• २ जेठ २०८२, शुक्रबार

संसदीय समितिमा मन्त्री गुरुङको आक्रोश: बिना कारण नैतिकताको प्रश्न उठाइयो

blog

आइतबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सहभागी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ।

काठमाडौं, माघ १४ गते। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आफूमाथि नैतिकताको प्रश्न उठाएको भन्दै सांसदसँग आक्रोश व्यक्त गर्नुभएको छ। आइतबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उहाँले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिने सांसदको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सो टिप्पणी गर्नुभएको हो। 

बैठकमा समितिका सदस्यले सो विधेयक अपराधीलाई प्रश्रय दिने प्रावधानसहित सरकारले सुटुक्क ल्याएको जिकिर गरेका थिए। त्यसको जवाफ दिने क्रममा मन्त्री गुरुङले विनाकारण आफ्नो नैतिकता र नियतमाथि प्रश्न उठाउने काम नगर्न सांसदलाई चेतावनी दिनुभएको हो।

उहाँले पटक पटक छलफल गरेर सो विधेयक संसद् र संसदीय समितिमा आउँदा पनि आफूमाथि गलत नियतका साथ किन प्रस्तुत भएको भन्दै सांसदलाई प्रतिप्रश्न समेत गर्नुभयो। मन्त्री गुरुङले आफूले सांसदको कार्यक्षमतामाथि प्रश्न नगर्ने भन्दै घुमाउरो भाषामा शब्दकोश अध्ययन गर्न सचेत गराउनुभयो। मन्त्री गुरुङले एकले अर्काको नियतमाथि प्रश्न उठाउँदै जाने कामले केही उपलब्धि नहुने बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘‘एउटा कुरामा मेरो गम्भीर प्रश्न छ। यो विधेयक सुटुक्कसँग पास गर्न ल्याएको अनि यहाँ बिचमा छिराएको आदि इत्यादि ढङ्गबाट आएको छ। माननीय सदस्यलाई म अत्यन्तै सम्मान व्यक्त गर्दै भन्न चाहन्छु–माननीय सदस्यज्यूको कार्य क्षमतामाथि म प्रश्न उठाउन चाहन्न। माननीय सदस्य त्यसै भएको होइन। जनताले निर्वाचित गरेर पठाइसकेपछि माननीय सदस्यको कार्यक्षमतामा कसैले पनि प्रश्न उठाउनु हुँदैन। मलाई त्यो पनि ज्ञान छ। त्यसैले त्यो ज्ञानलाई नोटिसमा राख्दै निवेदन गर्न चाहन्छु कि यो सुटुक्क पास गर्न खोजिएको रहेछ। कति गम्भीर कुरा। कसैको नैतिकतामाथि प्रश्न उठाउन पाइन्छ सभापति महोदय ? नैतिक आचरण गलत गरेको भए नैतिकको प्रश्न उठाउनुस् तर विनासित्तीमा कसैको नैतिकतामाथि प्रश्न उठाउन पाइन्छ ? माननीय सदस्यहरूलाई पनि म प्रश्न गर्न चाहन्छु–यसरी किन बोल्नु हुन्छ ? आफ्नो कुरा राख्न नजानेको, शब्द नपाएको हो भने नेपाली शब्दकोश भण्डारमा थुप्रै शब्द छन् सभापति महोदय। अनि छिराएको। के भनेको के हो त्यो ? सैद्धान्तिक छलफल गरेर दफादफा छलफल गरिरहेका छौँ। तैपनि सुटुक्क छिराएको भन्ने ? जस्केलबाट छिराएको छ। हुँदाहुँदा झ्यालबाट छिराएछ। बडो गजब छ बा !’’ 

मन्त्री गुरुङले आफूले मुलुकमा सुशासन स्थापना गर्दै नागरिकलाई सम्पन्न बनाउने लक्ष्य लिएको र त्यसैमा अविचलित भएर अघि बढ्ने पनि बताउनुभयो।