• ६ जेठ २०८१, आइतबार

एक सहिदको विज्ञप्ति (कविता)

blog

जुन दिन जल्लादहरूले

मेरो घाँटीमा फाँसीको फन्को लगाएर

आफ्नो गलामा नरमुण्डमाला सजाए

ठिक त्यही दिन

धर्ती उन्मुक्त भएर हाँसेको थियो

आकाश नटराज भएर नाचेको  थियो

धर्ती हासिरहँदा 

मेरी अर्धाङ्गिनी

अर्धमूच्र्छित अवस्थामा थिईन् 

आकाश नाचिरहँदा 

मेरो छोरो 

आकाश हेर्दै एकोहोरो टोलाइसकेको थियो

प्राण उड्दै गर्दा

यस कारण भुवा झैँ हलुका महसुस गरेको थिएँ कि

अब होसमा आएपछि पत्नीले

राज्य सत्ताको बुट खाएर बेहोस हुनु पर्दैन

आँखा धर्तीमा सोझिएपछि छोराले

‘खस्ला र खाऊँला’ भनेर आकाश ताक्नु पर्दैन

जब  दुर्घटनामा मरेकाहरू पनि सहिद भनिन थाले

जब भिरबाट लडेकाहरू मेरै कित्तामा गनिन थाले

म स्वर्गमा पनि त्यही मुद्दाका विरुद्ध लडेँ

र फेरि पनि सहिद भएँ छाती थापेर

म धर्तीको सहिद र स्वर्गको पनि सहिद

तर मैले सोचेको कतै केही भएन

म झुन्डिएको रुख थारो बस्यो

मेरो सपनामाथि तुसारो खस्यो

अब मान्छे हुन पाए

म कहिल्यै सहिद हुने थिइनँ

म आगो पिएर भए पनि बाँच्ने थिएँ

जसरी अरू बाँचेका छन् 

म काँडाको तरेलीमा पनि नाच्ने थिएँ

जसरी अरूहरू नाचेका छन् 

मलाई सहिद गेटबाट हटाऊ

इतिहासका दस्ताबेजहरूबाट थुत

मलाई पाठ्यपुस्तकका पानामा च्यापिएर बस्नु छैन

सन्तानको नजरबाट ‘नालायक’भएर खस्नु छैन

भत्काइदेऊ सालिक

छाड गफ चुट्न ‘सहिद सप्ताह’को

म कुनै बेला बुद्धू भएर मरेँ होला

अब बुद्धिमान भएर बाँच्न चाहन्छु ।