• १३ साउन २०८१, आइतबार

सात पत्रकार सम्मानित

मिडिया विधेयक मिडियामैत्री आउने : मुख्यमन्त्री पाण्डे

blog

कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे । तस्बिर : रमेश पौडेल

रमेश पौडेल

पोखरा, माघ १२ गते । नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको पत्रकारिता पुरस्कार अर्पण समारोहमा सात जना पत्रकार सम्मानित हुनुभएको छ । 

शुक्रबार महासंघको सभाहलमा भएको कार्यक्रममा कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मानित सबै पत्रकारलाई बधाई दिँदै पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउनुपर्ने आवश्यकतालाई औंल्याउनुभयो । 

गण्डकी प्रदेशको मिडिया विधेयक मिडियामैत्री नै आउने बताउनुहुँदै मुख्यमन्त्री पाण्डेले अबको हिउँदे अधिवेशनमा विधेयक पारित हुने उल्लेख गर्नुभयो ।

सामाजिक सञ्जालका कारण मूलधारका मिडियालाई प्रभाव पारिरहेको बताउनु हुँदै उहाँले मूलधारका मिडियाले नै सामाजिक सञ्जाललाई सही बाटोमा ल्याउनुपर्ने बताउनुभयो । ‘सामाजिक संजालले जनमत सिर्जना गरेको छ, त्यो सकारात्मक हुनुपर्छ’, उहाँले थप्नुभयो ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले पत्रकारिता क्षेत्रको श्रीवृद्धिका लागि महासंघ क्रियाशिल रहेको बताउनुहुँदै पत्रकार महासंघ कास्कीले प्रदान गर्दै आएको पुरस्कारले पत्रकारिता क्षेत्रमा लागेकाहरुलाई प्रोत्साहन मिल्ने बताउनुभयो ।  

सम्मानितहरुको तर्फबाट बोल्नुहुँदै कुलचन्द्र न्यौपानेले पत्रकार महासंघ कास्कीले आफूसहित ७ जना पत्रकारलाई सम्मान गर्दा पत्रकारिता क्षेत्रमा अझै क्रियाशिल भएर लाग्न प्रेरित गरेको बताउनुभयो ।


सम्मानित भएका व्यक्तिहरुको विषयमा पत्रकार महासंघ कास्कीका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले सम्मानित सबै पत्रकारको परिचय खुलाउनु भएको थियो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता तिमल्सिना पंगेनी लगायतले पत्रकारिता क्षेत्रको बारेमा आ–आफ्नो भनाई राख्नुभएको थियो । 

कार्यक्रममा गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारिता पुरस्कार २०७९ बाट कुलचन्द्र न्यौपाने (कान्तिपुर) र २०८० बाट ओम हमाल (जनसंचार) सम्मानित हुनुभएको छ । यो पुरस्कारको राशी नगद २५ हजार रुपैयाँ रहेको छ । 

आर्थिक पत्रकारिता पुरस्कार २०७८ बाट टंकराज अधिकारी (नेपाल समाचार पत्र) र उहाँसंगै दिनानाथ बराल (कारोबार दैनिक) लाई आर्थिक पत्रकारिता पुरस्कार २०७९ बाट सम्मान गरिएको हो । सो पुरस्कारको राशी नगद २० हजार रुपैयाँ रहेको छ । 

यस्तै टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार २०७९ बाट सन्देश श्रेष्ठ (नागरिक र एभरेष्ट एफएम ) र २०८० प्रकाश ढकाल (आदर्श समाज) नगद राशी २० हजार १ सय ११ रुपैयाँसहित सम्मानित हुनुभएको छ । 

२० हजार ५ सय ५५ रुपैयाँ राशीको जगन्नाथ सिग्देल युवा प्रोत्साहन पुरस्कार २०८० बाट कृपा भण्डारी (समय समाचार डट कम)  पुरस्कृत हुनुभएको छ ।