काठमाडौँ, माघ १४ गते । जापानमा सन् २०२६ मा आयोजना हुने २०औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा स्वर्णसहित दोहोरो अङ्कमा पदक जित्ने लक्ष्य सहित राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन एसियाड प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।
सोमबारदेखि सञ्चालन हुने प्रशिक्षण कार्यक्रमको आइतबार राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले उद्घाटन गर्नुभयो । सुरुमा असार मसान्तसम्म सञ्चालन हुने प्रशिक्षणमा कराते, तेक्वान्दो, बक्सिङ, उसु र जुडो खेल समावेश गरिएको छ ।
प्रशिक्षणको उद्घाटन गर्दै सदस्यसचिव घिसिङले यो नेपाली खेलकुदका लागि ऐतिहासिक क्षण रहेको र का राम्रो नतिजा ल्याउन सहयोगी बन्ने बताउनुभयो । ‘‘विगतमा छोटो समयको तयारी हुँदा सोचेअनुसारको नतिजा आउन सकेको थिएन । यो कार्यक्रमले राम्रो नतिजा ल्याउन सहयोग गर्छ भन्ने विश्वास छ ।’’
यस्तै राष्ट्रिय टिम तयारी समितिका निर्देशक दीपक विष्टले पहिलो चरणमा पाँच खेललाई समावेश गरिए पनि आगामी वर्षमा अन्य खेललाई थप्दै जाने बताउनुभयो । उहाँले विगतको प्रदर्शन र पदक जित्ने सम्भावना बोकेको खेललाई सुरुमा पहिलो प्राथमिकता दिएको पनि बताउनुभयो ।
प्रशिक्षणको अवधिमा खेलाडीको फिटनेस परीक्षण, स्ट्रेन्थ पावर ट्रेनिङ, डाइट एन्ड न्युट्रिसन कक्षा, उत्प्रेरणात्मक तथा खेल विज्ञान कक्षा, योगा कक्षा, स्वास्थ्य परीक्षण, स्वास्थ्य परीक्षण, डोपिङ सम्बन्धी अभिमुखीकरण कार्यक्रम पनि हुनेछ । प्रशिक्षणमा प्रत्येक खेलबाट समान १० खेलाडी गरी ५० खेलाडीलाई समावेश गरिनेछ । जसमा २९ पुरुष र २१ महिला तथा प्रत्येक खेलमा दुई दुई जना प्रशिक्षक रहनेछन् ।
प्रशिक्षणमा सहभागी खेलाडी तथा प्रशिक्षकलाई दैनिक तीन सय रुपियाँ भत्ता र आठ हजार रुपियाँ बराबरको किट्स दिइने छ । सहभागीको प्रशिक्षण अवधिभर स्वस्थ्य बिमा गरिएको पनि राखेपले जनाएको छ ।