• १३ साउन २०८१, आइतबार

बर्दिया निकुञ्जमा पर्यटक आगमनमा उल्लेख्य वृद्धि

blog

बाघ अवलोकनका लागि प्रमुख मानिएको बर्दिया राष्ट्रिय निकुञ्ज ।

सिराज खान 

नेपालगन्ज, माघ ८ गते । बाघ अवलोकनका लागि नेपालकै प्रमुख मानिने बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा ह्वात्तै वृद्धि भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८०-८१ को ६ महिनामा नेपाली र विदेशीसहित १४ हजार ६५८ जनाले निकुञ्ज अवलोकन गरेका छन् । 

यही अवधिमा गत वर्ष नौ हजार ६९३ जनाले मात्र निकुञ्ज अवलोकन गरेका थिए । गत वर्षको तुलनामा यो वर्ष पाँच हजार भन्दा बढी पर्यटक आएकोले बर्दियाका पर्यटन व्यवसायी उत्साहित भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख डा. अशोक कुमार रामले बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म आन्तरिक पर्यटक ११ हजार ३९, सार्क देशका ७६०, तेस्रो देशका दुई हजार ८५९ जना पर्यटकले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन् । 

यही ६ महिनाको अवधिमा गत आर्थिक वर्षमा ६ हजार ५४१ आन्तरिक, ५०१ सार्क देशका र तेस्रो देशका दुई हजार ६५१ गरेर जम्मा ९ हजार ६९३ जना पर्यटक भित्रिएका थिए । गत वर्षभन्दा यसपटक सार्क र तेस्रो देशका पर्यटकको सङ्ख्यामा थोरै वृद्धि भएपनि आन्तरिक पर्यटकको सङ्ख्यामा भने करिब दोब्बरले वृद्धि भएको निकुञ्जले जनाएको छ । 

बर्दिया राष्ट्रिय निकुञ्ज बाघ अवलोकन र संरक्षणका लागि प्रख्यात छ । पूर्णतया तराई क्षेत्रमा रहेको यस राष्ट्रिय निकुञ्ज स्थापनाको प्रमुख उद्देश्य नै बाघको संरक्षण भएपनि हात्ती, गैँडा, बाह्रसिङ्गा, घडियाल गोही, डल्फिन जस्ता लोपोन्मुख वन्यजन्तुहरू यहाँ संरक्षित रहेको निकुञ्जका प्रमुख रामले बताउनुभयो । उहाँले बाघ लगायत बर्दिया निकुञ्जमा तिनै लोपोन्मुख वन्यजन्तु हेर्न धेरै टाढा टाढाबाट आन्तरिक र विदेशी पर्यटक पुग्ने गरेको बताउनुभयो । 

बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय रहेको ठाकुरद्धाराका पर्यटन व्यवसायी होटल सञ्चालक मोहन चौधरीले पर्यटकको सङ्ख्या बढ्दै गएकोले उत्साहित बनाएको बताउनुभयो । उहाँका अनुसार विशेषगरी धेरै पर्यटकहरू बर्दियामा बाघ हेर्न नै आउने गरेको र बाघ देखेरै फर्किने गरेकोले बाघ हेर्न कहिलेकाहीँ केही समय लाग्ने हुँदा होटल व्यवसायीलाई लाभ हुने गरेको बताउनुभयो । 

पर्यटन प्रवर्द्धन मञ्च बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले बर्दिया निकुञ्जमा आने पर्यटक सङ्ख्या बढ्नु र बाँके निकुञ्जमा पर्यटकका लागि विभिन्न व्यवस्था गरिनुले बाँके बर्दियाको आर्थिक विकासमा ठुलो टेवा पुग्ने बताउनुभयो । उहाँले भारतका ठुला ठुला सहरहरूसँग विभिन्न यातायात मार्फत बाँकेको सिधा सम्पर्क हुन थालेकोले भारतीय पर्यटक तान्ने राम्रो अवसर रहेको हुँदा सो अभियानमा सबै लाग्नु पर्ने बताउनुभयो । 

पश्चिम नेपालको बाँके र बर्दिया जिल्ला पर्यटनका हिसाबले महत्त्वपूर्ण जिल्ला मानिन्छन् । बाँकेलाई पर्यटक आगमनको मुख्य ट्रान्जिट बनाएर बर्दिया लगायत कर्णालीको रारा, प्युठानको स्वर्गद्वारीसम्म पर्यटक पठाउन सकिए यहाँको होटल व्यवसाय र यातायात व्यवसाय फस्टाउने निश्चित छ ।