• १४ असार २०८१, शुक्रबार

‘बालमैत्री समाज निर्माणमा नेपाल प्रहरीको महत्वपूर्ण भूमिका’

blog

उपप्रमुख सुनिता डङ्गोल । फाइल तस्बिर

काठमाडौँ, माघ १९ गते । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले बालमैत्री समाज निर्माणमा नेपाल प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

नेपाल प्रहरी श्रीमती संघले काठमाडौँ जिल्लाभित्रका सामुदायिक विद्यालयअन्तर्गत कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीको बाल प्रतिभालाई उजागर गर्ने उदेश्यले आज आयोजना गरेको ‘शान्ति सुरक्षामा नेपाल प्रहरीको भूमिका’ विषयक कार्यक्रममा डङ्गोलले अपराध नियन्त्रणमा प्रहरीको भूमिका सराहनीय रहेको बताउनुभयो । “सुरक्षाका दृष्टिकोणमा प्रहरीको भूमिकालाई बालबालिकाले कसरी हेरिरहेका छन् भन्ने विषयलाई यस्ता कार्यक्रमले प्रष्ट पार्ने गर्दछन्”, उहाँले भन्नुभयो । 

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापाले समाजसेवा तथा शिक्षालाई जोडेर श्रीमती संघले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले प्रहरीमा आमजनताको आकर्षण कसरी बढाउने भन्नेबारे वतृत्वकलामा छलफल हुने विश्वास व्यक्त गर्नुभयो ।

श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले सामाजिक क्षेत्रमा क्रियाशील संघले पहिलो पटक वतृत्वकला गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । उक्त वतृत्वकलामा काठमाडौँभित्रका सामुदायिक विद्यालय र नेपाल प्रहरी विद्यालयमा अध्ययनरत २६ जना छात्रछात्राले भाग लिएका छन् । वतृत्वकलामा प्रथम हुनेलाई १० हजार, दोस्रो हुनेलाई सात हजार र तेस्रो हुनेलाई पाँच हजार नगदसहित सम्मान गरिने श्रीमती संघले जनाएको छ । रासस