• १३ साउन २०८१, आइतबार

कमला पुल पुनर्निर्माण हुँदै

blog

भासिएको कमला पुलको पुनर्निर्माण गर्दै कामदारहरू । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केवर, माघ १२ गते । हुलाकी सडकअन्तर्गत धनुषा र सिराहा जोड्ने कमला नदीमा भासिएको पुलको पुनर्निर्माणकाे काम सुरु गरिएको छ । माघ २ गतेदेखि नै पुनर्निर्माणकाे काम सुरु गरिएको भएपनि निर्माण कम्पनीले शुक्रबारदेखि कामको गति बढाएको हो । 

असार अगावै पुल सञ्चालन गर्नेगरी पुनर्निर्माणकाे काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुर र पुल निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’बिच असार अगावै पुल सञ्चालनमा ल्याउने गरी सम्झौता भएको छ ।

सम्झौता अनुसार भासिएको कमला पुलको पुनर्निर्माण काम तीव्रताका साथ भइरहेको निर्देशनालयका योजना प्रमुख कृष्णकुमार महतोले बताउनुभयो । पुल पुनर्निर्माणमा कार्ययोजना अनुसार तोकिएकै समयमा पुलको निर्माण कार्य सम्पन्न हुने उहाँले जानकारी दिनुभयो ।  

कमला पुल निर्माण कम्पनीका ‘साइट इन्चार्ज’ सुदीप थापाका अनुसार वर्षा सुरु भएसँगै रोकिएको पुल पुनर्निर्माण काम गत मङ्सिरबाटै सुरु भएपनि आर्थिक सङ्कटका कारण सुस्त थियो । “भासिएको ठाउँमा दुई पायल राख्नेगरी फाउन्डेसन र पाइलिङको काम भइरहेको छ, बिमाबाट प्राप्त गर्नुपर्ने रकम रोकिएकाले आर्थिक सङ्कट हुन गएकाले निर्माण कार्य ढिला हुन गयो”, थापाले भन्नुभयो, “अब यो कार्ययोजना सम्झौताले पुल पुनः निर्माणमा तीव्रता दिने विश्वास लिएको छु ।”

२०६८ मा तीन वर्षभित्र पुल निर्माण गरिसक्ने गरी निर्माण कम्पनी ‘पप्पु कन्स्ट्रक्सन’ सँग सम्झौता गरिएको थियो । पटक–पटक म्याद थपेर करिब १० वर्षपछि ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भएर उद्घाटनको तयारी गरिरहेकै बेला २०७८ असार र कात्तिकमा आएको बाढीले पुल भासिएपछि निर्माणको काम तत्काललाई अनिश्चित भएको थियो । 

पुल निर्माणमा कम्पनीको लापरबाही देखिएपछि निर्माण कम्पनी ‘पप्पु कन्स्ट्रक्सन’ लाई हटाएर ‘लुम्बिनी बिल्डर्स’लाई काम सम्पन्न गर्ने जिम्मेवारी दिइएको थियो । यही बिचमा वि.सं.२०७९ चैत १५ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका बेला वर्तमान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्राविधिक टोलीसहित स्थलगत निरीक्षणपछि एक सातामा पुलको पुनर्निर्माण कार्य सुरु गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको थियो । 

मधेश प्रदेशको राजधानी जनकपुरधामसँग जोड्ने छोटो दूरीको राष्ट्रिय गौरवको आयोजना हो । यस लोकमार्ग अन्तर्गत कमला पुल समयमा नबन्दा वर्षौँदेखि स्थानीय सास्ती खेप्न बाध्य छन् ।