• १२ साउन २०८१, शनिबार

दर्शक तान्न कथा

blog

काठमाडौँ, माघ २१ गते । चलचित्र लेख्ने काम जो कोहीले गर्न सक्दैनन् । त्यसैले पनि चलचित्रको सम्पूर्ण संरचना कथामा नै अड्किएको हुन्छ । चलचित्रमा पात्रले बोल्ने तथा हरेक क्रियाकलाप चलचित्रमा स्क्रिप्टले नै बुनेको हुन्छ । चलचित्र कथाले चल्ने हो । हलमा दर्शकलाई आकर्षित गर्न कलाकार अवश्य चाहिन्छ तर  चलचित्रलाई टिकाइराख्न कथा नै मजबुत हुनु पर्छ ।

बिहान ८ देखि १२ बजेसम्म चलचित्र लेखनका लागि समय छुट्याउने गरेको कलाकार दीपकराज गिरी बताउनुहुन्छ । उहाँ भन्नुहन्छ, “एक्लै चलचित्र लेख्ने भएकाले आफू प्रायः एकान्त ठाउँ नै रोज्ने गरेको छु । कहिले पोखरा पुग्छु त कहिले नजिकको एकान्त जङ्गलमा बस्छु । चलचित्र कस्तो बन्छ भन्ने चिन्ताभन्दा पनि दर्शकले चलचित्रलाई रुचाउनुहुन्छ कि हुँदैन भन्ने कुरा आफ्नो चिन्ताको विषय भएको उहाँले बताउनुभयो ।” “दर्शकलाई मैले लेखेको कथाले प्रभावित बनाउन सकिएन भने चलचित्रको कथा लेखेको अर्थ हुँदैन,” गिरीले भन्नुभयो “त्यस कारण मेरो ध्यान नै दर्शकमा हुन्छ ।” ‘सगुन’ बाट चलचित्र लेखन यात्रा सुरु गर्नुभएका गिरी आफ्नो समूहले निर्माण गरेको ‘६ एकान ६’ देखि पछिल्लो ‘छक्का पन्जा ४’ सम्म आइपुग्दा पनि चलचित्र लेखनमा नै व्यस्त हुनुहुन्छ । अहिले चलचित्रको स्व्रिmप्टमै काम गरिरहनुभएको उहाँले चलचित्रको नाम भने खुलाउन चाहनुभएन । 

दिमागमा चलचित्रको कथा सधैँ घुमिरहने बताउनुहुने लेखक अभिमन्यु निरबी कथा फुर्ने समय ३ देखि बेलुका ९ बजेसम्म भएको बताउनुहुन्छ । यो समय भनेको सबै कुराले शान्त भएर खुला दिमागले कथा लेख्न सकिन्छ । आफूलाई कथा लेख्नका लागि लोकेसनको आवश्यकता नपर्ने उहाँको भनाइ छ । मुड आउनु पर्छ र कथा फुर्नु प¥यो । निरबी भन्नहुन्छ, “कतिपय अवस्थामा लेखकको दिमागमा एउटा खालको लोकेसन हुन्छ । 

लोकेसन हेरेरभन्दा पनि  पात्र वा कथालाई यस्तो लोकेसन चाहिन्छ भन्ने भएपछि म त्यही अनुसार लेख्छु । चलचित्रको कथाले दर्शक तान्ने काम गर्छ भन्ने कुरामा आफू सहमत नरहेको निरबी बताउनुहुन्छ ।” उहाँ भन्नुहुन्छ, “यो किताब जस्तो होइन जहाँ पाठकलाई होल्ड गरेर राख्न सकिन्छ । चलचित्रमा सबै कुराको आवश्यकता पर्ने भएकाले कथाले मात्र दर्शकलाई होल्ड गराउन सकिन्छ भन्ने कुरा म मान्दिन । चलचित्र ‘अन्तराल’ बाट चलचित्र लेखन यात्रा थाल्नुभएका निरबीले अहिलेसम्म १८ वटा चलचित्रको स्क्रिप्ट लेखिसक्नुभएको छ । उहाँले लेख्नुभएको चलचित्र ‘उपहार’ प्रदर्शनको तयारीमा छ ।  

स्व.चेतन कार्की, कवि वासु शशि, यादव खरेल, अविनाश श्रेष्ठ, दीपक आलोक, अभिमन्यु निरबी, मौनता श्रेष्ठ, विकास आचार्य, प्रदीप भारद्वाज, रामकाजी घिमिरे, शिवम् अधिकारी, भोजराज देवकोटा, दीपकराज गिरी, सामिप्यराज तिमिल्सिना चलचित्र लेखनमा सम्झिनै पर्ने नामहरु हुन् । चलचित्र लेखन मनभित्रको हुटहुटी हो । जुन पात्रमार्फत दर्शाउने अभिव्यक्ति पनि हो । चलचित्रमा कथा राम्रोसँग चल्यो भने त्यसलाई अवश्य नै दर्शकले मन पराउँछन् । चलचित्रले व्यावसायिक हिसाबमा पनि सफलता प्राप्त गर्छ । यद्यपि चलचित्रको कथा नै राम्रो भएन भने त्यसको असर निर्माताले मात्र होइन, दर्शकले समेत भोग्नु पर्छ ।