• १३ साउन २०८१, आइतबार

यमुनाडाँडामा सुविधासम्पन्न स्वास्थ्यचौकी

blog

यमुनाडाँडा स्वास्थ्यचौकीको समुद्घाटन गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत ।

चित्र मिजार

सिन्धुपाल्चोक, माघ २२ गते । सुनकोशी गाउँपालिका–४ मा सुविधासम्पन्न यमुनाडाँडा स्वास्थ्यचौकी निर्माण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उक्त स्वास्थ्यचौकीको समुद्घाटन गर्नुभएको हो । 

२०७७ सालबाट निर्माण प्रक्रिया सुरु भएको उक्त यमुनाडाँडा स्वास्थ्यचौकी निर्माण सम्पन्न भई सेवा सञ्चालनमा आएको छ । तत्कालीन वडाध्यक्ष देवेन्द्र खड्काको कार्यकालमा दश लाख रुपियाँमा दुई रोपनी १० आना जग्गा खरिद गरी स्वास्थ्यचौकी भवन निमार्णकार्य अघि बढेको थियो ।

स्वास्थ्यचौकी भवन निर्माणका लागि वडा कार्यालयले २०७७ मा जग्गा खरिद गरेको थियो । दोस्रो वर्ष २०७८ साल र २०७९ सालमा दुई किस्ता गरी करिब ३० लाख विनियोजन गरेर तेस्रो वर्षमा भवन निर्माण सम्पन्न गरेको पूर्व वडाध्यक्ष खड्काले जानकारी दिनुभयो । वडा कार्यालयकै बजेटमा सुविधासम्पन्न स्वास्थ्यचौकी बनेपछि नयाँ भवनबाट स्वास्थ्य सेवा प्रदान गरिँदै आएको थियो। 

एक तल्लाको ४ कोठे भवन अपुग भएपछि उक्त स्वास्थ्य चौकीमा डेढ तला थप्नका लागि स्वास्थ्यमन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयबाट रू. ३८ लाख  बजेट विनियोजन गरिदिएको बताउनुभयो । उक्त वडामा अस्पताल निर्माणका लागि आफू सकरात्मक रहेको उहाँले बताउनुभएको छ । अस्पताल निर्माणका लागि आवश्यक जग्गा व्यवस्था गर्न पनि मन्त्री बस्नेतले स्थानीयलाई सुझाव दिनुभयो। स्वास्थ्यचौकीको नाममा १६ आना जग्गा रहेको र बाँकी आवश्यक जग्गा प्रबन्ध गर्न स्थानीय लागेकोले अस्पताल निर्माणमा लागिदिन मन्त्री बस्नेतलाई अनुरोध गरिएको पूर्व वडाध्यक्ष खड्काले बताउनुभयो । 

सुविधासम्पन्न यमुनाडाँडा स्वास्थ्यचौकीबाट गुणस्तरीय र प्रभावकारी स्वास्थ्य दिँदै आएको स्वास्थकर्मी मिनी पण्डितले बताउनुभयो । उक्त स्वास्थ्य चौकीबाट सुनकोशी गाउँपालिका वडा नम्बर ४, ५ का स्थानीयले स्वास्थ्यसम्बन्धी प्रत्यक्ष लाभ लिँदै आएका छन् । अहिले सो स्वास्थ्यचौकीबाट फिजियोथेरापी सेवा दिन थालेको छ । 

ज्येष्ठ नागरिक, अशक्तलगायतलाई स्वास्थ्यकर्मीले घरआँगनमै पुगेर स्वास्थ्य सेवा दिँदै आएका छन् । जग्गादाता श्यामबहादुर खड्का, भवन निर्माण समितिका दुर्गालाल श्रेष्ठ, ताराबहादुर खड्का र शुकदोर्जे बोम्जनलाई मन्त्री बस्नेतद्वारा सम्मान गरिएको थियो । साथै मन्त्री बस्नेतले सुनकोशी गापा–४ को नयाँ वडा भवनको पनि उद्घाटन गर्नुभएको छ।