• २२ वैशाख २०८१, शनिबार

झोलुङ्गे पुलबाट आवतजावत खुला

blog

विजयकुमार साह 

ढल्केबर, माघ २१ गते । धनुषा र सिराहा जोड्ने कमला नदीमा झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्नपछि पूजापाठ गरेर शनिबारबाट मानिसका लागि आवतजावत खुला गरिएको छ । 

सिराहाको सिराहा नगरपालिका–१३, मलहनियाँ र धनुषाको जनकनन्दिनी गाउँपालिका–६, कठाललाई जोड्न निर्माण भएको पुल एक हजार ५०१ मिटर लम्बाइ र चार फिट चौडाइ रहेको छ । 

निर्माण कम्पनीका इन्जिनियर विनोदकुमार मण्डलले कमला नदीमा निर्माण भएको यो झोलुङ्गे पुल देशकै लामो भएको दाबी गर्नुभयो । उहाँका अनुसार महाकाली नदीमा बनेको दोधारा चाँदनी झोलुङ्गे देशकै लामो थियो । 

सङ्घीय सरकारको २८ करोड रुपियाँ लागतमा निर्माण भएको सो पुलको ठेक्का थानी निर्माण सेवा काठमाडौँले पाएको थियो । इन्जिनियर मण्डलले ठेक्का अवधिभन्दा छ महिनाअगावै पुल निर्माण सम्पन्न भएको जानकारी दिनुभयो । ठेक्का सम्झौता गरेर २०७९ असोज १ देखि निर्माण कम्पनीले काम सुरु गरेको थियो । ठेक्का अवधि २०८१ असार मसान्तसम्म भए पनि छ महिनाअगावै माघभित्रै सकिएको उहाँले जानकारी दिनुभयो । 

पुल सञ्चालनमा आएपछि जनकपुर र सिराहा आवतजावत गर्न वर्षौंदेखिको समस्या हट्ने स्थानीय मुकेश शर्माको भनाइ छ । पुलबाट दैनिक दुवै जिल्लाका पाँच हजार मानिसलाई ओहोरदोहोर गर्न सजिलो हुने बताउँदै उहाँले सिराहाबाट ३५ किलोमिटरको दुरीमा रहेको जनकपुर पुग्न पूर्वपश्चिम राजमार्ग तथा भारतको बाटो भएर भएर जानुपर्ने बाध्यता हटेको बताउनुभयो । 

हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा निर्माण भएको बहुप्रतीक्षित कमला पुल उद्घाटनअघि नै भत्किएपछि मानिसलाई आवतजावत गर्न समस्या भएका बेला पुलको विकल्पमा निर्माण भएको झोलुङ्गे पुलको वरदान साबित भएको सर्वसाधारणको भनाइ छ । पुल बनेपछि यस क्षेत्रमा उत्पादन हुने तरकारी र दुधको बजारीकरणका साथै पर्यटन प्रवर्धन तथा व्यापार व्यवसायमा टेवा पुग्ने अर्का स्थानीय बिन्दे मुखियाले बताउनुभयो ।