• १५ मंसिर २०८१, शनिबार

माटाका घर पाउनै मुस्किल

blog

यदुप्रसाद भट्ट 

मनाङ, माघ २१  गते । कङ्क्रिटको घर निर्माणले तीव्रता पाएसँगै मनाङमा माटाका घर पाउनै मुस्किल भएको छ । पर्यटकीय विकाससँगै अहिले माटाका परम्परागत घर मासिँदै गएका हुन् । 

वर्षामा पानी चुहिने अनि चिसो हुने भएकाले पनि माटाका घर लोप हुँदै गएको स्थानीय बताउँछन् । अर्कोतिर मनाङीलाई पर्यटक आकर्षित गर्न तथा सुविधासम्पन्न होटलको व्यवस्था गर्नुपर्ने भएकाले पनि परम्परागत माटाका घर लोप हुँदै गएको हो । युवा व्यवसायी राम गुरुङ भन्नुहुन्छ, “यो हाम्रो रहर होइन, बाध्यता हो । सबै पर्यटक सुविधासम्पन्न घरमा बस्न रुचाउँछन् । पुराना माटाका घरमा सेवासुविधा दिन पनि गाह्रो हुन्छ ।”

हिउँले असर नपार्ने भए पनि वर्षामा पानी चुहिएर बस्नै नहुने गुरुङको भनाइ छ । उहाँ वर्षाले माटाका घर चुहिने र भत्किने भएपछि आधुनिक तरिकाबाट प्रविधिको प्रयोग गरी कङ्क्रिटको घर बनाउन थालिएको बताउनुहुन्छ । परम्परागत माटाका घर हेर्न आउनेको सङ्ख्या धेरै भए पनि आफूहरूले हेर्नकै लागि भनेर संरक्षण गर्न नसकेको उहाँको भनाइ छ । 

स्थानीय कर्माछिरिङ गुरुङ भन्नुहुन्छ, “पहिले पहिले मनाङमा वर्षा नै हुँदैनथ्यो, हिउँ मात्रै पथ्र्यो । अहिले पानी बढी हिउँ कम भएको छ त्यसैले पनि कङ्क्रिटको घर निर्माण गर्नु हाम्रो बाध्यता हो ।” पुरानो घरको आकर्षण हुने भए पनि मौसम प्रतिकूल हुँदा असहज हुने भएकाले पुराना परम्परागत घर मासिँदै गएकोमा गुरुङले चिन्ता व्यक्त गर्नुभयो । 

मनाङमा लोकप्रिय मानिएको ऐतिहासिक तथा पुराना घरलाई संरक्षण गर्न नसक्ने हो भने भावी पुस्ताका लागि कथा बन्ने अवस्था छ । परम्परागत घर संरक्षणमा स्थानीय तह नै लाग्नुपर्ने तथा सरकारसँगै स्थानीय पनि सचेत हुनुपर्ने भएको छ ।