• २६ जेठ २०८२, सोमबार

सगरमाथा संवादमा इलामको चिया पदर्शनी

blog

काठमाडौँमा भएको सगरमाथा संवाद कार्यक्रममा इलामको चियाको बजारीकरणका लागि प्रदर्शनीमा राखिएको चिया ।

प्रेम अधिकारी 

पशुपतिनगर (इलाम), जेठ ४ गते । काठमाडौंमा भएको सगरमाथा संवाद कार्यक्रममा इलामको चियाको बजारीकरणका लागि प्रदर्शनीमा राखिएको छ । सगरमाथा संवाद कार्यक्रममा परराष्ट्र मन्त्रालय, नेपाल टुरिजम बोर्ड, सूर्योदय नगरपालिका र टी स्टेसन इन प्रालिको समन्वयमा इलाम जिल्लासहित सूर्योदय नगरपालिका भित्रका १८ बढी उद्योगका चियाका सेम्पल प्रदर्शनीमा राखिएको हो । उक्त अवसरमा सहभागीलाई चियाको टेस्टिङ गराइएको छ । 

उक्त प्रदर्शनी सगरमाथा संवादको साइड इभेन्टका रूपमा गरिएको छ । सूर्योदय नगरपालिकाका नगर प्रमुख बहादुर राई, नेपाल टुरिजम बोर्डका कार्यकारी निर्देशक  दिपकराज जोसी र पराराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको पहलमा विशेष गरी सूर्योदय नगरपालिका भित्रका १८ बढी चिया उद्योगले उत्पादन गरेका चिया प्रदर्शनीमा राखिएको सगरमाथा संवाद कार्यक्रममा सहभागी सूर्योदय नगरपालिकाका आर्किटेक इन्जिनियर सृजन गदालले जानकारी दिनुभयो । 

प्रदर्शनीमा सूर्योदय नगरपालिका भित्र उत्पादन भएका प्रिमियम क्वालिटिको ग्रीन टी, गोल्डेन चिया, अर्ली ग्रेटी, वाइट टी र  कोल्ड आइस टी राखिएको टी स्टेसन इन प्रा.लि.का प्रज्ज्वल प्रधानले जानकारी दिनुभयो । उहाँले नेपालमै पहिलो पटक टुरिजम बोर्डले टोकन अफ लभ (मायाको चिनो) का रूपमा ब्रान्डिङ गरी ४००  प्याकेट प्रदर्शनीका लागि राखेको जानकारी दिनुभयो । 

प्रधानले चियाको बजारीकरणसँगै सूर्योदयका पर्यटकीयस्थलको समेत प्रचार–प्रसार गरी राखेको जानकारी दिनुभयो । चिया ब्यवसायी समेत रहनु भएका प्रधानले भन्नुभयो ‘एउटा चाइनिज वायर सम्पर्कमा आएको छ, स्वदेशी र अन्य देशका वायरसँग कुरा भइरहेको छ ।’

सूर्योदय नगरपालिकाका नगर प्रमुख राईले उक्त कार्यक्रममा राखिएको चिया पदर्शनीले चियाको बजारीकरणमा सहयोग पुगेको बताउनुभयो । पदर्शनीमा परराष्ट्रमन्त्री डा. आरजु राण देउवासहित विदेशी कुटनीतिक नियोगका प्रतिनिधि, विभिन्न मन्त्रालयका प्रतिनिधिसहित चियाका पारखीले अवलोकन गर्नुभएको छ ।