• १ वैशाख २०८१, शनिबार

प्रस्तावित नागमती बाँध

जैविक विविधतामा पुग्ने क्षतिप्रति बेवास्ता

blog

काठमाडौँ, माघ १६ गते । विश्वव्यापी जलवायु परिवर्तनका समस्यासँग जुध्न अधिकांश मुलुक ‘गो ग्रिन’ अर्थात् हरित विकासतर्फ अग्रसर छन् । हालै युएईमा सम्पन्न जलवायु सम्मेलन (कोप–२८) ले पनि यस अवधारणालाई घोषणापत्रको प्राथमिकतामा राखेको छ । 

यसै गरी विकासका कुनै पनि संरचना निर्माण गर्दा प्रकृतिलाई कम क्षति पुर्‍याउने सरकारको नीति पनि छ तर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाँध निर्माण गर्दा यस्ता पक्षलाई उपेक्षा गरिएको छ । त्यसैले प्रस्तावित नागमती बाँधका सन्दर्भमा संरक्षित वन सम्पदा र जैविक विविधतामा पुग्ने क्षतिलाई बेवास्ता गरिएको छ । करिब २५ अर्ब रुपियाँको ऋण लगानीमा बन्न लागेको बाँधले सरकारको हरित विकासको लक्ष्यमा समेत प्रभाव पार्ने भएको छ ।

बाँधका नाममा ऋण लिएर भएको सम्पत्ति विनाश गर्न लागिएको दाबी जैविक विविधताविद् डा. तीर्थबहादुर श्रेष्ठले गर्नुभयो । उहाँका अनुसार काठमाडौँमा मानव बस्ती बढेसँगै नदी, वन, वन्यजन्तु, पन्छीलगायतका जैविक विविधतामा सहरी हस्तक्षेप बढ्यो । यस अवस्थामा अन्यत्र संरक्षण गर्न सकिएन भनेरै २०५८ सालमा शिवपुरी निकुञ्ज नामको संरक्षण क्षेत्र बनाइएको हो । 

उहाँले भन्नुभयो, “नदी र जल संरक्षणका नाममा अहिले भइरहेको प्राकृतिक सम्पत्तिको ठुलो विनाश हुने गरी संरचना निर्माण गर्नुहुन्न ।” गर्नैपर्ने भए अतिकम क्षति हुने गरी विकल्पको खोजी गर्नुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभए जस्तै संरक्षित क्षेत्रको जैविक विविधता अमूल्य निधि हुन् भन्ने कुरा बुझाएर बाँधको आकार घटाउने, साना धेरै पोखरी बनाउने वा अन्यत्र सार्नुपर्ने विकल्प खोज्नुपर्नेमा संरक्षणकर्मीले बहस थालेका छन् । 

निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले पनि त्यति ठुलो बाँध निर्माण गर्न नहुने सुझाव दिएको बताउनुभयो । बाँध बन्नुअघि धेरै चरणका छलफलमा उहाँले धाप बाँधभन्दा चार गुणा ठुलो नागमती बाँधबारे असन्तुष्टि व्यक्त गर्नुभएको थियो । 

उहाँले स्मरण गर्दै भन्नुभयो, “निकुञ्जको प्राकृतिक संरचना नै सकिने गरी यति ठुलो बाँध नबनाऊँ, बरु विभिन्न क्षेत्रमा धाप ड्याम जस्तै पोखरी बनाऊँ भनेको थिएँ ।” त्यसमा भविष्यमा उपत्यकाको जनजीवनमा समेत सुरक्षा चुनौती रहने कुरा पनि उहाँले छलफलमा राखेको बताउनुभयो । पौडेलले थप्नुभयो, “होइन यो फरेस्ट्रीको भाषा भएन, नफुट्ने गरी बनाउने त इन्जिनियरको जिम्मा हो नि, इन्जिनियरको कुरा नबोल्नुहोस् भन्ने कुरा उतापट्टिका प्राविधिकले गर्नुभयो ।” 

पौडेलका अनुसार अति नै घना वन र जैविक विविधताको घनत्व रहेको ६५ हेक्टर क्षेत्रफलमा नागमती बाँध निर्माण हुँदै छ । सो क्षेत्रको ठ्याक्कै पारिपट्टि गाउँ छ । बरु गाउँलाई अन्त सारेर त्यहाँ बाँध बनाउन सकिने प्रस्ताव उहाँले राखेको बताउनुभयो । त्यति बजेटमा गाउँ अन्यत्र सारेर बाँध बनाउन पनि पुग्ने सुझाएकोमा आयोजना पक्षले नागमती र बागमतीको मुहान क्षेत्र छाड्न नमानेको पौडेलले बताउनुभयो । 

बाँधको वातावरण मूल्याङ्कन प्रतिवेदनमा प्रस्ताव गरिएभन्दा पनि बढी हानि निकुञ्ज क्षेत्रमा हुने पौडेलले बताउनुभयो । सो राष्ट्रिय निकुञ्ज दुई वटा ब्लकमा गरेर १५९ वर्ग किलोमिटर क्षेत्रफलको छ । पछि समाहित गरिएको नागार्जुनको १५ वर्ग किलोमिटर क्षेत्र छाड्ने हो भने शिवपुरीको क्षेत्र १४४ वर्ग किलोमिटर बाँकी रहन्छ । वरिपरिको बस्ती छाडेर शिवपुरीभित्र बाँध बन्न थालेको हो । 

उपत्यकाको प्रमुख जलाधार क्षेत्र मानिने शिवपुरीतर्फ नागमती, बागमती जस्तै करिब सात/आठ वटा अन्य खोला छन् । ८० हजारभन्दा बढी ठुला रुख काटेर नागमती बाँध बनाउनुभन्दा ४०–५० वटै पोखरी बनाउने प्रस्ताव गरिएको थियो । त्यसो गर्दा फुट्यो भने पनि ठुलो क्षति हुने सम्भावना रहँदैन । प्रस्तावित नागमती बाँध फुटेको खण्डमा आधाआधि काठमाडौँ विनाश गर्न सक्ने दाबी पौडेलले गर्नुभयो । इन्जिनियरिङको पाटोमा चुप लागे पनि जैविक विविधताको अत्यधिक नोक्सानीका पक्षमा बोल्नैपर्ने पौडेलले बताउनुभयो । 

सिमसार बन्नु फाइदाको कुरा हो तर बाँधको नाममा सिमसारलाई पानी दिने ८० हजार रुख मास्नु र नदीको मूलधार नै मास्नु ठुलो बेफाइदा हो । एउटा रुखले दिने प्राणवायु अक्सिजन र कार्बन सञ्चितिमा पुर्‍याएको क्षतिको मूल्याङ्कन भएको छैन । सरकारले जलवायु परिवर्तनको पेरिस सम्झौता अनुसार नेपालको वन क्षेत्र ४५ प्रतिशत रहेको विवरण पठाइसकेको छ । राजधानीकै मुटुमा ठुलो सङ्ख्यामा रुख काटिँदा विश्वमा राम्रो सन्देश नजाने संरक्षणकर्मीको धारणा छ । 

बागमती नदी सफा गर्नेसँगै पानी महत्वपूर्ण हो र उपत्यकाका लागि भविष्यमा ठुलो बाँधको महत्व छ भनेर सरकारलाई विश्वास दिलाएपछि प्रक्रिया अघि बढेको हो । नदी अभियन्ता मौसम खनालका अनुसार बागमतीको स्वच्छतासँगै खानेपानीको आपूर्तिको स्रोतका रूपमा भविष्यमा लिन सकिने फाइदा प्रमुख मानिएको छ । 

तर ९४ मिटर अग्लो र ६५ हेक्टर क्षेत्रफल ओगट्ने नागमती बाँधले बागमती र नागमती नदीको मुहानको स्वरूप मेटिन्छ । अन्यत्र नदीमा विद्युत् निकाल्न बनेका बाँध नदीका मुहानभन्दा धेरै तल बन्ने गरेका छन् जसले मुहानमा अतिक्रमण हुँदैन । नागमती बाँधले स्वच्छ बग्न पाउने नदी कानुनविपरीत नदीको प्राकृतिक बहाव रोकिन्छ । यसले हिउँदमा नदीमा पानी बढेको देखिए पनि बर्खामा जति पानी बग्नुपर्ने हो त्यो बग्दैन । 

बाँध आयोजनाका प्रमुख भूगर्भविद् जया सिंहले बाँधले त्यहाँको प्राकृतिक स्रोतसाधनमा विनाश गरे पनि फाइदा राम्रो रहेको बताउनुभयो । उहाँका अनुसार ‘इन्टरनेसनल कमिसन फर लार्ज ड्याम’ को मापदण्डमा बन्ने भएकाले क्षति न्यूनीकरण हुने छ । आयोजनाका अनुसार सिँचाइ, विद्युत् उत्पादनका लागि हाइड्रोपावर, सुन्दरीजल खानेपानीको स्रोतमा बढोत्तरी, नदी क्षेत्रमा प्रशोधन केन्द्र बनाएर लाभको दायरा फराकिलो बनाइएको छ । जति रुख काटिन्छ कानुन अनुसार एउटा रुख बराबर २५ वटा रुख हर्जनाबापत रोप्न नर्सरी बनाइने छ ।