काठमाडौँ, माघ १२ गते । नेपाल वायुसेवा निगमले सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्लामा चाँडै उडान गर्ने भएको छ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग रक्षा मन्त्रालयमा कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितको निगमको टोलीले शुक्रबार छलफल गरेको छ ।
छलफलका क्रममा उपप्रधानमन्त्री खड्काले सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्ला जुम्ला, हुम्ला, सिमिकोट, ताल्चा, डोल्पालगायतका गन्तव्यको उडान प्रारम्भ गर्न प्राथमिकता दिएर चाँडो भन्दा चाँडो काम गर्न आग्रह गर्नुभयो।
छलफलमा नेपाल वायुसेवा निगमका अध्यक्षसहित सुर्खेतबाट हवाई सेवा दिने व्यवस्था मिलाउन गठित समितिका पदाधिकारीको समेत सहभागिता थियो।
छलफलमा उपप्रधानमन्त्री खड्काले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट अन्य जिल्लामा हवाई सेवा दिने नेपाल एयरलाइन्सको दीर्घकालीन व्यावसायिक योजनामा आफ्नो, सङ्घीय सरकार र प्रदेश सरकारको साथ, सहयोग र समर्थन रहेको बताउनुभयो ।
नेपाल वायुसेवा निगमका अधिकारी र उपप्रधानमन्त्री खड्काबिच चाँडै सुर्खेतबाट हवाई सेवा सुरु गर्न र त्यसको तयारीको लागि सुर्खेतमा नेपाल एयरलाइन्सको कार्यालय यथाशीघ्र स्थापना गर्ने विषयमा समेत छलफल भएको थियो।
उपप्रधानमन्त्री खड्कासँगको छलफलको क्रममा गठित समितिका सदस्य सचिव दीपेश पुनले माघभित्र तयारी पूरा गरी फागुनदेखि सुर्खेतबाट उडान गर्ने लक्ष्यका साथ काम अघि बढाउने बताउनुभयो।
सो अवसरमा उपप्रधानमन्त्री खड्काले निगमलाई हाल उपलब्ध सबै विमान उपयोग गरेर देशभित्र र विश्वका विभिन्न गन्तव्यहरूमा उडान विस्तार गर्न रणनीतिक योजनाका साथ अघि बढ्न सुझाव दिनुभयो ।