• १३ असोज २०८१, आइतबार

विश्वविद्यालय खेलकुदको तयारी पूरा

blog

विश्वविद्यालय खेलकुदको ट्रफी सार्वजनिक गरिँदै ।

काठमाडौँ, माघ २१ गते । प्रथम अन्तर विश्वविद्यालय खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा सोमबार र मङ्गलबार दुई दिन चल्ने प्रतियोगितामा १० वटा विश्वविद्यालयको सहभागिता रहनेछ । 

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक एवम् राखेपका उपाध्यक्ष शिव कोइराला (ज्वाला) ले जानकारी दिनुभयो । 

‘‘यसअघि विश्वविद्यालयले चारपटक यस्तो प्रतियोगिता आयोजना गरेको थियो । विश्वविद्यालयले आयोजना गर्ने गरेको प्रतियोगिता नियमित हुन नसकेपछि राखेपले विश्वविद्यालयहरूको समर्थनका हरेक वर्ष रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्न लागेको हो,’’ कोइरालाले भन्नुभयो । 

राखेपले यस प्रतियोगिताबाट नयाँ खेलाडी उत्पादन गर्ने लक्ष्य पनि लिएको छ । प्रतियोगितामा पहिलो पटक एथलेटिक्स, भलिबल, टेबलटेनिस र ब्याडमिन्टन खेल समावेश गरिएको छ । 

कुल २३ स्वर्ण, २३ रजत र २३ कांस्य गरी ६९ पदकका लागि प्रतिस्पर्धा हुने प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालय दाङ, काठमाडौँ विश्वविद्यालय, धुलिखेल, पूर्वाञ्चल विश्वविद्यालय विराटनगर, पोखरा विश्वविद्यालय पोखरा, मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत, लुम्बिनी बाैद्ध विश्वविद्यालय रुपन्देही, सुदूरपश्चिम विश्वविद्यालय कञ्चनपुर, कृषि तथा वनविज्ञान विश्वविद्यालय चितवन र गण्डकी विश्वविद्यालय पोखराको सहभागिता रहनेछ । 

च्याम्पियन टोलीलाई रनिङ ट्रफी प्रदान गरिने राखेपले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न राखेपले ४० लाख रुपियाँ विनियोजन गरेको छ । राखेपले आइतबार नै प्रतियोगिताको लोगो तथा रनिङ ट्रफी सार्वजनिक गरेको छ । 

ट्रफी सार्वजनिक कार्यक्रममा राखेपका निमित्त सदस्यसचिव प्रकाशकुमार कसारी, राखेपका सदस्य अञ्जन धमला, प्रशासन विभाग प्रमुख प्रेमबहादुर मल्ल, प्रचारप्रसार शाखाका प्रमुख खुशराज दाहाल, कानुन शाखाका प्रमुख नारायणराज अर्याललगायतको उपस्थिति थियो ।