायी मर्कामा परेका छन् । अन्नपूर्ण पदमार्गमा आउने पर्यटकलाई लक्षित गरेर पदमार्ग आसपासमा होटल व्यवसाय सञ्चालन गरेका दर्जनौँ व्यवसायी मर्कामा परेका हुन् ।
पर्यटक घट्दा आम्दानी समेत नहुने भएकाले परिवारको दैनिक गुजारा चलाउन समस्या भएको होटल व्यवसायीको गुनासो छ । तीन सयभन्दा बढी पर्यटकको आगमन भइरहने अन्नपूर्ण पदमार्गमा यतिबेला मुस्किलले दैनिक दर्जन डेढ दर्जनका दरले विदेशी पर्यटक आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङ प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, "ठ्याक्कै शून्य भएको छैन, तर चिसोले गर्दा होला पर्यटक आगमन कमै छ । अब बिस्तारै फागुन लागेपछि बढ्दै जान्छन् ।" उहाँले थोराङ्ला पास तथा तिलिचोतिर पनि पर्यटक गइरहेको बताउनुभयो ।
होटल व्यवसायीसमेत रहेका नासो गाउँपालिका–५ का वडाध्यक्ष थुतेन लामाले पर्यटकको कमी हुँदा होटल बन्द गरेर छिमेकी जिल्लातिर घुम्न गएको बताउनुभयो । उहाँले भन्नुभयो, "पहिलेपहिले त हिउँ हुन्थ्यो र पो हिउँ हेर्न पर्यटक आउँथे, अहिले हिउँ पर्न छोडिसक्यो कालापत्थर हेर्न मात्रै के पर्यटक आउँथे र !" अफ सिजन भएर पनि होला, मनाङ आउने पर्यटकको तुलनामा होटल धेरै छन्, प्रायः होटलहरु सुनसान नै छन् । धेरै त बन्द नै छन् । सबैको गुजारा चलाउन पुग्ने गरी होटल सञ्चालनमा आएका छैनन् ।"
अन्नपूर्ण पदमार्गको प्रवेशद्वारमै होटल सञ्चालन गरेका आइतबहादुर गुरुङको पनि व्यथा कम छैन । उहाँले सिजनमा दैनिक ३०-३५ हजार रुपियाँ आम्दानी हुने गरे पनि यति बेला पदमार्गमा पर्यटक धेरै नै कम बनेसँगै आम्दानी नहुँदा परिवारको गुजारा कसरी चलाउने भन्ने चिन्तामा रहेको बताउनुभयो ।
दुई हप्तासम्म पर्यटक आगमन शून्य रहेको मनाङमा मौसम खुलेसँगै पर्यटकको सङ्ख्या वृद्धि भइरहेको धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्र मनाङका इन्चार्ज भूपेन्द्र गुरुङले बताउनुभयो । उहाँले सोमबार २२, मङ्गलवार २९ तथा बुधबार १३ विदेशी पर्यटक मनाङ प्रवेश गरेको जानकारी दिनुभयो । गर्मीयाम सुरु नभएसम्म पर्यटक घट्दै जाने र पर्यटन व्यवसायीको आम्दानीसमेत नहुने उहाँको भनाइ थियो । ३५ हजारभन्दा बढी पर्यटन व्यवसायी यस पदमार्गमा छन् । यीमध्ये अधिकांश व्यवसायीको आम्दानीको मुख्य स्रोत पर्यटन क्षेत्र छ ।
हिमाल, पहाडका दृश्यावलोकन, मनाङवासीको रीतिरिवाज र प्राकृतिक सुन्दरताको अवलोकन गर्न मनाङमा पर्यटक आउने गर्दछन् । अन्नपूर्ण पदमार्गले लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडेको छ । विश्वकै दश उत्कृष्ट पदमार्गमा पर्ने यस पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसरहमा छ । पदमार्ग सुनसान हुँदा पर्यटन व्यवसायी मात्र नभई सयौँ सङ्ख्यामा होटलमा आबद्ध कर्मचारी, भरिया तथा पर्यटकका लागि पथप्रदर्शकको काम गर्दै आएकालाई समेत समस्या पर्न थालेको छ ।