• १४ असार २०८१, शुक्रबार

जहाँ विद्यार्थी दिसा पिसाब गर्न जङ्गल छिर्छन् !

blog

कमलामाई नगरपालिका–४ स्थित जनमुखि प्राविको जीर्ण भवन । तस्बिर : बाबुराम देवकोटा

सिन्धुलीमाढी, माघ २४ गते । जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट नजिकै भएर पनि कमलामाई नगरपालिका–४ स्थित ढाँडे र ढकालगाँउ शिखर दुर्गम गाउँको रूपमा परिचित छ । उक्त गाउँमा दलित समुदायको बस्ती रहेको छ । उक्त समुदायले आफ्ना बालबालिका पढाउन गाउँको बिचमा स्थापना गरेको सामुदायिक विद्यालय भने यतिखेर जीर्ण बनी अभाव र समस्याले झेलिएको छ ।

ढाँडे र ढकाल गाउँको बिचमा रहेको जनमुखी प्राथमिक विद्यालयमा यतिखेर बालबालिका पढ्न न त सुविधा सम्पन्न भवन नै छ ! न त खानेपानीको सुविधा नै छ । विद्यालयमा पढ्न आएका बालबालिकालाई दिसा पिसाब गर्न विद्यालय नजिकैको जङ्गल छिर्नु पर्ने बाध्य छ । तीन कक्षासम्म पढाई हुने उक्त विद्यालयमा दुई कोठाको एउटा भवन मात्रै रहेको छ ।

विद्यालयका शिक्षक उमामाया लामिछाने एउटा कोठामा कार्यालय (अफिस) सहित बाल विकास र कक्षा १ को पढाई र अर्को कोठामा कक्षा २ र ३ को पढाई सञ्चालन गर्दै आएको गुनासो गर्नु हुन्छ । ‘‘ढाँडे र ढकालगाँउ शिखरमा गरी कुल २३ घर परिवार रहेको छ, ती सबै दलित समुदाय (बि.क. र सार्की) हुन् ।,’’ उहाँले भन्नुभयो, ‘‘यो विद्यालयमा अहिले २४ जना बालबालिका अध्ययनरत छन् । २०६१ सालमा स्थापना भएर पनि जनमुखी प्रावि यतिखेर विभिन्न समस्या र अभावले झेलिएको छ ।’’

विद्यालयमा भवन, फर्निचर, शौचालय, खानेपानी लगायतको सुविधा नभएको उहाँले सुनाउनुभयो । उक्त विद्यालयमा कार्यरत कर्मचारी भने दुई जना राहत शिक्षक, एक जना बालकक्षाको शिक्षक र एक जना कार्यालय सहयोगी रहेका छन् । विद्यालयमा दुई कोठाको शौचालयको भवन रहेपनि ढोका भत्किएको छ ।

शौचालयमा ढोका र पानीको अभावले दिसा पिसाब गर्न विद्यालय छेउमा रहेको घारीमा छिर्ने गरेको तीनै शिक्षकहरू बत्ताउँछन् । शिक्षकहरूका अनुसार विद्यालयमा खान पानी समेत डिउ र कोकको जम्बो बोतलमा घरबाट नै भरेर ल्याउनु पर्ने बाध्यता रहेको छ । उक्त विद्यालयमा भएको अहिलेको दुई कोठाको भवन पनि २०७२ सालको भूकम्पपछि २०७३ सालमा निर्माण गरिएको हो ।

भूकम्प अघि ढुङ्गा, माटोको गाह्रो र बासको बेरा लगाएको भवन भए पनि भूकम्पले भत्काएपछि अहिले उक्त भवन निर्माण गरिएको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सन्तबहादुर विकले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘टिएलसी भवनको माग गरी वडा कार्यालय, नगरपालिका लगायतका निकायलाई भनी रहेका छौँ, तर कतैबाट सुनुवाइ भएको छैन ।’’

जिल्ला सदरमुकामबाट नजिकै भएर पनि ढाँडे र ढकालगाउँ शिखरका बासिन्दाले दुर्गम क्षेत्रका बासिन्दाको जस्ती अभाव र समस्या झेलेर बस्नु परेको उहाँको गुनासो छ । समितिका अध्यक्ष विकका अनुसार ढाँडे र ढकालगाउँ शिखरका अधिकांश बासिन्दाका दैनिक गुजरा बनिबुतो गरी चल्दै आएको छ । ‘गाउँमा कच्ची मोटरबाटो खनिएको छ, हिउँदको समयमा जसोतसो मोटर साइकल र ट्याक्टर ल्याउँदा आउँछ,’’ उहाँले भन्नुभयो, ‘‘पानी पर्न थालेपछि त्यो पनि बन्द हुन्छ । गाउँमा खानेपानीको समेत उस्तै समस्या छ ।’’

विकासको नाममा गाउँमा बिजुली भने आएको स्थानीय अभिभावक बताउँछन् । कमलामाई नगरपालिका–४ का वडा अध्यक्ष महेन्द्रप्रसाद ढकाल पनि उक्त विद्यालयमा नयाँ भवन निर्माण गर्न नगरपालिका र बागमती प्रदेश सरकारसँग चार पटक सिफारिस गरेर माग गरेको भए पनि सुनुवाइ नभएको बताउनुहुन्छ । ‘‘नयाँ भवन निर्माणका लागि विभिन्न प्रयास गरी रहेको छु,’’ उहाँले भन्नुभयो, ‘‘तर सकी रहेको अवस्था छैन ।’’