• २६ जेठ २०८२, सोमबार

साँगामा स्कुल टु ओलम्पिक कार्यक्रम

blog

काठमाडौँ, जेठ ३ गते । नेपाल ओलम्पियन्स सङ्घको‌ सक्रियतामा स्कुल टु ओलम्पिक कार्यक्रम सुरु भएको छ । सङ्घले चार वर्षअघि कर्णालीको सुर्खेतबाट स्कुल ओलम्पिक कार्यक्रम सुरु गरेको थियो ।

सङ्घले यस वर्षपनि बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालय, प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा काभ्रेपलाञ्चोकको साँगास्थित नेपाल पुलिस स्कुलमा ओलम्पियन र अन्य अन्तराष्ट्रिय खेलाडीको उपस्थितिमा स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना गरेको हो ।

ओलम्पियन एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, जुडोकी मनिता श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र भलिबलकी राष्ट्रिय खेलाडी उषा भण्डारीले आफ्नो खेल यात्राका बारेमा पुलिस स्कुलका विद्यार्थीसँग अनुभव साट्नुभयो । 


सोही पुलिस स्कुलमा समेत अध्ययन गर्नुभएका प्रिन्सले आफ्नो बुवाको प्रभावबाट ब्याडमिन्टन खेल्न सुरु गरेको बताउनुभयो। उहाँले पुलिस स्कुलमा हुँदा ब्याडमिन्टन खेलेको दिनको स्मरण पनि गर्नुभयो । 

उषाले बुवाको करले भलिबल सुरु गरेपनि पछि यसैमा रमाउन थालेको बताउनुभयो । उहाँले खेलले पढाईमा असर गर्ने भएपनि त्यसलाई व्यवस्थापन गर्ने सके दुबैलाई सँगसँगै लान सकिने धारणा राख्नुभयो । 

यस्तै मनिताले होस्टेलमा बस्ने क्रममा विस्तारै जुडो खेलमा आकर्षित भएको र आफ्नो गुरुको सपना पूरा गर्ने क्रममा ओलम्पिकसम्म पुगेको बताउनुभयो । 

सन्तोषीले १२ वर्षको उमेरबाट खेल्न सुरु गरेको स्मरण गर्दै पीडा सहन सक्ने क्षमतापछि मात्र सफलता मिल्ने बताउनुभयो । पुलिस स्कुलका विद्यार्थीले पढाइ र खेललाई कसरीसँगै लान सकिन्छ भन्ने प्रश्नमा सन्तोषीले भन्नुभयो, ‘‘समयअनुसार खेल र अध्ययनलाई प्राथमिकतामा राखेर तयारी गर्नु उपयुक्त हुन्छ ।’’

विभिन्न खेलमा प्रशिक्षण गरिरहेका आफ्ना विद्यार्थीलाई पुलिसले कार्यक्रममा सहभागी गरेको थियो । उनीहरुले उत्साहित हुँदै खेलाडीहरूलाई प्रश्न राखेका थिए। स्कुलका कराते, तेक्वान्दो,जुडो र जिम्न्यास्टिकका खेलाडीले डेमोस्ट्रेसन र नृत्य प्रस्तुत गरेका थिए।

सो‌ अवसरमा नेपाल ओलम्पियन्स सङ्घका अध्यक्ष दीपक विष्ट, महासचिव राजेन्द्र भण्डारी, सचिव देवु थापा, स्कुलका इन्चार्ज, प्रिन्सिपलको उपस्थिति थियो । सङ्घले विभिन्न खेलका खेल सामग्री पनि स्कुलका प्रिन्सिपललाई‌ हस्तान्तरण गरेको थियो।

सर्भिस टु सोसाइटी , सर्भिस टु ओलम्पियनु भन्ने नाराका साथ २०७८ को चैतमा सुर्खेतबाट सुरु भएको स्कुल टु ओलम्पिक कार्यक्रम सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोशीका विभिन्न जिल्लाका १६ ठाउँमा आयोजना भइसकेको छ ।

सङ्घको आयोजनामा पुलिस स्कुलमा स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना गरिएको यो दोस्रो पटक हो।