• ८ मंसिर २०८१, शनिबार

‘नो ड्याम’ को सट्टामा ‘हाई ड्याम’

blog

नागमती बाँधको औचित्यमा वन मन्त्रालयकै प्रश्न 

काठमाडौँ, माघ १४ गते । नागमती बाँध निर्माणका लागि प्राकृतिक रूपमा बनाउन सकिने ‘नो ड्याम’ विकल्पलाई अस्वीकार गर्दै ‘हाई ड्याम’ बाँधलाई नै प्रमुख विकल्पका रूपमा प्रस्तुत गरिएको पाइएको छ । कम जोखिम मोलेर बनाउन सकिने बाँध बढी जोखिम मोलेर बनाउन खोजिएको कुरा वन तथा वातावरण मन्त्रालयले गराएको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) मा उल्लेख छ । 

नागमती बाँध आयोजनाले प्रतिवेदन मन्त्रालयमा दिएलगत्तै मन्त्रालयले गत वर्ष भदौ १८ गते सूचना प्रकाशन गरी सार्वजनिक रूपमा सुझाव माग गरेको थियो । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ मा बन्ने सो बाँधले संरक्षित क्षेत्रका रूपमा रहेको शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको ६५.३०४ हेक्टर जमिन ओगट्छ भने ०.२९५ हेक्टर निजी जग्गा पर्ने देखिएको जनाइएको छ । तल पिँधमा सात मिटर चौडाइ रहने गरी ९४.५ मिटर अग्लो र ५५४ मिटर चौडाइको बाँध निर्माण हुने प्रस्तावित प्रतिवेदनमा उल्लेख छ । 

वातावरण संरक्षण नियमावलीलाई टेकेर वन तथा वातावरण मन्त्रालयले सो आयोजनाको औचित्यमाथि नै प्रश्न उठाएको छ । मन्त्रालयले सोको जवाफ संशोधित प्रतिवेदनमा चित्त बुझ्ने गरी दिन भनेको छ । प्रतिवेदनका सवालमा सुझाव समितिको बैठकले झन्डै ४५ बुँदामा विभिन्न प्रश्नको उत्तर माग गरेको छ । मन्त्रालयका प्रवक्ता बद्रीराज ढुङ्गानाले सुझाव सामेल गरेर संशोधन प्रतिवेदन आएपछि त्यो पारित गर्ने नगर्ने भन्नेबारे पुनः छलफल हुने बताउनुभयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारका पालामा तीन वर्षअघि एसियाली विकास बैङ्कसँग सम्झौता गरेपछि आयोजनाको काम अगाडि बढेको हो । प्रस्तावित इआइए प्रतिवेदन हेर्नेबित्तिकै वन मन्त्रालयले आयोजनाको उद्देश्यमाथि नै प्रश्न उठाएको हो । 

बागमतीमा ४५० लिटर प्रतिसेकेन्ड पानी फाल्नकै लागि त्यति ठुलो ऋणमा पोखरी बनाउनुपर्ने वा नपर्ने प्रश्न समितिको बैठकमा उठेको छ । ऋणको मामिलामा सरकारले आयोजनाको औचित्य तथा आर्थिक अध्ययन सरकारले गर्नुपर्ने सुझाव दिइने भएको छ । सोधिएको प्रश्नमा चित्तबुझ्दो जवाफ नआएमा सो विषयमा अझ विस्तृत सुझाव माग गर्ने तयारी मन्त्रालयले गरेको छ । वातावरण प्रभाव मूल्याङ्कन शाखा अधिकृत मधु घिमिरेले बाँध फुट्दा आउने जोखिमबारे दीर्घकालीन र अल्पकालीन समाधानका उपाय प्रस्ट उल्लेख नगरिएको बताउनुभयो । उहाँका अनुसार अर्को विषय भनेको नागमती बाँध संरक्षित क्षेत्रको कोर एरिया उजाड बनाउने गरी बन्दै छ । त्यसलाई वन मन्त्रालयले निकै संवेदनशील रूपमा लिएको छ । 

पारिस्थितिक प्रणालीमा असर 

शाखा अधिकृत घिमिरेले ती क्षेत्रका ८० हजार २५८ वटा विभिन्न प्रजातिका रुख काट्नुपर्ने प्रस्तावमा उल्लेख भएको तर त्यो कटान दोब्बरले बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नियमावली टेकेर भन्नुपर्दा अहिले पाँच सेन्टिमिटर रेडियसको बिरुवा पनि कटानमा गनिन्छ । त्यसैले प्रस्तावमा भनिएभन्दा दोब्बरले बढी (दुई लाख हाराहारी) रुखबिरुवाको विनाश हुने देखिन्छ ।” यसरी कटान हुँदा शिवपुरीको जैविक विविधतायुक्त पारिस्थितिक प्रणालीमा निकै उथलपुथल आउने छ । 

प्राकृतिक रूपमा उम्रिएका जडीबुटी र बुट्यानको वंशनाश हुने छ । नागमती बाँधले निकै ठुलो क्षेत्र र गहिराइ ओगट्छ । जसले धाप ड्यामले भन्दा कैयौँ गुणा बढी क्षेत्र खाली बनाउँछ । उहाँका अनुसार त्यति फराकिलो र उचाइको बाँध बनाउन चाहिने ढुङ्गा तथा अन्य कच्चा पदार्थ कहाँबाट ल्याइन्छ भन्ने खुलाइएको छैन । बाँध निर्माण गर्दा सो क्षेत्रमा भारी सवारीसाधन कहाँबाट लैजाने भन्ने पनि खुलाइएको छैन । त्यसरी सवारीसाधन लैजान प्रतिबन्ध लगाइएको छ । 

केही सेवामूलक फाइदा आयोजनाले देखाए पनि त्यो बहुउद्देश्यीय परियोजना होइन भन्नेमा स्पष्ट छ । पछि थपिएका लाभका विषयले औचित्य पुष्टि गर्दैन र परियोजना सेवामुखी र विकासमुखी दुवै नभएकोमा मन्त्रालय स्पष्ट छ । अधिकृत घिमिरेले थप्नुभयो, “आकाशबाट परेको पानी जम्मा गर्ने र बागमती पखाल्न पठाउने एक मात्र उद्देश्य देखिन्छ । त्यसका लागि यति धेरै खर्च र प्राकृतिक नोक्सानीको औचित्यमा प्रस्तावप्रति मन्त्रालय सन्तुष्ट छैन ।”

नागमती आयोजनाका प्रमुख जया सिंहले मन्त्रालयले फिर्ता गरेको इआइए प्रस्तावमा मागेका सुझाव समेटेर लैजाने गृहकार्य भइरहेको जानकारी दिनुभयो ।