• १० मंसिर २०८१, सोमबार

रमणीय गन्तव्य कोन्ज्योसोम

blog

ललितपुरको लगनखेल, सातदोबाटो, चापागाउँ हुँदै २५ किलोमिटरमा पुगिने कोन्ज्योसोमले ‘सङ्घीय राजधानीको दुर्गम’ नामको पीडा वर्षौं खेप्यो तर यतिखेर कन्ज्योसोम ‘सङ्घीय राजधानीको दुर्गम’ हैन, घुमघाम गर्ने नजिकको रमाइलो गन्तव्यका रूपमा स्थापित हुन पाएको छ । तामाङ समुदायको स्वागत र सत्कारले कोन्ज्योसोम आउने पर्यटकलाई मोहित बनाउँछ । करुवाको पानी मयूरको प्वाँखले छम्किएपछि मात्रै खानेकुरा खानुपर्ने संस्कार छ । यो आफैँमा अनौठो चलन हो ।

यसरी यहाँ मानव जीवनका लागि अत्यावश्यक खाना र भगवान्प्रतिको उच्च सम्मान देखिन्छ । मनमोहक डाँडाकाँडामा बसेका तामाङ बस्तीले यहाँ आउने पाहुनालाई मनग्गे सत्कार र परिकार पस्कन्छन् । कोन्ज्योसोम प्रतिमा र तामाङ सङ्ग्रहालय पर्यटकका मुख्य आकर्षक छन् । करिब १० हजार जनसङ्ख्या रहेको कोन्ज्योसोम पाँच वटा वडामा प्रशासनिक रूपले विभाजित छ ।

अनौठो कोन्ज्योसोम

धेरैलाई ‘कोन्ज्योसोम’ नाम उच्चारण गर्न नै निकै कठिन लाग्न सक्छ । ललितपुर जिल्लाका छ स्थानीय तह एक महानगरपालिका (ललितपुर), दुई नगरपालिका (महालक्ष्मी र गोदावरी), तीन गाउँपालिका (महाकाल, बाग्मती र कोन्ज्योसोम) मध्येको कोन्ज्योसोम एउटा महìवपूर्ण गाउँपालिका हो । कुनै बेला ‘राजधानीको दुर्गम’ नामले चिनिने यो गाउँपालिकाले आफ्नै ऐतिहासिक तथा सांस्कृतिक पहिचान प्राप्त गरेको छ । साबिक नल्लु, भारदेउ, चौघरे, शङ्खु र दलचौकी गाविस मिलाएर कोन्ज्योसोम गाउँपालिका बनेको हो । यस गाउँपालिकामा बसोबास गर्ने मानिसको मुख्य पेसा कृषि हो । यो ठाउँ हरियाली अग्ला पहाडहरूले घेरिएकाले प्राकृतिक हिसाबमा सुन्दर र मनोरम दृश्यहरूको मज्जा लिन सकिन्छ । 

कोन्ज्योसोमको पहिचान

भोट बर्मेली भाषा परिवारसँग सम्बन्धित तामाङ भाषा अन्तर्गत बौद्ध सभ्यताको पहिचान कोन्ज्योसोमको अन्तरङ्ग चिनारी हो । बौद्ध दर्शनमा बुद्ध रत्न, धर्म रत्न र सङ्घ रत्नलाई तीन रत्न वा मार्ग भनिन्छ । बौद्ध सभ्यतामा सङ्घको स्थान अत्यन्तै महìवपूर्ण हुन्छ । बुद्धत्व प्राप्तिका लागि धर्म रत्नको अनुसरण र अभ्यास गर्ने अनुयायीहरूको समूहलाई बौद्ध सङ्घ भनिन्छ । सामान्यतया यी तीन रत्नलाई शरण स्थानको केन्द्रबिन्दुमा स्वीकार गरी शरणगमन शील तथा पञ्चशील पालना गर्ने व्यक्तिहरूको समूह मात्र बौद्ध सङ्घमा समाहित हुन्छन् । बौद्ध सभ्यताको यसै नामबाट गाउँपालिकाले पहिचान पाएको छ । तामाङ भाषामा कोन्ज्यो भनेको रत्न र सोम भनेको तीन हो । कोन्ज्योसोमलाई त्रिरत्न पनि भन्न सकिन्छ । ७५.७८ प्रतिशत तामाङ समुदायको बसोबास रहेको कोन्ज्योसोममा संविधानको मर्म अनुसार पहिचानको नाम राखिएको छ ।

कृषि परियोजना

संविधानले स्थानीय तहको अधिकारको अनुसूची– ८ को बुँदा १५ मा कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन र बुँदा १८ मा कृषि प्रसारको व्यवस्थापन र नियन्त्रणको अधिकार दिएको छ तर कतिपय पालिका यी अधिकारसँग बेखबर जस्तै छन् तर कोन्ज्योसोमले यी अधिकारको प्रयोग गर्न खोजेको छ । कृषिको एउटा विधामा मात्र बहस केन्द्रित गर्ने हो भने मात्र पनि कोन्ज्योसोमले प्रगति पथतर्फ लम्किने लक्ष्य केन्द्रित गरेको छ । 

यतिखेर राजधानीमा करिब १८ हजार लिटर दुध आपूर्ति गर्न कोन्ज्योसोम सक्षम भइसकेको छ । भैँसीपालन परियोजना सम्पन्न भइसकेपछि यसको परिणाम एउटा सार्थक प्रयास अन्तर्गत हुने नै छ । भैँसी परियोजनालाई स्थायित्व दिनलाई पालिकाले अगाडि सारेको बिमा अनुदान एउटा नमुना हो । पालिकामा भैँसीको मूल्य डेढ लाख रुपियाँ निश्चित गरिएको छ । मूल्य निश्चित गरिएकाले यसमा आउने बिमामा खेलेर कमाउ धन्दालाई निषेध भएको छ । नेपाल सरकारबाट प्राप्त हुने अनुदानबाट ८० प्रतिशत, पालिकाबाट १० प्रतिशत र किसानले १० प्रतिशत प्रिमियम तिर्नु पर्छ । 

गाउँपालिकाभित्र रहेका अधिकांश पशुमा गरिएका पशु बिमाका कारण १४ करोड रुपियाँ बराबरको पशु पुँजी सुरक्षित भएको, उन्नत जातका गाई, भैँसी, बाख्रा, बोकापालनमा दिइएको अनुदान, भकारो सुधारमा दिइएको अनुदान सहयोगका कारण दुग्ध उत्पादनमा उल्लेख्य वृद्धि हुनुका साथै खसी, बोका उत्पादनमा वृद्धि भई कृषकको आर्थिक जीवनस्तरमा रूपान्तरण भई गरिबी निवारणमा भरथेग गरेको छ । चौघरे, शङ्खु र दलचौकी पशुपालनका लागि पकेट क्षेत्र निर्धारण गरिएको छ । यसरी कृषि विधाको एउटा क्षेत्र मात्र हैन, कृषि पकेट कार्यक्रम अन्तर्गत मकै, फलफूल, चिया, किवी आदिको छुट्टै पकेटको सफलतासँगै यहाँको जनजीविकामा एउटा परिणाम ल्याउने कुरामा विश्वास लिन सकिन्छ ।

एक स्कुल : एक नर्स

संविधानले व्यवस्था गरे अनुसार आधारभूत माध्यमिक शिक्षा संविधानमा भएको स्थानीय तहको अधिकारको सूची नं. ८ को बन्दोबस्त गर्ने अधिकार स्थानीय तहको हो, धेरै स्थानीय सरकार यो विषयमा उदासीन छन् तर कोन्ज्योसोमले यो अधिकारलाई भरपुर उपयोग गर्न खोजेको छ । विगतमा १७ वटा सामुदायिक विद्यालयमा रहेको लथालिङ्ग परिपाटीलाई अन्त्य गर्दै पालिकाले शिक्षाको क्षेत्रमा लगेको कार्यक्रम पनि उल्लेखयोग्य छ । यसमध्ये छ वटा माध्यमिक विद्यालयलाई एकीकरण र भौतिक सुधार गर्दै तीन वटा स्कुलमा कक्षा १२ सम्म र प्राविधिक शिक्षालयतर्फ कक्षा १२ सम्मको कृषि तरकारी बाली विषय पठनपाठनको व्यवस्था छ तर राज्यले स्थानीय तहलाई आधारभूत शिक्षा सञ्चालन गर्ने पूर्ण स्वायत्तता अझै दिएको छैन । सबैभन्दा संवेदनशील कुरा त प्रत्येक स्कुलमा एक जना नर्सको व्यवस्थापन गरेर विद्यार्थीको दैनिक स्वास्थ्यलाई हेरविचार गरिएको छ । 

शिक्षाको क्षेत्रमा कोन्ज्योसोमको यो कार्यक्रम बाँकी पालिकाले अनुसरण गर्नु पनि त्यत्तिकै लाभदायक हुने छ । २०७८ सालको शैक्षिक सत्रदेखि स्थानीय तामाङ भाषामा पठनपाठन सुरु गरी हाल कक्षा ३ सम्म सबै विद्यालयमा पढाइ भइरहेको छ । पालिकाले शिक्षाको बृहत् विकासका लागि २०७९ माघमा कोन्ज्योसोम गाउँपालिकाको गाउँपालिका शिक्षा ऐन, स्थानीय राजपत्रमा प्रकाशितसमेत गरेको छ ।

जनस्वास्थ्यमा अब्बल

संविधान अनुसार स्थानीय तह अधिकारको सूची (बुँदा–९) अन्तर्गत आधारभूत स्वास्थ्य र सरसफाइ स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्छ । यो अधिकारलाई उपयोग गर्दा नै जनस्वास्थ्यको व्यवस्था हुने हो । यस क्रममा कोन्ज्योसोम पालिकाले पाँचै वडामा हेल्थ पोस्ट र केन्द्र सरकारले निःशुल्क उपलब्ध गराएका ९८ प्रकारका औषधीमा थप १७ प्रकारका औषधी थपेर निःशुल्क वितरण गर्ने गरेको अध्यक्ष कृष्णमान लामा बताउनुहुन्छ । उहाँका अनुसार नेपाल सरकारको सहयोगमा शङ्खुमा १० शय्या क्षमताको अस्पताल निर्माणाधीन छ । स्वास्थ्य सरसफाइको क्षेत्रमा महिलाका लागि निशुःल्क सेनेटरी प्याड वितरण गर्ने गरिएको छ ।

धार्मिक पहिचान

कोन्ज्योसोम–५, भारदेउको गुप्तेश्वरी सामुदायिक वनस्थित फूलबारी डाँडामा कोन्ज्योसोम प्रतिमा छ । यो मन्दिर मात्र होइन, राजधानीनजिक रहेको गाउँपालिकालाई प्रकृतिले अनुपम उपहार दिएको छ । हराभरा जङ्गल, थरीथरीका वनस्पति, जीवजन्तु, जडीबुटी अनि सांस्कृतिक र धार्मिक पहिचानले भरिपूर्ण छ ।

गाउँपालिकाका निवर्तमान अध्यक्ष गोपिलाल सिंतानद्वारा कोन्ज्योसोम प्रतिमा स्थापना गरिएको स्थानीयवासी बताउँछन् । कोन्ज्योसोम प्रतिमा निर्माणको अवधारणा सिंतान आफैँले लिएका हुन् । कोन्ज्योसोम गाउँपालिका ललितपुरको अग्लो स्थानमा छ । स्वयम्भूमा रहेको बुद्धको मूर्ति ४६ फिटको छ भने कोन्ज्योसोममा रहेको तीन बुद्धको मूर्तिमध्ये बिचको मूर्ति ५६ फिटको छ । यसै गरी दायाँबायाँ ५२ फिटको बुद्धको मूर्तिको निर्माण गरिएको छ ।

यो गाउँपालिकामा रहेको नल्लु भन्ज्याङबाट उपत्यकाको दृश्य एकटकले अवलोकन गर्न सकिन्छ । ताप्लेजुङबाट प्रतिमा ल्याएर स्थापना गरिएको पाथीभरा मन्दिर यही भन्ज्याङमा छ । हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र रहेको यो मन्दिर दर्शन गर्नेको उत्तिकै भिड हुन्छ । काठमाडौँ उपत्यकाका अग्ला स्थान फूलचोकी, दलचोकी हुन् । नयाँ वर्ष, शनिबार र अन्य विशेष तिथिमा यहाँ पर्यटकको बाक्लो नै उपस्थिति हुन्छ । नयाँ वर्षमा पाथीभरा मन्दिर र मनकामना मन्दिरमा विशेष मेला लाग्छ । कोन्ज्योसोम विभिन्न धार्मिक स्थल कोन्ज्योसोम प्रतिमा र प्राचीनकालको गुप्तेश्वर मन्दिर, पाथीभरा मन्दिर, मनकामना मन्दिर, भ्यु टावर, सङ्खु कृष्ण प्रणामी मन्दिर, चौघरे गुम्बा र भारदेउको भालेश्वर मन्दिर हुन् । 

कोन्ज्योसोम प्रतिमा निर्माणस्थलदेखि दलचोकी भ्यु टावर हुँदै तीनपाने भञ्ज्याङसम्म साइकल लेन निर्माण गरी एकीकृत पर्यटकीय गन्तव्य बनाउन पर्यटन गुरुयोजना बनाई आवश्यक होटल, रेस्टुराँ, विश्रामस्थल, शान्तिपार्क र मनोरञ्जन पार्क निर्माण कार्य अगाडि बढेको छ ।

निष्कर्ष

उपत्यकाभित्रकै जिल्ला भएर पनि ललितपुरमा प्रशस्त ग्रामीण बस्ती छ । ललितपुर जिल्लाको दक्षिणी भेक प्रकृतिको अनुपम सौन्दर्यले भरिपूर्ण छ । फूलचोकीनजिकै रहेको फूलबारी डाँडासम्मको पद यात्रा नै रमणीय हुन्छ । यो डाँडामा बर्सेनि भारी हिमपात हुने गर्छ । सुन्दर दृश्य त छँदै छ । धुलो, धुवाँ, निस्सासिँदो काठमाडौँ उपत्यकाबाट गाउँतिर लाग्दा मनै फुरुङ हुन्छ । हरियो डाँडाकाँडा, पाखापर्वत, भ्यु टावर, नयाँ संरचनाले मन लोभ्याउँछ । गाउँपालिकाको मुख्य उद्देश्य नै कोन्ज्योसोमलाई पर्यटकीय केन्द्र बनाउने हो । यहाँ रहेको धार्मिक पर्यटन, कृर्षि पर्यटनसँगै प्राकृतिक पर्यटनलगायत गाईभैँसीको दुध, अर्गानिक तरकारी, फलपूmल आन्तरिक पर्यटनलाई लोभ्याउने साधन बनेका छन् । 

हरेक शुक्रबार, शनिबार, सार्वजनिक बिदाका दिन अनि विशेष तिथिमा आन्तरिक र बाह्य पर्यटकले दल्चोकीका होमस्टे भरिभराउ हुन्छन् । यहाँ आउने पर्यटकलाई दुध, कुराउनी, खुवा जस्ता परिकारले स्वागत गर्छ । गाउँले रहनसहन अर्काे थप आकर्षण हो । पर्यटकले कुनै वडामा पनि घरवास र होटल नभएकै कारण बास बस्ने सुविधाबाट वञ्चित हुनु पर्दैन । कृषि, स्वास्थ्य र शिक्षामा गाउँपालिकाले निर्वाह गरेको भूमिकाले कोन्ज्योसोमलाई अगाडि ल्याउने हरप्रयत्न गरेको छ । गाउँपालिकामा खेती गर्ने जमिन सीमित छ । अधिकांश भिरालो भूभागमा खेतीपाती हुँदैन तर मोटर बाटो पुगेकाले यो क्षेत्रका डाँडाकाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिन्छ । 

Author

रामहरि कार्की