• १३ साउन २०८१, आइतबार

विकट बस्तीमा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा आउँदै

blog

मकवानपुरको राक्सिराङ गाउँपालिका–९ तर्लिङ क्षेत्रमा भाइरल ज्वरोको प्रकोप फैलिएपछि उपचारमा संलग्न स्वास्थ्यकर्मी र स्थानीय । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, माघ २४ गते ।
मकवानपुरको विकट बस्ती राक्सिराङ गाउँपालिका–९ स्थित तर्लिङ आसपासका क्षेत्रमा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा आउन थालेको छ । गत साताबाट  फैलिएको भाइरल ज्वरोको प्रकोप क्रमशः नियन्त्रणमा आउने थालेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

नेवार र सीमान्तकृत चेपाङको बाहुल्य रहेको सो बस्तीमा भाइरल प्रकोपका कारण स्थानीय ६० वर्षीय टीकाबहादुर नगरकोटीको गत शुक्रबार मृत्यु भएको थियो । मृतक नगरकोटीको घरपरिवारका सबैजसो सदस्य अहिले भाइरल ज्वरोको प्रकोपबाट सिकिस्त बनेका थिए ।


राक्सिराङ गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख विजय कापरीले भाइरल ज्वरोको प्रकोप फैलिएको क्षेत्रका बासिन्दाको स्वास्थ्यमा क्रमशः सुधार आएको जानकारी दिनुभयो ।

गाउँमा भाइरल ज्वरोको प्रकोप फैलिएपछि खैराङ स्वास्थ्य चौकीका अहेव रीता थिङसहितको स्वास्थ्यकर्मीको टोली उपचारमा संलग्न भएको थियो । अहेव थिङले कतिपय घरमा सबै जना भाइरल ज्वरोबाट प्रभावित भएकोले सुधार र नियन्त्रणमा समस्या भएको बताउनुभयो । भाइरल ज्वरो प्रकोप फैलिएको क्षेत्रमा १३० जनाको स्वास्थ्य जाँच गरी उपचार गरिएको थियो ।


अज्ञात भाइरल ज्वरो गाउँका स्थानीय बालबालिकादेखि वृद्धसम्ममा सङ्क्रमण भएको थियो । बिरामीको चाप बढेका कारण प्रकोप फैलिएको क्षेत्र तर्लिङमा कतिपय औषधीसमेत अभाव भएको थियो ।

गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख कापरीले मौसम परिवर्तनसँगै फैलिने भाइरल ज्वरोका कारण स्वास्थ्य समस्या देखिएको बताउनुभयो ।
उपचारमा संलग्न खैराङ स्वास्थ्य चौकीकी अहेव थिङले रुघाखोकी, ज्वरो, काम्ने, छाती दुख्ने, घाँटी र टाउको दुख्ने जस्ता एकै प्रकारका लक्षण बिरामीमा देखिएको बताउनुभयो ।