• २० फागुन २०८०, आइतबार

‘प्रदेश सरकारबाट विभेद भयो’

blog

कारीराम यादव प्रमुख, सबैला नगरपालिका

धनुषाको सबैला नगरपालिका जिल्लाको उत्तरपूर्वी भागमा पर्छ । साबिक ठिल्ला, सतोखर, सबैला, खरयानी, पठेरवा, मखनाहा र रघुनाथपुर गाउँ विकास समिति मिलाएर बनेको यो पालिकामा १३ वडा छन् । २०७८ सालको राष्ट्रिय जनगणना अनुसार ६२ हजार २८२ जनसङ्ख्या रहेको यस नगरपालिकामा १२ हजार ३४० घरधुरी छन् । मुस्लिम र दलित समुदायको जनसङ्ख्या बढी रहेको यस नगरपालिकामा विकास निर्माणका कामकाज र भावी कार्ययोजनाको विषयमा नेकपा माओवादी केन्द्रका तर्फबाट नगर प्रमुखमा निर्वाचित कारीराम यादवसँग गोरखापत्र दैनिकका धनुषा समाचारदाता धर्बेन्द्रकुमार झाले गर्नुभएको कुराकानीको सारसङ्क्षेप : 

निर्वाचित भएको डेढ वर्षमा के के काम गर्नुभयो ?

निर्वाचनको बेला गरिएका प्रतिबद्धताहरू पूरा गर्नेतर्फ केन्द्रित छु । अति दुर्गम पालिकाहरू समावेश भएर निर्माण भएको यो नगरपालिकामा मुस्लिम र दलित समुदायको अत्यधिक जनसङ्ख्या छ । आम जनतालाई बाँच्नका लागि आवश्यक आधारभूत विषयहरू पनि यहाँ कमजोर अवस्थामा थियो । विगतको कार्यकालमा गरिनुपर्ने काम अहिले गरिराख्नु परेको छ ।  निर्वाचित भएर आएपछि  शिक्षा, स्वास्थ्य, कृषि, उद्योग व्यवसायसहितका क्षेत्रमा काम गरेको छु । नगरपालिकाको स्वास्थ्य शाखामा इमरजेन्सी सेवाको सुरुवात गरेको छु । नगरभित्रका अस्पतालमा एमबिबिएस डाक्टरको व्यवस्थापन गरेको छु । लामखुट्टेकाे औषधी छर्किने काम गरेको छु । नगर क्षेत्रमा स्टेडियम लाइटको जडान गरेको छु । ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता समयमै वडाबाटै बाँड्ने व्यवस्था, कृषकलाई कृषि मिटर उपलब्ध गराई नगरपालिकाबाट बिल तिर्ने व्यवस्थासहितका दर्जनौँ काम भएका छन् ।

स्वास्थ्य र शिक्षामा परिवर्तन के भयो त ?

धेरै परिवर्तन भएको छ । जनतालाई आधारभूत स्वास्थ्य सेवाका लागि बाहिर जानु परेको छैन । विगतमा स्वास्थ्यसम्बन्धी सामान्य समस्या हुँदा पनि जनकपुरधाम जानु पथ्र्यो । अहिले कर्मचारी पनि अस्पतालमा नियमित बस्छन् र जनताले पनि सहज रूपमा सेवा लिइराखेको छ । नगरभित्र आठ वटा मदरसा सञ्चालनमा आएपछि मुस्लिम समुदायका छोराछोरीले पनि माध्यमिकस्तरको शिक्षातर्फ अग्रसरता देखाएका छन् । विगतमा ती समुदायका बालबालिकाहरूले कक्षा दुईसम्म मात्रै पढ्ने गरेका थिए । त्यसै गरी वडास्तरमा आधारभूत विद्यालयहरू सञ्चालनमा आएपछि दलित समुदायका बालबालिका पनि विद्यालय जान लागेका छन् । नगरमा जम्मा २५ वटा विद्यालय सञ्चालित छन् । बरकुर्वाबाहेक सबै विद्यालयमा पठनपाठनको अवस्था राम्रो छ । बरकुर्वामा शिक्षकहरू बिचमै विवाद भएर अलि समस्या आएको हो त्यो पनि यही महिनाभित्रमा समाधान हुन्छ । विद्यालयमा पूर्वाधार निर्माण भएपछि बालबालिकालाई खुला आकाशमुनि बसेर पढ्नुपर्ने बाध्यताको अन्त्य भएको छ । 

नगरपालिकाको विकास र समृद्धिका लागि के आधार तयार पार्नुभएको छ ? 

यहाँको विकास र समृद्धिको आधार भनेको उद्योग व्यवसाय र कृषि नै हो । यहाँ उर्वर माटो छ । कृषिलाई वैज्ञानिक प्रणालीबाट आधुनिकीकरण गरी खेतीपाती गरियो भने उत्पादन राम्रो हुनुका साथै बेरोजगारीको समस्यासमेत समाधान हुन्छ । कमला नहरले खेतमा सिँचाइ भइरहेको छ । यसले उत्पादन पनि राम्रै हुने गरेको छ । उत्पादनलाई बजारसम्म पहुँचका लागि सडक पूर्वाधारको विकास गर्नुपर्ने आवश्यकता छ । नगरपालिकाबाट केही सडक निर्माणको काम भएको छ । सङ्घ र प्रदेश सरकारलाई पनि सडकको कालोपत्रे र नयाँ सडकका लागि योजना पठाएका छौँ तर सङ्घ र प्रदेश सरकारको निकायबाट खासै सहयोग पाएका छैनौँ ।  

नगरपालिकाभित्र अपेक्षित सडक सञ्जालको विकास हुन सकेको छैन किन होला  ?

विगतमा सडक पूर्वाधारको क्षेत्रमा हुनुपर्ने काम हुन सकेको छैन । त्यसमा ठेकेदारहरूले ठेक्का लिने एक ठाउँको काम गर्ने अरू ठाउँमा हुँदा यस्तो भद्रगोल भएको हो । हामीले सडक पूर्वाधारको कामलाई अगाडि बढाएका छौँ । चार मिटरको सडकलाई छ मिटर बनाइराखेका छौँ । नगरपालिकाको मुख्य केन्द्र सबैला बजारसँगको सडकलाई १० मिटर चौडा बनाउने काम सुरु गरिएको छ । केही दिनमै जनताले परिवर्तनको अनुभूति गर्ने छन् । 

रोजगारी सिर्जनाका लागि कस्ता कार्यक्रम सञ्चालन गर्नुभएको छ ?

धनुषा जिल्लाबाट बिदेसिने युवाको सङ्ख्या बढी नै छ । त्यसमा मेरो पालिका पनि पर्छ । युवालक्षित कार्यक्रमहरू सञ्चालन गर्नुका साथसाथै युवालाई विभिन्नखालका सिपको तालिमसमेत दिने गरेका छौँ । कृषि क्षेत्रमा अनुदानको व्यवस्था मिलाएका छौँ । सङ्घ सरकारले प्रत्येक पालिकामा एउटा उद्योग ग्राम खोल्ने लक्ष्य लिएबमोजिम यहाँ गृहकार्य भइरहेको छ । मातृकाप्रसाद यादव उद्योगमन्त्री हुँदा यस नगरपालिकामा उद्योग सञ्चालनका लागि ९२ लाख रुपियाँ पठाइदिएकोमा त्यो पैसा न त नगरपालिकामा छ न त सरकारलाई फिर्ता नै भएको छ । हामी त्यो फाइल खोज्दै छौँ । त्यसको पत्तो लागेमा हामीलाई उद्योग सञ्चालनमा सहज हुन्छ । लघु उद्यमलाई प्राथमिकतामा राखेर युवालाई तालिम दिने कार्य भएको छ । नगरपालिकाको आम्दानी अनुमानित १२ करोड जति छ । त्यसलाई रोजगारी सिर्जनाको क्षेत्रमा लगानी गर्ने मनसायमा हामी छौँ तर केही विवादका कारण नगरपालिकाको राजस्व समितिले पूरै राजस्व उठाउन सकेको छैन । त्यसकारण केही पोखरी पनि ठेक्का लगाउन सकेका छैनौँ ।

नगरपालिकाको आन्तरिक स्रोतसाधन के के छन् ? त्यसको परिचालन कसरी गरिरहनुभएको छ ?

आन्तरिक स्रोतका रूपमा नगरपालिकाले उठाउने राजस्व पोखरीहरू नै हुन् । ती पोखरीलाई माछापालनका लागि ठेक्का लगाएबापत आउने आम्दानीलाई आवश्यकता अनुसार सबै वडामा कर्मचारी व्यवस्थापनदेखि लिएर नगरको समग्र विकासका लागि खर्च गर्ने गरिएको छ ।

सङ्घ र प्रदेश सरकारबाट कस्तो सहयोगको अपेक्षा गर्नुभएको छ ?

सङ्घ सरकारको सहयोग राम्रै पाएको छु तर प्रदेश सरकारले विभेद गरी अनुदान दिने गरेको छ । प्रदेश सरकारका मन्त्रीहरूले आफ्नो क्षेत्रको पालिकाहरूमा बढी बजेट लग्ने र पहुँच नभएकालाई अनुदान नै नपठाउने परिपाटी विगतमा देखिएको छ । प्रदेश सभामा सभा सदस्यहरूले चर्को रूपमा आवाज उठाएको सुन्नु नै भएको होला । त्यतिमात्र हैन, प्रदेश सरकारले धेरैजसो कानुनसमेत बनाएको छैन जस कारणले हामीलाई समस्या भइरहेको छ । नगरपालिकाले आफैँ बनाउने धेरैजसो कानुन बनाइसकेका छौँ तर त्यसको कार्यान्वयन गर्नमा हामीलाई समस्या परिरहेको हुन्छ । 

नगरपालिकाको प्रशासनिक भवन कहिले बन्छ त ?

१३ वटा वडामध्ये ११ वटा वडाको कार्यालय आफ्नै भवनमा छ । विगतकै कार्यकालमा भवन निर्माणका लागि ठेक्का पनि लगाइएको थियो तर कानुन संवत् ठेक्का नलगाइएको भनी उजुरी परेपछि कामकाज अख्तियारले रोकिदिएको छ । त्यसका लागि मन्त्रालयमा पनि जानकारी गराइसकेको छु । काम छिटै अगाडि बढ्छ । 

कार्यकाल सक्नुअघि नगरपालिकालाई कस्तो बनाउने योजना छ ? 

मेरो कार्यकाल सकिन अब साढे तीन वर्ष जति बाँकी छ । सबैला नगरपालिकाको मुहार फेर्ने गरी कामलाई अगाडि बढाउँदै छु ।