पढ्न चाहनेले पढ्न उत्सुक हुनु पर्छ, विज्ञान बहुआयामिक विषय भएकाले पछिको भविष्य जहाँ गएर पनि अब्बल बनाउन सक्छन् । शैक्षिक करियरका लागि विज्ञान विषय बलियो जग हो । कक्षा १२ पछि विदेशमा पढ्न जान चाहन्छन् भने पढ्ने विज्ञान नै हो ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) पछि विज्ञान पढ्ने कि नपढ्ने ? आर्थिक अवस्थाले भ्याउँछ कि भ्याउँदैन भनेर धेरै विद्यार्थी अन्योलमा छन् । कतिपय साथीको लहैलहैमा लागेर विषय तथा कलेज छनोट गर्ने र पछि पछुताउने पनि गरेका पाइन्छन् । त्यसैले विज्ञान विषय विद्यार्थी र अभिभावकको रोजाइ बनाउने हो भने कलेज, अभिभावक र विद्यार्थीबिच सही परामर्श हुनु जरुरी रहेको शिक्षाकर्मी औँल्याउँछन् । त्यसका लागि सुरुवातमै विज्ञान विषय पढ्नुको उद्देश्य के हो भनेर बुझ्न जरुरी हुने माध्यमिक विद्यालय सञ्चालक सङ्घ (हिसान) अध्यक्ष तथा गोल्डेन गेट कलेजका सञ्चालक रमेश सिलवाल प्रस्ट पार्नुहुन्छ ।
उहाँका अनुसार वर्तमान विश्वको आवश्यकता भनेको विज्ञान र प्रविधि नै हो । त्यसैले त्यो जनशक्ति निर्माण गर्ने सुरुवाती समय नेपालमा भनेको एसइईपछिको पढाइ हो । विज्ञान भनेको व्यवस्थित अध्ययन हो । विज्ञान सत्यतथ्यमा आधारित रहेर अध्ययन गरिने विषय हो । कक्षा ११ देखि नै किन पढ्ने भन्ने सवालमा भोलि मास्टर्स, एमफिलदेखि पिएचडीसम्म विज्ञानका विभिन्न हाँगा समातेर अघि बढ्नका लागि पढ्ने हो । अर्को चाहिँ विद्यार्थी र अभिभावकको आकाङ्क्षा आफ्ना छोराछोरी डाक्टर, इन्जिनियर बनिदिऊन् भन्ने हुन्छ । त्यो पूरा गर्दै भविष्य सुनिश्चित गर्न विज्ञान पढ्ने हो । अन्य प्राविधिक क्षेत्र कृषि, वन तथा आइटीमा भविष्य बनाउन प्रमुख आधार पनि विज्ञान नै भएकाले यही विषयमा जोडबल गर्ने हो ।
विज्ञान पढेको विद्यार्थीले भविष्यमा अर्को विषय व्यवस्थापन र मानविकीमा जान्छु भन्यो भने पनि उसले पहिले त्यही विषय पढेकाले भन्दा राम्रो गरेर अघि बढ्न सक्ने सिलवाल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “विज्ञान पढेकामा सिस्टेमेटिक विश्लेषणको क्षमता बढी हुन्छ र नियमित पढ्ने तथा तथ्यसँग खेल्ने बानीको विकास हुन्छ, जुन भविष्यमा जाने पेसामा निकै सहयोगी हुन्छ ।” संसारमा हरेक विषय आफैँमा गाह्रो हुन्छ । तिनलाई कसरी सहज बनाउने भन्ने क्षमता विद्यार्थीले विज्ञानबाट राम्रो सिक्न सक्छन् ।
कतिपयले विज्ञान पढ्नु भनेको हिसाबका ठेली पढ्नु पर्छ भनेर अप्ठ्यारो मान्ने गरेको पाइन्छ तर उहाँ हिसाबलाई सबै विषयसँग जीवनमा जोडेर लैजानुपर्ने सुझाव दिनुहुन्छ । हिसाब त दैनिक जीवनमै कति गर्नु पर्छ । त्यसलाई अझ सजिलो विज्ञानको पढाइले बनाउँछ । अप्ठ्यारो लाग्यो भनेर व्यवस्थापन पढ्दा त्यहाँ पनि लेखाको हिसाब त पढ्नै पर्छ । त्यसैले बरु विज्ञानमै हिसाब पढ्दा भोलि व्यवस्थापनमा हिसाब गर्नै परे सजिलो बनाउने उहाँ बताउनुहुन्छ । अलिकति बढी मेहनत गर्नु पर्छ त्यत्ति हो । विज्ञान चाहिँ असाध्यै गाह्रो, हिसाब छुनै नसकिने, म्यानेजमेन्ट सजिलो भन्ने बजारको हल्ला सही नभएको तर्क सिलवाल गर्नुहुन्छ । गोल्डेन गेट कलेज आफैँमा विश्वविद्यालय बनाउने दिशामा अग्रसर भएकाले पनि नयाँ विद्यार्थीका लागि राम्रो अवसर प्रदान गर्ने मिसनका साथ अघि बढिरहेको उहाँले प्रस्ट्याउनुभयो । नेपालका उत्कृष्ट कलेजमध्ये उच्च २० भित्र गोल्डेन गेट कलेज पर्ने दाबी उहाँको छ ।
पिनाकल कलेजका प्राचार्य ऋषि तिवारीका अनुसार विज्ञान पढ्ने विद्यार्थीको पहिलो प्राथमिकता भनेको चिकित्सा शिक्षा र इन्जिनियरिङ हुन्छ । त्यसपछि कृषि विज्ञान, फरेस्ट्री, पारामेडिकल प्राथमिकतामा पर्छ । पछिल्लो समय विज्ञान पढ्ने विद्यार्थीको आइटी इन्जिनियरिङमा आकर्षण राम्रो छ । आइटी जुनसुकै विषयको उच्च शिक्षासँग मिसिएर जाँदा पनि सुनमा सुगन्ध जस्तै भएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विज्ञान विषय भनेको कस्तो हो भने भोलि यिनै विषयमा जानु पर्छ भन्ने छैन, जुन विषयमा पनि जान सकिन्छ ।” पछि इकोनोमिक्समा पनि जान सकियो, अरूमा गए पनि अब्बल नै हुन सकिन्छ । त्यसैले विद्यार्थीको राम्रो भविष्य बनाउनका लागि जता पनि जान सकिने ठाउँ हो ।
उहाँका अनुसार विज्ञान पढ्नेहरू विषयका हिसाबले दुई वटा समूहमा पढ्न सक्छन् । एउटा फिजिकल र अर्को भनेको बायोलोजिकल समूह हो । फिजिकल पढ्न चाहने विद्यार्थी प्रायः स्ट्रक्चरल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङमा राम्रो भविष्य बनाउन सक्छन् । यीबाहेक फिजिकलका पार्टहरू हुने सबैतिर जान पाउँछन् तर पढ्दा चाहिँ फिजिक्स र केमेस्ट्री सबैले पढ्नु पर्छ । विज्ञानमा म्याथ पनि अनिवार्य छ । त्यसमा पछिल्लो समय कम्प्युटर विषय पनि पढ्न पाइन्छ । यी माथिका विषयसँगै बायोलोजीसमेत लिएर पढ्ने विद्यार्थी बायोलोजिकल समूह हुन् । बायोलोजीसमेत लिएर पढ्ने विद्यार्थी भने इन्जिनियरिङसँगै मेडिकल, पारामेडिकल, इकोनोमिक्स, म्यानेजमेन्ट, फरेस्ट्री, एग्रिकल्चरलगायत सबैतिर जान पाउँछन् ।
विज्ञान पढ्नेहरू डाक्टर र इन्जिनियर मात्र बन्नु पर्छ भन्ने भ्रम रहेको औँल्याउँदै उहाँ भन्नुहुन्छ, “पढ्न चाहनेले पढ्न उत्सुक हुनु पर्छ, विज्ञान बहुआयामिक विषय भएकाले पछिको भविष्य जहाँ गएर पनि अब्बल बनाउन सक्छन् ।” शैक्षिक करियरका लागि विज्ञान विषय बलियो जग भएकाले नआत्ती पढ्न उहाँ सुझाउनुहुन्छ । प्लस टुपछि विदेशमा पढ्न जान चाहन्छन् भने पढ्ने विज्ञान नै हो । विदेशका युनिभर्सिटीमा अधिकांश पढाइने भनेको आइटी, होटेल व्यवस्थापन र व्यवस्थापनका विषय हुन् । त्यसका लागि अहिलेदेखि नै विज्ञान पढेर राम्रो गर्न सकियो भने विदेशी पढाइमा प्रतिस्पर्धी बनेर राम्रो गर्न सक्ने दाबी उहाँले गर्नुभयो । विदेशमा पढ्न जानेलाई एग्रिकल्चर, भेटेरिनरी आदि पढ्न पनि प्लस टुमा विज्ञान विषयको महत्व बढी रहेको छ । विज्ञानमा राम्रो छुटसहित छात्रवृत्तिको अवसर आफ्नो कलेजले दिएको उहाँले बताउनुभयो । फिल्ड भिजिट, राम्रो ल्याब र पुस्तकालयको सुविधा राम्रो रहेको जानकारी दिनुभयो ।
साउथ वेस्टर्न कलेजका सहायक प्राचार्य हरिसिंह केसी एसइईपछि कुनै अन्योलमा नपरी विज्ञान पढ्न विद्यार्थीलाई सुझाव दिनुहुन्छ किनभने विज्ञान विषय लिएर पढ्नेका लागि भविष्यमा धेरै थरीका पेसागत मार्ग खुला रहन्छ । उहाँका अनुसार विज्ञान पढेपछि मेडिकल डाक्टर पढ्छु भन्दा पनि भयो । इन्जिनियरिङका विभिन्न क्षेत्रमा पनि पढ्न सकियो । त्यति मात्र होइन, कृषि, वन विज्ञानसँगै व्यवस्थापन, शिक्षा, मानविकी जता गए पनि विज्ञान पढेकाले राम्रो गर्न सक्ने सम्भवना रहेको उहाँ बताउनुहुन्छ । विज्ञान एउटा प्राविधिक विषय पनि हो । उहाँले भन्नुभयो, “पढेर मात्र हुन्न, भोलि जागिर खाँदै पढ्नका लागि पनि विज्ञान पढेकाले छिटो त्यो अवसर पाउन सक्छन् । दुई वर्ष विज्ञान पढ्नु भनेको पढ्नु मात्र नभएर मेहनत गर्ने बानीको विकास गर्नु पनि हो ।” पढ्ने बानीसँगै मेहनत गरेर राम्रो गर्ने बानीको विकास पनि विज्ञानको पढाइले गराउँछ । टिन एजका विद्यार्थीको मन चञ्चल हुन्छ । समय अन्यत्र फालेर पढाइमा कम समय दिने र बरालिने चरित्र रोक्न पनि विज्ञान विषयको पढाइले सघाउँछ । उच्च शिक्षाका लागि बाहिर जान्छु, त्यसका लागि बरु अहिले मेहनत गर्छु भन्नेका लागि विज्ञान विषय वरदान सरह भएको उहाँको दाबी छ । केसीले थप्नुभयो, “विदेशी विश्वविद्यालयले लैजाने भनेको राम्रो विषय, राम्रो जिपिएसहितका मेहनती र क्रिम विद्यार्थी नै हुन्, त्यसैले त्यो बानी र मेहनत विज्ञान विषयले सिकाउँछ ।” विज्ञान पढ्न चाहने विद्यार्थीका लागि उहाँको कलेजले मेरिटका आधारमा र सरकारी विद्यालयबाट आउन चाहने र राम्रो गर्न सक्छु भन्ने इच्छाशक्ति भएका विद्यार्थीलाई राम्रो छात्रवृत्तिको अवसर प्रदान गरिरहेकोे जानकारी दिनुभयो ।
विद्यार्थीलाई दबाब दिनुहुन्न : सिलवाल
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) का अध्यक्ष रमेश सिलवालका अनुसार एसइई दिएर बसेका विद्यार्थी काँचो माटो सरह हुन् । उनीहरूको उमेर, सोच र शारीरिक संरचना यतिखेर जता ढाल्दा पनि ढल्कने अवस्थाको हुन्छ । उहाँले भन्नुभयो, “उमेर नै टिनएजर अर्थात् जता मर्काए पनि मर्किन सक्ने उमेर । यस्तोमा अभिभावकले बुझेर अनि आफ्ना बालबालिकालाई बुझाएर भविष्य सुदृढ बनाउनेतिर लाग्नु पर्छ ।” उनीहरूको रुचि के छ, क्षमता र सिप के छ वा बुझेर वा नबुझेर कुन विषय पढ्न खोजेको छ भन्ने कुरा पहिले अभिभावकले थाहा पाउनु पर्छ । यी सबै कुराको विश्लेषण गरेर त्यो पढ्न दिनु पर्छ । नेपाली समाजमा पढ्नका लागि जबरजस्ती दबाब दिने संस्कार छ । त्यो गलत रहेको उहाँको ठहर छ । उहाँले भन्नुभयो, “यो विषयमा म चाहिँ खुसी छु किनभने मेरो विद्यालयमा चार जिपिए ल्याएका पाँच जना व्यवस्थापनमा भर्ना भए । जसमध्ये तीन जनाको बाबुआमा डाक्टर, इन्जिनियर पढाउन खोज्ने थिए । अरू दुई जना चाहिँ व्यवस्थापन नै पढाउन राजी भएका अभिभावक थिए ।”
विद्यार्थीको चाहना अभिभावकले पनि बुझ्नु पर्छ । उहाँका अनुसार जसरी राष्ट्र बैङ्कको गभर्नर हुन इकोनोमिक्स अथवा व्यवस्थापनको ज्ञाता हुनु पर्छ । उहाँले भन्नुभयो, “राष्ट्र बैङ्कको गभर्नर एउटा डाक्टर वा इन्जिनियर बन्न सक्दैन, राष्ट्रिय योजना आयोगमा उसले विश्लेषण गर्न सक्दैन, वित्तीय विश्लेषण गर्न पनि सक्दैन, बैङ्कको सिइओ हुन सक्दैन, अर्थ मन्त्रालय समाल्न सक्दैन ।” उता व्यवस्थापन पढेकाले बिरामीको उपचार गर्न सक्दैनन् । सहर र घर बनाउन सक्दैनन् । त्यसैले कुनै पनि विषय आफैँमा सानो वा ठुलो हुँदैन तर जुन विषय रोजेको छ त्यसमा कमान्डिङ चाहिँ हुनु पर्छ ।
अहिलेको शिक्षा क्षेत्रले कुन उद्देश्यका निम्ति कलेज खोलेको हो । त्यसको विगत र आगत बुझेर कलेज छान्नु पर्छ । चार/पाँच वर्ष चलाउँछु, अलिकति पैसा आयो भने बेचेर जान्छु भन्ने कलेजमा भर्ना हुनुहुँदैन । उहाँका अनुसार शिक्षा भनेको कोर्स बुक पढ्नु र नम्बर ल्याउन मात्र पढ्नु होइन । पढेपछि ज्ञान हुनु पर्छ । त्यतिले मात्र पुग्दैन, विवेक, संस्कार, सिपसँगै राष्ट्रभक्ति पनि विद्यार्थीमा चाहिन्छ । नेपालमा पनि तिम्रो भविष्य छ भनेर कलेजहरूले अहिलेको पुस्ताका विद्यार्थीलाई उत्साहित बनाउनु पर्छ । कक्षामा पढाउँदा विद्यार्थीकेन्द्रित अन्तव्रिर्mया हुनु पर्छ । अहिलेको शिक्षा शिक्षककेन्द्रित छ, त्यो बदल्नु पर्छ । अरू बेला शिक्षक बढी बोल्ने, विद्यार्थीले परीक्षामा मात्र पढ्ने चलन हटाउनु पर्छ ।
त्यति मात्र होइन, जीवन कसरी जिउने भनेर जीवन जिउने कला पनि सिकाउनु पर्छ । त्यसैले शैक्षिक संस्थाहरूले पनि पढाइबाहेक मानव जीवनलाई चाहिने खेलकुद, गीतसङ्गीत, कला संस्कृति र समुदायमा घुलमिल हुने क्रियाकलापलाई पनि ध्यान दिन जरुरी छ । सबैभन्दा बढी विदेशमा पलायन हुने मात्र हैन, कर्मभूमि नेपाललाई बनाउने खालको वातावरण बनाउन जरुरी छ । नेपालको शिक्षालाई अन्तर्राष्ट्रिय जगत्मा प्रतिस्पर्धी बनाउने गरी अघि बढाउनुपर्नेमा उहाँ जोड दिनुहुन्छ । विद्यार्थी बिदाको दिन पनि कलेज आयो भने बुझ्नुस् त्यहाँको पढाइ राम्रो छ । घिच्याएर र बाध्य बनाएर कलेज जानु प¥यो भने वा विद्यार्थी बेखुसी भयो भने त्यो कलेज राम्रो हुँदैन । त्यसैले विद्यार्थीलाई खुसी बनाउनु, पढाउने होइन, पढ्ने बनाउनु र विश्लेषण गर्न सक्ने बनाउनु कलेजहरूको जिम्मेवारी हो ।