• १२ मंसिर २०८१, बुधबार

रक्तदाता मैनालीद्वारा दुई सय छ पटक रक्तदान

blog

विश्वरक्तदाता तथा रक्तदान उत्प्रेरक अर्जुनप्रसाद मैनाली । फाइल तस्बिर

नारायणगढ -चितवन_, माघ २२ गते । विश्व रक्तदाता तथा रक्तदान उत्प्रेरक अर्जुनप्रसाद मैनालीले दुई सय छ पटक रक्तदान गर्नुभएको छ । ब्लड डानर्स सोसाइटी नेपालले आइतबार आयोजना गरेको रक्तदानसम्बन्धी उत्प्रेरणा अभियानअन्तर्गत विशेष रक्तदान कार्यक्रमका अवसरमा प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरमा उहाँले दुई सय छ पटक रक्तदान गर्नुभएको हो ।

मैनालीले सन् १९८७ देखि आफूले लगातार रक्तदान गर्दै आएको बताउनुभयो । उहाँका अनुसार उहाँले विश्वका विभिन्न देशहरूमा एक सय ३४ पटक रगत र ७२ पटक रक्तत्व प्लेलेट्स दान गर्नुभएको छ । उहाँले भन्नुभयो, “मैले विश्वका छवटै महादेशका २० देशमा दुई सय छ पटक रक्तदान गरेको छु, मेरो आफ्नै रगतले मात्रै छ सय १८ जनाको ज्यान बचाउन सहयोग हुन्छ ।”

उहाँले सन् १९८६ मा काठमाडौँमा प्रमाणपत्र अध्ययन गर्दा जो थोमसको ‘द ब्लड डोनर’ कथा पढेपछि रक्तदान गर्न प्रभावित भएको बताउनुभयो । उन्नाइस वर्षको हुँदादेखि रगत दान गर्दै आउनुभएका मैनालीले ५६ वर्ष लाग्दै गर्दा दुई सय छ पटक रक्तदान गरिसक्नुभएको छ । उहाँले भन्नुभयो, “पहिलो पटक रक्तदान गरिसकेपछि काठमाडौँको प्रदर्शनीमार्गस्थित रक्तसञ्चार केन्द्रबाट आफ्नो रगत ओ पोजेटिभ समूह भएको थाहा पाएँ, आजसम्म दान गरेको रगतको परिणाम जोड्दा एक सय दुई लिटर हुन आउँछ ।”  

रक्तदानबारे उत्प्रेरणा जगाउने तथा रक्तदान कार्यक्रमको संयोजन गर्ने विभिन्न संस्थामा आबद्ध मैनाली हाल अमेरिका बस्दै आउनुभएको छ । मैनालीको जन्मस्थान काभ्रेपलाञ्चोकको सिपाली हो । उहाँले विश्वका विभिन्न देशमा पुगेर रक्तदान गर्न उत्प्रेरणा जगाउने अभियान चलाउँदै आउनुभएको छ । रासस