बिसे नगर्ची नेपाली इतिहासका महान् संस्कृतिकर्मी, अर्थविद् तथा राष्ट्र एकीकरणकर्मी हुन् । उनी गोरखा दरबारमा विशिष्ट दर्जीका रूपमा राजपरिवारको कपडा, पोसक सिलाउने गर्दथे तर उनले नेपालको एकीकरणमा अर्थ सङ्कलन र एकीकरणका सेनालाई वीर रसका गीत सुनाउँदै सु-याउने काममा विशेष योगदान दिएका थिए तर उनको योगदानबारे सत्य, तथ्य इतिहास लेख्न कन्जुस्याइँ गरिनु दुःखको कुरो हो । त्यसैले यस्ता ऐतिहासिक व्यक्तित्वको सम्बन्धमा लेखिएको इतिहास प्रकाशमा आएको पाइँदैन । नेपाल एकीकरण अभियानमा बिसे नगर्चीको साथमा वाङ्गे सार्की (बागे) सार्की, मनीराम गाइनेलगायत दलित समुदायका व्यक्तिले पनि महìवपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । बिसे नगर्चीले दरबारमा नगरा बजाउने र राजपरिवारको कपडा, पोसाक सिलाइ, बुनाइ गर्नुका अलवा लडाइँमा सिपाहीको रूपमा पनि काम गरेको सैनिक इतिहास एवं गोरखाको राज्य विस्तारको इतिहाससँग सम्बन्धित सामग्री अध्ययन गर्दा पनि थाहा पाइन्छ । बिसे नगर्ची पृथ्वीनारायण शाहका पिता नरभूपाल शाहकै पालादेखि गोरखा दरबारको सम्पर्कमा रहेको भन्ने प्रमाण निम्न वाक्यबाट पनि प्रस्ट हुन्छ ।
पृथ्वीनारायण शाहले बिसे नगर्चीलाई ‘त मेरो बुबाको पालादेखिको काठोभोटो गर्ने बुढो दमै’ भनेबाट बिसेको जन्म विसं १७५० भन्दा पहिले नै भएको अनुमान गर्न सकिन्छ । नेपाल राष्ट्रिय एकीकरण अभियानका सन्दर्भमा बिसेले आफ्नो चालिस वर्षको उमेरमा आफ्ना कुरा र परिदृश्य २१ वर्षका राष्ट्रिय एकीकरण अभियानका प्रणेता पृथ्वीनारायण शाहलाई भनेका कुरा नाटककार भीमनिधि तिवारीले आफ्नो नाटक ऐतिहासिक पाँच एकाङ्कीमा उल्लेख गरे अनुसार यो अनुमान गर्न सकिन्छ कि बिसे नगर्चीको जन्म विसं. १७४६ तिर भएको हो । पृथ्वीनारायण शाहको जन्म १७७९ मा ।
योगी नरहरिनाथले इतिहास प्रकाशन सन्धिपत्र सङ्ग्रह भाग १९ इतिहासका घटना सङ्ग्रह (बिसेका सन्दर्भमा) बिसे को हुन्, उनका पूर्वजहरू को हुन्, राष्ट्रिय एकीकरण अभियानमा उनको विशिष्ट योगदान सत्य, तथ्य आदि विवेचना गरेको पाइन्छ । बिसे नगर्चीले एकीकरण सम्बन्धमा गीत, सङ्गीत, गायनको माध्यमबाट पनि महìवपूर्ण भूमिका योगदान दिएका थिए । उनले सैनिकहरूको उत्साह बढाउन युद्धका गीतहरू पनि बनाएर सैनिकलाई युद्धको मोर्चामा दृढताका साथ अघि बढ्न उत्साहित गरेका थिए । यसबाट पनि स्पष्ट हुन्छ कि बिसे नगर्ची पृथ्वीनारायण शाहका सल्लाहकार मात्र नभएर विशिष्ट वाद्यवादक र सङ्गीतकार पनि थिए ।
इतिहासकार प्राडा राजाराम सुवेदीका अनुसार गोरखा दरबारबाट बिसे नगर्चीलाई खेतीयोग्य भूमि विर्ता स्वरूप प्राप्त भएको थियो । पृथ्वीनारायण शाहको राज्यरोहणअघि पनि बिसे नगर्चीका परिवारलाई नरभूपाल शाहले पनि खेतीयोग्य जमिन प्रदान गरिएको कुरा दस्तावेजहरूमा पाइन्छ । संस्कृतिविद् तथा अनुसन्धाता रामशरण दर्नालका अनुसार गोरखा जिल्लाको पोखरीथोक जर्किन डाँडामा जन्मिएका बिसे नगर्चीको बुबाको नाम धन्य, धन अथवा धने नगर्ची हो । उनलाई बिसे नामबाट सम्बोधन गरिए पनि उनको नाम विश्वेश्वर अथवा विश्वासबाट माया दसाउँदै ‘बिसे’ भनिएको अनुमान गर्न सकिन्छ ‘तत्कालीन समयमा गाउँलेहरू विभासको धुनसंँगै ब्युँझिन्थे र आरतीको धुनपछि सुत्थे । बिहान सनई बजाएको राग विभासुबाट मानिसलाई ब्युँझाइन्थ्यो । राग विभासु भालेको प्रातःकालीन डाकसँगै बजाइन्थ्यो । त्यसबेला डाक हाल्ने पेसा गर्नेहरूको थर नववागु वा नौवाग थियो । यसरी बिसे दमाई जातका नौवाग थरका नागरिक भएको संस्कृतिविद् प्राज्ञ रामशरण दर्नालले आफ्नो पुस्तक ‘बिसे नगर्चीमा उल्लेख गरेका छन् । पृथ्वीनारायण शाहको समयभन्दा पहिलेदेखि नै गोरखा दरबारमा प्रशस्ती गाउने भाटदेखि सगुनी फुक्ने दमाईसम्म, साइत निमाल्ने ज्योतिषीदेखि गाथा फलाक्ने गाइनेसम्मको दरबन्दी रहेको थियो । बिसे नगर्चीपछि उनका
छोरा दुबल्याहा दमाईले नगर्ची पदमा काम गरेको विसं १८४६ को लालमोहरमा उल्लेख छ । बुढेसकाल लागेपछि बिसेले राजालाई स्वतन्त्र भएर बस्ने सल्लाह दिन थालेको विश्वास गरिन्छ । बिसेको मृत्युको तिथि मिति पाउन सकिएको छैन तर उनी विसं १८२८ तिर ८२ वर्षको उमेरमा निधन भएको अप्रमाणित स्मरण भने भेटिन्छन् । पृथ्वीनारायण शाहको नेपाल एकीकरणको यो महान्
अभियानमा बिसे नगर्ची पृथ्वीनारायण शाहको आर्थिक सल्लाहकारका रूपमा रही युद्ध मोर्चामा समेत सहभागी भएका थिए भन्ने कुराको इतिहासकारहरूले पनि उल्लेख गरेको पाइन्छ । त्यसैले नेपाल एकीकरण अभियानमा बिसे नगर्चीको विशिष्ट योगदान रहेको इतिहासमा पुष्टि हुन्छ । बिसे नगर्चीका बारेमा अझ सूक्ष्म रूपमा खोज अनुसन्धान गरी सही तथ्य कुरा सबैका सामु ल्याउनु इतिहासकारको मुख्य कर्तव्य पनि हो ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                