• ४ जेठ २०८१, शुक्रबार

पुल बनेपछि स्थानीय खुसी

blog

मिर्चैया नगरपालिकाले रजैया सडकमा पर्ने जिबाखोलामा निर्माण गरेको पुल । तस्बिर : जीवछ यादव

जीवछ यादव 

लहान, माघ १८ गते । मिर्चैया नगरपालिकाको ग्रामीण भेगका स्थानीयहरुलाई सहरी क्षेत्रसँग आवतजावत गर्न जिवाखोलामा पुल निर्माण भएपछि खुसी भएका छन् । २५ मिटर लम्बाइ पुल निर्माणको कार्य २०७८ मा शिलान्यास भई चार महिनाअघि सम्पन्न भएको थियो । 

स्थानीयहरुको अनुसार जिवाखोलामा पुल नहुँदा थप तीन किलोमिटर घुमेर मिर्चैया बजारको कामले र नगरपालिकाको कामले जानुपर्दथ्यो । वर्षातको समयमा रजैया सडक पूरै बन्द रहन्थ्यो । पुल निर्माण भएपछि तीन किलोमिटर बाटो छोटियो । ग्रामीण भेगबाट जाने पूर्व पश्चिम पूर्वमा चोहर्वा सिराहा खण्डका नरहा र विषणुपुर गाउँपालिकादेखि बडहरामाल हुँदै कमलासम्म बीस किलोमिटर सडकमा मिर्चैया नगरपालिकाले जीवाखोलामा पुल निर्माण गरिदिएपछि एउटा समस्या टरेको स्थानीय हेमकुमार यादवले भन्दै बतहा खोलामा समेत पुल निर्माण भइरहेको बताउनुभयो ।

बतहा खोलाको पुल निर्माण सम्पन्न भएपछि रजैया सडक वैकल्पिक सडकको रुपमा प्रयोग गरेर हिमाल सुगर मिलसम्म सजिलै उखु पुर्‍य ाउन किसानहरुको लागि सहज हुने दक्षिणी भेगका किसानहरुले खुसी व्यक्त गर्नुभयो । पटकपटक विगतका सङ्घीय चुनाव प्रदेशसभाको चुनाव र त्यसभन्दा अघि प्रतिनिधि सभाको चुनावहरुमा जिवा र बतहा खोलामा पुल निर्माण गरि दिइने ठूलाठूला प्रतिबद्धता किसानसँग गरे पनि कसैले पूरा नगरेको स्थानीय कृषक जुगेश्वर यादवले सुनाउनुभयो । किसानको सपना सकार गर्न नगरप्रमुख यादवले जिवाखोलामा पुल निर्माण भयो र बतहामा काम जारी छ । अब किसानलाई उखुखेतीका लागि ठूलो राहत भयो  भन्नुभयाे।

जिवाखोलामा साढे चार करोडमा पुल निर्माण चार महिना अगाडि सञ्चालनमा ल्याइसकेको नगरप्रमुख श्रवणकुमार यादवले भन्दै पुल निर्माण भएपछि मिर्चैया नगरपालिका वडा नम्बर १,४ र ५ वडालाई प्रत्यक्ष  लाभ भएको बताउनुभयो । बतहा खोलामा सात करोडको लागतमा पुल निर्माणको काम दुई वर्षमा सम्पन्न हुनेगरी काम अघि बढिसकेको उहाँले बताउनुभयो । नगरप्रमुख यादवले भन्नुभयो, "मिर्चैया नगरपालिकाको गामीण क्षेत्रलाई शहरी क्षेत्रसँग जोडेर शिक्षा स्वास्थ्य र कृषिक्षेत्रमा काम गरेको कामले नै दुई पटक नगरप्रमुखमा जनताले निर्वाचित गरेको छ । दोस्रो कार्यकालमा चुनावी प्रतिबद्धता अनुसार शिक्षा, स्वास्थ्य कृषि पूर्वाधार र पर्यटन क्षेत्रमा गरेका काम पूरा गर्नेगरी अघि बढेका छौं।"

बतहा खोलाको ५० मिटर चौडाइ दुई स्पाम रहने गरी भारवहन जाँचसमेत भएर काम द्रुत गतिमा भइरहेको इन्जिनियर राजकिशाेर साहले भन्दै वर्षैभरि पानी चल्ने बतहा खोलाको पानीलाई सिंचाइ प्रयोजनका लागि  प्रयोग गर्न सकिने जानकारी दिनुभयो ।