• २६ जेठ २०८२, सोमबार

ब्रेनडेथ भएका व्यक्तिबाट कलेजो र मिर्गौला प्रत्यारोपण

blog

मिर्गौला प्रत्यारोपणमा सहभागी चिकित्सकहरू ।

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ ४ गते । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु (ब्रेनडेथ) भएका व्यक्तिबाट एउटै व्यक्तिमा मिर्गाैला र कलेजो प्रत्यारोपण गरिएको छ । 

मिर्गौला र कलेजो दुवै फेल भएका ५४ वर्षिय पुरुषको एकै पटक कलेजो र मिर्गौला प्रत्यारोपण भएको हो । मिर्गौला र कलेजो दुवै फेल भएका व्यक्तिमा एकै पटक दुईवटै अङ्गको प्रत्यारोपण गरिएको पहिलो पटक हो । 

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले यसअघि कलेजोको प्रत्यारोपण गर्नका लागि भारतबाट विज्ञको सहयोग लिने गरेको भए पनि यो पटक नेपालीको टोलीले मात्र कलेजो र मिर्गौला एकै पटक प्रत्यारोपण गरिएको बताउनुभयो । 

दुवै अङ्ग एकै पटक, एउटै व्यक्तिमा प्रत्यारोपण गरेको पहिलो पटक हो भन्दै डा. श्रेष्ठले बिरामी डिस्चार्ज भएपछि विस्तृत रूपमा जानकारी गराइने बताउनुभयो । डा. श्रेष्ठले मस्तिष्क मृत्यु भएका डोनर भने काठमाडौँ मेडिकल कलेजबाट ल्याइएको जानकारी दिनुभयो । 

मस्तिष्क मृत्यु भएको अङ्गबाट एकै पटक दुई वटा अङ्गको प्रत्यारोपण गरेर नेपालमा पहिलो पटक सफल भएको भन्दै उहाँले ब्रेनडेथबाट कलेजो प्रत्यारोपण भएको यो चौथो पटक भएको बताउनुभयो । यस्तै, मस्तिष्क मृत्युबाट मिर्गौला प्रत्यारोपण गर्ने व्यक्ति १२ जना पुगेका छन् । 

सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) मा धादिङ जिल्ला निवासी १८ वर्षिय युवकको अङ्गबाट मिर्गौला र कलेजो प्रत्यारोपण गरिएको हो । काठमाडौँको नारायणगोपाल चोकमा सवारी दुर्घटनामा परेर गम्भीर घाइते हुनुभएका युवालाई उपचारका क्रममा केएमसी ल्याइएको थियो । 

केएमसीमा परीक्षणपछि मस्तिष्क मृत्यु भएको पुष्टि भएको थियो । उहाँका बुवा र दाजुको सहमतिमा अङ्गदान प्रक्रिया गरिएको हो । केएमसीका वरिष्ठ चिकित्सक डा. रोशन घिमिरेको नेतृत्वमा रहेको विशेषज्ञ टोलीले मृतकबाट प्राप्त अङ्गहरू सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हस्तान्तरण गरेको थियो । १८ वर्षीय युवाका अङ्गहरू ५४ वर्षिय व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गरिएको हो ।