सिरहा, कात्तिक ११ गते । यहाँको लहान नगरपालिका-५ खुट्टीखोला नजिकै पर्तीटोलमा पसलको सामान चोरी गरेको निहुँमा भएको कुटपिटका कारण एक महिलाको ज्यान गएको छ । आज बिहान कुटपिटबाट घाइते स्थानीय मो सदिक मियाँकी करिब ५० वर्षीया श्रीमती नुरजहाँ खातुनको मृत्यु भएको हो ।
कुटपिटबाट घाइते भएकी उहाँलाई स्थानीयले उद्धार गरी लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा पुर्याएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार मृतकको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।
उहाँका अनुसार कुटपिटमा संलग्न रहेको आरोपमा तीन महिलासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक नुरजहाँ खातुनले खुट्टी खोलाको किनारमा छठ पूजाको घाट नजिकै खुद्रा किराना पसल सञ्चालन गर्दै आउनुभएको थियो । आज एक युवकले पसलबाट सामान चोरी गरेको भन्दै उहाँले युवकका हजुरबालाई गुनासो गर्नुभएको र त्यसपछि ‘मेरो नातिलाई चोरको आरोप लगाउने’ भन्दै परिवारका सदस्यले निर्घात कुटपिट गरेको स्थानीयले जनाएका छन् । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस